बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चुनावी मैदानमा दर्जन बढी व्यवसायी, को कहाँबाट उठे?

आइतबार, असोज २३ २०७९
चुनावी मैदानमा दर्जन बढी व्यवसायी, को कहाँबाट उठे?

काठमाडौं- आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा विभिन्न क्षेत्रमा आबद्ध उद्योगी तथा निर्माण व्यवसायीले पनि टिकट पाएका छन्। व्यवसायमा रहेकाहरूलाई सबैभन्दा धेरै उम्मेद्‍वार नेपाली कांग्रेसले बनाएको छ। कांग्रेसले प्रत्यक्षतर्फ नै एक दर्जन व्यवसायीलाई प्रतिनिधिसभातर्फको उम्मेद्‍वार बनाएर चुनावी मैदानमा पठाएको छ। 

उम्मेद्‍वारको सूचीमा अर्बपति बिनोद चौधरीदेखि म्यानपावर व्यवसायी, पर्यटन व्यवसायी, निर्माण व्यवसायी, स्वास्थ्य व्यवसायीसमेत छन्।

यता प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट समानुपातिक सूचीमा परेका छन्। त्यस्तै व्यवसायी अनिल रुगंटा कांग्रेसका तर्फबाट समानुपातिक सूचीमा परेका छन्। 

कुन व्यवसायी कहाँबाट उम्मेद्‍वार? 

मोहन आचार्य

रसुवामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट निर्माण व्यवसायी मोहन आचार्य उम्मेद्‍वार बनेका छन्। २०७४ को चुनावमा पनि सांसद बनेका आचार्य पुनः चुनावी मैदानमा उत्रिएका छन्। 

राजेन्द्र बजगाईं 

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्‍वार बनेका छन्। कांग्रेसका तर्फबाट उनले उम्मेद्‍वारी दिएका हुन्। यसअघि उनी प्रदेश ‘ख’ बाट पराजित भएका थिए। यसपटक गठबन्धनको तर्फबाट उम्मेद्‍वार बनेका छन्। 

श्यामकुमार घिमिरे 

सिन्धुली १ बाट उम्मेद्‍वार बनेका श्यामकुमार घिमिरे समाज डेन्टल अस्पतालका संस्थापक हुन्। उनी पनि कांग्रेसबाटै सिन्धुलीमा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएका हुन्। 

कान्छाराम तामाङ

निर्माण व्यवसायी कान्छाराम तामाङ रामेछापबाट उम्मेद्‍वार बनेका छन्। तामाङ कांग्रेस रामेछापका सभापतिसमेत हुन्। उनी यसअघि पनि उम्मेद्‍वार बनेको भए पनि पराजित भएका थिए। 

बिनोद चौधरी

उद्योगी बिनोद चौधरीले नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्‍वारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेद्‍वारी दर्ता गराएका चौधरी यसअघि समानुपातिक सांसद थिए। चौधरी पहिलो पटक प्रत्यक्षबाट चुनाव लडेर तेस्रो पटक सांसद बन्ने दौडमा रहेका छन्। 

किसान श्रेष्ठ

यसअघि तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेललाई चुनाव हराएर चर्चामा आएका व्यवसायी किसान श्रेष्ठले यसपटक भने बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्‍वारी दर्ता गराएका छन्। एकीकृत समाजवादीका तर्फबाट उम्मेद्‍वारी दर्ता गराएका श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका थिए। 

उमेश श्रेष्ठ

शिक्षा क्षेत्रका व्यवसायी उमेश श्रेष्ठ पनि कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्‍वार बनेका छन्। श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत हुन्। 

डा. सुनिल शर्मा

मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेद्‍वार बनेका छन्। कांग्रेसका तर्फबाट उम्मेद्‍वार बनेका डा. शर्मा यसअघिको निर्वाचनमा पनि पराजित भएका थिए।

दीपक खड्का

रेष्टुँरा तथा पार्टी प्यालेसका लगानीकर्ता दीपक खड्का पनि कांग्रेसको तर्फबाट संखुवासभामा उम्मेद्‍वार बनेका छन्। खड्का यसअघिको निर्वाचनमा पनि उम्मेद्‍वार थिए।

बालकृष्ण शिवाकोटी

व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेद्‍वारी दर्ता गराएका छन्। नेकपा (एमाले) का तर्फबाट उम्मेद्‍वारी दर्ता गराएका शिवाकोटी प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन्।

एलपी साँवा

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यवसायी एलपी साँवा लिम्बुले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्‍वारी दर्ता गराएका छन्। नेकपा (एमाले) का तर्फबाट उम्मेद्‍वार बनेका साँवा यसअघि सांसद थिए।

विक्रम पाण्डे

निर्माण व्यवसायी विक्रम पाण्डेले पनि राप्रपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेद्‍वारी दर्ता गराएका छन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित पाण्डे पुनः उम्मेद्‍वार बनेका हुन्। 

सुमनविक्रम पाण्डे

पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्‍वार बनेका पाण्डे प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन्।

अजयकुमार चौरासिया 

पर्सा २ बाट मनोनयन दर्ता गराएका व्यवसायी अजयकुमार चौरासिया पनि चुनावी मैदानमा होमिएका छन्। कांग्रेसको तर्फबाट चौरासिया पर्सा २ मा उम्मेद्‍वार बनेका हुन्। 

तेजुलाल चौधरी 

सप्तरी ४ बाट उम्मेद्‍वार बनेका व्यवसायी तेजुलाल चौधरी पनि चुनावी मैदानमा छन्। उनी नेपाली कांग्रेसको तर्फबाट सप्तरी ४ मा उम्मेद्‍वार बनेका हुन्। 

टेकप्रसाद गुरुङ 

विगतमा श्रम रोजगार राज्यमन्त्रीसमेत बनेका टेकप्रसाद गुरुङ मनाङबाट उम्मेद्‍वार बनेका छन्। गुरुङ पनि वैदेशिक रोजगार व्यवसायी हुन्। 


प्रकाशित : आइतबार, असोज २३ २०७९१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend