शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विश्व बैंकले भन्यो - वार्षिक १० खर्ब निर्यात क्षमता भएको नेपालले अवसर गुमायो

शुक्रबार, असोज १४ २०७९
विश्व बैंकले भन्यो - वार्षिक १० खर्ब निर्यात क्षमता भएको नेपालले अवसर गुमायो

काठमाडौं- विश्व बैंकले नेपालले आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको जनाएको छ। विश्व बैंकले गरेको अध्ययनअनुसार नेपालले १० खर्ब रुपैयाँ वार्षिक निर्यात गर्न सक्ने अवस्थामा रहेपनि तर अवसर खेर फालिरहेको अध्ययानमा उल्लेख गरेको छ। विश्व बैंकले करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेकोसमेत देखाएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति गरेका थिए। उनका अनुसार नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको समेत बताए। सम्भावना रहेपनि व्यापार घाटा निरन्तर बढिरहनु दु:खद रहेको बताए। 

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए।

एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए। तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकैमाथि लान सफलता मिल्यो।

नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिँदैन। नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाईंदैन। न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून वाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको कुरा उनले अफ्नाे प्रस्तुतिमा बताए। 

‘न्यून वाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनाहरूलाई समेत थप सीमित बनाई दियो, किनभने लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पादकत्व दुवै बढ्यो। नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन,’ गोन्जालोले भने।

नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुझाव थियो।


प्रकाशित : शुक्रबार, असोज १४ २०७९०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend