काठमाडौं- युरोपेली युनियन (ईयू) अन्तर्गतको युरोपेली आयोग (ईसा)ले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध एक दशक पुग्दैछ। ईयूले सन् २०१३ को डिसेम्बर ६ देखि नेपाली वायुसेवा कम्पनीका वायुयानहरूलाई युरोपको आकाशमा उडान गर्न नपाउने गरी उडान सुरक्षा चासो लिष्टमा राखेको थियो।
तत्कालीन समयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले समेत नेपाललाई सुरक्षा चासो (कालो सूची) मा राखेको थियो।आईकाओले २०१२ को जुलाईमा अडिट गरेको थियो। आईकाओले नेपाली वायुसेवा कम्पनीहरूको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षाको विषयमा गर्नुपर्न काम नगरेको भन्दै नेपाललाई सुरक्षा चासो लिष्टमा राखेको थियो।
सोही क्रममा ईयूले पनि आईकाओले उठाएको प्रश्नलाई नै आधार मानेर नेपाली वायुसेवा कम्पनीका वायुयानहरूलाई युरोपको आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको थियो।
सन् २०२० देखि १२ सम्म नेपालमा हवाई दुर्घटनाको दर बढी नै थियो। साथै आईकाओको अडिटमा पनि नेपाल सुरक्षाको विषयमा आउने स्कोर अति नै न्यून थियो।
तत्कालीन समयमा नेपालले एभरेजमा ४० मात्रै स्कोर पाएको थियो। तर अहिले यो स्कोर बढेर ७० भन्दा माथि पुगिसकेको छ। अहिले विश्वव्यापी औषतभन्दा माथि स्कोर पुगिसकेको छ। आईकाओले सन् २०१३ मा नै लगाएको प्रतिबन्ध पाँच वर्षपछि २०१७ मा नै हटाएको थियो। तर ईयूको भने प्रतिबन्ध अहिलेसम्म पनि निरन्तर नै छ।
ईयूले केही दिन अघिमात्रै नेपालको सुरक्षा प्रणाली लगायतको विषयमा सुपरिवेक्षण गरेर फर्किएको छ। ईयूले नेपाल नागरिक उड्डयन प्राधिकरण तथा निजी वायुसेवा कम्पनीहरूको सुरक्षा तथा संरचनागत अवस्थाको विषयमा सुपरिवेक्षण गरेको हो।
एक दश लामो नेपाली वायुसेवा कम्पनीको वायुयानमाथि लागेको प्रतिबन्ध हट्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी विश्वस्त छन्। ईयूले प्रारम्भिक रिपोर्ट अक्टोबर २० मा सार्वजनिक गर्ने छ।
'नेपाली वायुसेवा कम्पनीका वायुयानलाई युरोपका आकाशमा लगाइएको उडान प्रतिबन्ध नहट्नुपर्ने कुनै कारण छैन। हामी अहिले सुरक्षाको विषयमा बजबुत छौँ भन्ने प्रमाण आईकाओको अटिडले समेत प्रमाणित गरिसकेको छ,' महानिर्देशक अधिकारीले भने, 'अब ईयूको कालो सूचीबाट हट्नु पर्छ र हट्छ पनि। केही प्राविधिक कारणले तत्काल नै हटेन भने पनि अब लामो समय कुर्नु पर्दैन।'
अधिकारीले नोभेम्बर भित्र आवश्यक कागजपत्र समिट गर्न सकेको अवस्ठामा नाेभेम्बरबाट ईयूकाे कालो सूची हटने र त्यसमा नसकेकाे अवस्थामा मे बाट हटने बताए।
'गर्नु पर्ने काम हवाई सुरक्षाकाे विषयमा थियो तर अन्यन्त्र लाग्दा १० वर्ष देखि समस्याभोग्नुपरेको हो,' उनले भने।
'आईकाओको अटिडपछि ईयूले प्रतिबन्ध हटाउनेमा हामीहरू पनि विश्वस्त नै थियौँ। तर तारा एयरको जहाज दुर्घटनाका कारण प्रतिबन्ध लम्बाउने कारण ईयूले पाएको छ,' एक सञ्चालकले भने, 'ईयूले सुरक्षा र दुर्घटनाको विषयलाई त बाहना मात्रै बनाएको हो। मुख्य विषय त चिनियाँ जहाज खरिद नै हो।'
नेपाल वायुसेवा निगमले चिनियाँ जहाज खरिद गर्ने निर्णयपछि नै ईयूले कालोसूचीमा राखेको थियो। निगमले २०७० मंसिरमा चिनियाँ जहाज खरिदको सम्झौता गरेसँगै ईयूले कालोसूचीमा राख्नुको पछाडि व्यापार जोडिएको थियो। अहिले निगमले चिनियाँ जहाजबाट उडान बन्द गरेको कारण ईयूको कालोसूची हट्न सक्ने आधार तय भएको ती सञ्चालकले बताए।
ती सञ्चालकका अनुसार निमगले चिनियाँ जहाज नेपालबाट विस्थापन गरेको भए धेरै पहिले नै ईयूको कालोसूचीबाट हटिसक्ने थियो।