शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दसैँ बिदाअघि देखियो लगातार वृद्धि, के हो सेयर बजारको संकेत?

बिहीबार , असोज १३ २०७९
दसैँ बिदाअघि देखियो लगातार वृद्धि, के हो सेयर बजारको संकेत?

काठमाडौं- लगातार उतारचढाव हुँदै ओरालो लागिरहेको सेयर बजारमा दसैँ बिदाअघिको तीन कारोबारमा लगातार वृद्धि देखिएको छ। चाडबाडको समय भएकाले बजारमा खास उत्साह नदेखिए पनि सकारात्मक संकेत गरेको छ।  

दसैँ बिदाअघिको अन्तिम कारोबारमा बिहीबार १६.२९ अंकले बढेर सेयर बजार १८५६.५३ बिन्दुमा पुगेको छ। ६३ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा १३४ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ४७ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

गएको साता ७१.३९ र यो साता आइतबार २३.८३ अंकले घटेको बजारमा मंगलबार र बुधबार पनि सुधार देखिएको थियो। मंगलबार १५.९२ अंकले बढेको बजार बुधबार पनि ६.४१ अंकले बढेर १८३७.४६ बिन्‍दुमा पुगेको थियो। 

विश्लेषकहरूका अनुसार अहिलेको अवस्थाले बजारमा स्थायी सुधारको आधार भने देखिएको छैन। गएको साता बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। त्यसअघि पनि केही समयको उतारचढावबीच तलतिर लागिरहेको बजारमा बीचमा केही दिन वृद्धि देखिने गरेको थियो। 

तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट तल लागिरहेको बजारमा अहिलेको सुधारको संकेत यकिन गर्न नसकिने विश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार चाडबाडको अवस्थामा पनि अपेक्षाकृत वृद्धिको अवस्था भने देखिएको छैन। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। 

विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेलले तलमाथि हुने गरिरहेको छ। २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजारले सुधारको गति पाउन सकिरहेको छैन। उही बिन्दु वरपर घुमिरहेको छ। बजारले समाधानको स्थायी आधार नभेट्दासम्म उचाइतर्फ जान मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , असोज १३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend