काठमाडौं (असोज, १५) - साझा यातायातले थप ३७ बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरेको छ। यसअघि ३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो। यो सँगै साझाले अब ४० विजुली बस मार्फत सेवा दिने छ।
चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो। अहिले ९ मिटर लामो बस किनिएको छ।
यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ।
सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो। सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो।
तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो। सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए।