बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निजी वाणिज्य बैंक मर्ज भइरहँदा सरकारी बैंक दबाबमा; कृषि, वाणिज्य र नेपाल बैंक मर्ज भए बन्नेछ देशकै विशाल बैंक

शनिबार, असोज १५ २०७९
निजी वाणिज्य बैंक मर्ज भइरहँदा सरकारी बैंक दबाबमा; कृषि, वाणिज्य र नेपाल बैंक मर्ज भए बन्नेछ देशकै विशाल बैंक

निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा गएर चुक्ता पुँजी र व्यापार विस्तारको हिसाबले आक्रमक बन्ने देखिएपछि सरकारी बैंकबीचको मर्जर पनि चर्चामा रहेको छ। अनौपचारिक कुराकानीमा तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरको विषयमा छलफलसमेत गरेका छन्। 

काठमाडौं- नेपाल सरकारको बहुमत स्वामित्वमा रहेका कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड तथा पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बैंक पनि मर्जरको दबाबमा पर्ने देखिएको छ। 

निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा गएर चुक्ता पुँजी र व्यापार विस्तारको हिसाबले आक्रमक बन्ने देखिएपछि सरकारी बैंकबीचको मर्जर पनि चर्चामा रहेको छ। अनौपचारिक कुराकानीमा तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरको विषयमा छलफलसमेत गरेका छन्। 

यता राष्ट्र बैंकले सरकारी बैंकहरूलाई मर्जरको ताकेता नै नगरेपनि मर्जरमा जानेगरी छलफल केन्द्रित गर्न सुझाव दिँदै आएको छ। यता निजी क्षेत्रका बैंकहरूलाई राष्ट्र बैंकले पुस मसान्तसम्ममा मर्जरमा जान निर्देशन नै दिइरहेको छ। पुस मसान्तमै मर्जरमा जाने सरकारी बैंकहरूका लागि सम्भव नदेखिएपनि तीन बैंक मर्जमा लगेर मुलुककै विशाल वाणिज्य बैंक बनाउने गरी सरकारी निकायदेखि बैंकको सञ्चालक समितिमा समेत छलफल तीव्र पारिएको छ। 

अर्थ मन्त्रालयले समेत विगत लामो समयदेखि तीनवटै बैंकलाई एउटा बनाएर विशाल बैंक बनाउने गरी बैंकका सञ्चालक समिति, अध्यक्ष र सीईओहरूलाई सुझाव दिँदै आएको छ। अर्थमन्त्री जनार्दन शर्माले पनि तीन बैंक मर्जरको आवश्यक तयारी गर्न आग्रह गरिसकेका छन्। 

अन्य वाणिज्य बैंकलाई ताकेता दिने तर सरकारी मर्जरमा नजाने नीतिले आलोचना हुने भन्दै राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरू तीन सरकारी बैंक मर्जरमा लैजान सैद्धान्तिक रुपमा सहमत भइसकेका छन्। तीनवटा सरकारी बैंक मर्जरमा जाँदा अहिलेको चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक हुने छ। 

तीन बैंक मर्जर हुँदा अहिलेसम्मको वित्तीय विवरणअनुसार ४२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी हुने छ। चुक्ता पुँजीको हिसाबले सबैभन्दा सानो कृषि विकास बैंक हो भने ठूलोमा राष्ट्रिय वाणिज्य बैंक हो। नेपाल बैंक र कृषि विकास बैंकले जनतालाई सेयर दिए पनि राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म पनि सर्वसाधारणलाई सेयर दिएको छैन। 

तीन बैंकमध्ये कुनको सूचक कस्तो? 

राष्ट्रिय वाणिज्य 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको छ। जुन नाफा नबिलको भन्दा १७ करोड रुपैयाँले बढी हो। अघिल्लो वर्ष भन्दा ३७.३८ प्रतिशतले बढी हो। 

अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ छ। 

बैंकको प्रतिसेयर आम्दानी २.३७ रुपैयाँ घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ।समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ९४ करोड छ भने जगेडामा १८ अर्ब ५४ करोड छ।

त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। बैंकले गत असार मसान्तसम्ममा २ खर्ब ५९ करोड निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ।  बैंकको खराब कर्जा पनि ३.०७ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ।

नेपाल बैंक

नेपाल बैंक  ले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफा बढाएको भए पनि उसका लाभांश क्षमता भने अझै घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। जुन १०.२९ प्रतिशतले धेरै हो।

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ।

खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ। हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २२.६७ रुपैयाँ प्रतिसेयर नेटवर्थ २४८.४२ रुपैयाँ छ।

कृषि विकास बैंक

कृषि विकास बैंकको गत वर्ष २०७८/०७९ को नाफा अघिल्लो वर्ष २०७७/०७८ को तुलनामा घटेको छ। बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ।  भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११.२१ रुपैयाँ घटेर १७.९३ रुपैयाँ सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रहेको छ।  


प्रकाशित : शनिबार, असोज १५ २०७९१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend