शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एक दिनको वृद्धिपछि फेरि उही गति, ओरालो लाग्यो सेयर बजार

सोमबार, असोज २४ २०७९
एक दिनको वृद्धिपछि फेरि उही गति, ओरालो लाग्यो सेयर बजार

काठमाडौं- दसैँअघिको केही दिन र बिदापछि आइतबारको पहिलो कारोबारमा वृद्धि देखिएको सेयर बजार पुन: ओरालो गतिमा देखिएको छ। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन। 

सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको छ। ९७ करोड १७ लाख रुपैयाँको कारोबार हुँदा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ। 

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। जहाँ ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको मात्र कारोबार भएको थियो।  

अहिले २२ महिनायताकै न्यून बिन्दुमा रहेको बजार यसअघिको बुलमा सूचक १८५३ सम्मको उच्चतम बिन्दुमा रहन पुग्यो भने १८११ को न्यूनतम बिन्दुसम्म आएर फर्किने प्रयासमा देखिएको थियो। अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न सकेको छैन। 

दसैँतिहारपछि अर्थतन्त्र चलायमान हुने र बैंकमा पुनः निक्षेप बढ्ने अनुमान लगानीकर्ताको छ। त्यसैगरी प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 

विश्लेषकहरूका अनुसार अहिलेको अवस्थाले बजारमा स्थायी सुधारको आधार देखिएको छैन। यसअघि पनि केही समयको उतारचढावबीच तलतिर लागिरहेको बजारमा बीचमा केही दिन वृद्धि देखिने गरेको थियो। सुधारको स्थायी आधार भेट्न नसकेको बजारमा चलखेलसमेत हुँदै आएको छ। 


प्रकाशित : सोमबार, असोज २४ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend