काठमाडौं- विगत एक वर्षदेखि तरलता अभाव तथा विदेशी मुद्रा सञ्चितिको समस्याको सिधा प्रभाव उद्योग व्यवसायमा परेको छ। चाडबाड तथा चुनावका कारण बजार चलायमान हुनुपर्नेमा उद्योग तथा व्यवसायका सबैजसो क्षेत्र अत्यासलाग्दो मन्दीमा गएका छन्।
सिमेन्ट, छड, इँटाजस्ता निर्माण सामग्री मात्रै होइन कहिल्यै मन्दीमा नजाने खाद्यान्नको उत्पादन तथा माग पनि उच्च रुपमा घटेको छ। विभिन्न क्षेत्रका व्यवसायीहरूसँगको कुराकानीअनुसार अधिकांश क्षेत्रको व्यापार ओरालो लागेको छ।
गत साउन र भदौमा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूसँग गरिएको कुराकानीअनुसार सबैभन्दा बढी इँटाको बजार माग घटेको छ। इँटाको माग ६० प्रतिशतले घटेको छ। त्यतिमात्र होइन, निर्माणसँग सम्बन्धित सिमेन्ट तथा डन्डीको माग पनि अत्यधिक घटेको देखिएको छ।
बजारमा खाद्यान्नको माग सामान्यतया उच्च रूपमा घट्दैन, किनभने खाना मानिसको दैनिक आवश्यकता हो। तर, यस वर्ष वनस्पति तेल तथा रिफाइनरी उद्योग उद्योगबाट उत्पादित बस्तुको माग तथा उत्पादनमा ६० प्रतिशतको गिरावट देखिएको छ। त्यस्तै चामल, दाल, पिठोको उत्पादन तथा माग पनि ४० प्रतिशत सम्मले घटेको देखिएको छ।
‘तरलता अभावका कारणले बजारमा आर्थिक गतिविधि बढ्न पाएन। सुरुमा खासै प्रभाव नदेखिएपनि अहिले गम्भीर हुन थालेको छ। गतिविधि बढ्नका लागि लगानी चाहिन्छ जसका लागि ऋण पाइने अवस्था छैन’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने।
कोरोना महामारीपछिको प्रभाव न्यून हुनेवित्तिकै उठ्न खोजेको अर्थतन्त्रमा क्षेत्रगत शिथिलता गएको वर्षदेखि नै सुरु भएको थियो। सुरुदेखि नै प्रभावित हुने क्षेत्र हो निर्माण तथा घरजग्गा।
भुक्तानी सन्तुलनमा दबाब पर्नेवित्तिकै नेपाल राष्ट्र बैंकले गत वर्षदेखि कर्जा नीतिमा कडाइ गर्दै आएको छ। यसको पहिलो मारमा घरजग्गा कारोबार पर्यो। घर जग्गाको कारोबार मात्र होइन नयाँ निर्माण पनि प्रभावित भयो। यही कारणले समग्र रियलस्टेट क्षेत्र सुरुदेखि नै मन्दी अर्थात् वृद्धिदर ऋणात्मक भएको थियो।
त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको वृद्धि तथा सरकारले समयमा खर्च गर्न नसक्दा निर्माण उद्योग नै नराम्रोसँग प्रभावित भयो। ठेकेदारहरुले निर्माण होलिडे नै घोषणा गरे।
यसको प्रभाव उद्योगमा पनि पर्यो। निर्माणसँग सम्बन्धित अधिकांश उद्योगको माग गत वर्षकोभन्दा धेरै घटेको छ।
व्यवसायीहरूका अनुसार गत वर्षको दोस्रो त्रैमासदेखि नै सिमेन्टको माग घट्न सुरु गरेको थियो। जुन यो वर्ष आएर उच्च बिन्दुमा पुगेको छ। त्यस्तै निर्माणसँग सम्बन्धित इटाको मात्र होइन, केबलको २५ प्रतिशतले घटेको छ।
नयाँ घरको निर्माण, विस्तार सबै रोकिँदा निर्माणसँग सम्बन्धित सबै उद्योगमा नकारात्मक प्रभाव देखिएको छ। निर्माणसँगै सम्बन्धित इन्जिनियरिङ उद्योगको माग ३८ प्रतिशतले घटेको छ।
गत वर्षदेखि नै ऋण विस्तार प्रभावित भयो। यही कारणले नयाँ गतिविधि लभग ठप्पै भए र यसबाट निजी विकास निर्माण प्रभावित भयो। योसँगै सरकारी तथा सार्वजनिक विकास निर्माणले पनि गति लिएन।
निजीसँगै सार्वजनिक निर्माण पनि लामो समयदेखि रोकिदाको असर समग्र निर्माण उद्योगमा देखिएको उद्योगी पशुपति मुरारकाको भनाइ छ।
‘सार्वजनिक विकास निर्माणको काम पनि लगभग पछिल्लो ८/९ महिनादेखि ठप्प छ। विकास निर्माण हुने समयमै भएन। यसको प्रभाव निर्माण उद्योगमा परिहाल्यो। त्यही कारणले गर्दा समग्र उद्योगको उत्पादकत्व टिठलाग्दो अवस्थामा पुगेको छ’ उनले भने।
बैंकहरू ऋण दिनै नसक्ने र दिए पनि महंगो ब्याजमा मात्र दिने भएपछि व्यक्तिगत तथा संस्थागत निर्माणको काम पनि प्रभावित भएको उनको भनाइ छ। गत वर्ष नै निर्माण उद्योग ३५ प्रतिशतले घटेको र यो ऋणात्मक यात्रा अझै जारी रहने उनको भनले बताए।
निर्माण क्षेत्रको संकुचन हुँदै जाँदा अर्थतन्त्रका अन्य क्षेत्रमा चक्रिय प्रभाव पार्दै जाने विज्ञहरूको भनाइ छ। निर्माण र कृषि क्षेत्रको संकुचन अर्थतन्त्रका लागि सबैभन्दा हानिकारक हुने अर्थशास्त्रीहरुको भनाइ छ।
निर्माण तथा रियलस्टेट, अटोमोबाइल र अन्य उपभोग्य वस्तुसँग सम्बन्धित उद्योगमा प्राय उतारचढाव भइरहन्छ। तर कृषि क्षेत्रको बजारमा संकुचन भने खासै देखिँदैन।
कृषिजन्य वस्तुको माग नै घटेको पाइएको छ। समग्रमा कृषि क्षेत्रको माग गत वर्षको तुलनामा ३० प्रतिशतले घटेको छ। कृषिमा विशेषगरी चामल उद्योगको तथ्यांक हो यो। चामलको औद्योगक खपत घटेको प्रभाव बजारमा देखिएको उद्योगीहरूको भनाइ छ।
आधारभूत आवश्यकतामा पर्ने चामलको घरायासी खपत नघटेपनि पहिलेजस्तो भण्डारण न्यून हुँदै जाँदा पनि मागमा कमी देखिएको हुनस्ने उनीहरूको भनाइ छ।
खाद्यन्नकै माग घट्दै गएको देखिएको छ। उद्योगमा खपत हुने खाद्यन्नको माग घटेको हो। चामलसँगै मैदा तथा पिठो उद्योगको उत्पादन यो वर्ष ४० प्रतिशतले घटेको छ। एफएमसीजी उद्योगको उत्पादन पनि १५ प्रतिशतले घटेको छ।
खाद्यन्नसँगै पशुपालनसँग सम्बन्धित उद्योगमा पनि उत्पादन घटेको छ। यो क्षेत्रको उत्पादन ३० प्रतिशतले घटेको छ। विशेषगरी कुखुरा पालन उद्योगको मागमा गिरावट देखिएको छ। मान्छेहरूले माछा मासुमा खर्च घटाउँदै जाँदाको प्रभाव उद्योगमा देखिएको हुनसक्ने उनीहरूको भनाइ छ।
सरकारले आयातमा प्रतिबन्ध लगाएका तर बजारलाई चलायमान गराउने विशेष वस्तुको व्यापारमा आधाभन्दा बढीको गिरावट देखिएको छ। यसले सरकारी राजस्वसँगै बजारको इकोसिस्टमलाई प्रभावित बनाएको व्यवसायीहरूले उल्लेख गरेका छन्।
धेरै आयातले गर्दा भुक्तानी सन्तुलनमा दबाब परेको भन्दै नेपाल राष्ट्र बैंकले गत वर्षको पुसबाट नै १८ वर्गका विभिन्न वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशत र दुई वर्गका वस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नियम बनाएको थियो। त्यसलाई पछि विस्तार गर्दै राष्ट्रबैंकले ६७ वर्गमा करिब १४ सय वस्तुको एलसी खोल्दा शतप्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने बनाइयो।
त्यतिमात्र होइन, सरकारले गएको बैशाखदेखि सवारीसाधान आयातलगायत केही विलाशिताका वस्तु आयातमा रोक लगायो। १४ भदौबाट तीनमध्ये केही वस्तु खुला गरे पनि केहीको प्रतिबन्ध कायमै छ। यसले पनि उत्पादन र माग घटाउन महत्वपुर्ण भुमिका खेलेको छ।
व्यक्तिगत प्रायोजनमा उपयोग हुने डिजेल पेट्रोलबाट चल्ने कारको आयातमा अहिलेसम्म पनि प्रतिबन्ध लगाएको सरकारले अन्य सवारी तथा विद्युतीयको आयात भने निर्वाध छाडेको छ। यही प्रतिबन्धका कारणले गर्दा अटोमोबाइलको माग घटेको छ।
गत वर्षको तुलनामा यो वर्षको सुरुवातमै ५२ प्रतिशतले अटोमोबाइल्सको व्यापार घटेको छ।
आंशिक आयात प्रतिबन्धमा परेको अर्को वस्तु मोबाइलको व्यापार पनि यो अवधिमा ३० प्रतिशतले घटेको छ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा सुधार भएको भनिए पनि होटल तथा रेस्टुरेन्ट क्षेत्रको व्यापारमा पनि गिरावट देखिएको छ। विशेषगरी रेस्टुरेन्ट क्षेत्रको व्यापारमा गिरावट देखिएको छ। विदेशी पर्यटकभन्दा पनि नेपालीकै कारणले गर्दा यो क्षेत्रमा खासै उत्साह देखिएको छैन। मान्छेहरुले रेस्टुरेन्टमा खर्च गर्न कम गरेको हुनसक्ने व्यवसायीको भनाइ छ।
बजारमा उच्च मूल्यवृद्धि तथा न्यून आर्थिक गतिविधिको समस्या देखिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाइ छ। संसारभर देखिएको यही अवस्थाको निरन्तरता नेपालमा पनि देखिएको उनको भनाइ छ।
गत वर्षदेखि नै सुरु भएको तरलता समस्याकै श्रृखलाबद्ध प्रभाव अहिलेसम्म देखिएको र अहिले बजारमा करिब मन्दीकै जस्तो देखिएको उनको भनाइ छ।
संसारका धेरै अर्थत्नत्रमा मन्दीको जोखिम देखिएको छ। नेपालमा त्यसको मनोवैज्ञानिक डर मात्र होइन, साँच्चिकैको प्रभाव देखिन थालेको उनको भनाइ छ।
‘उद्योगी व्यवसायीदेखि उपभोक्तासम्म यसको प्रभाव देखिएको छ। यसले गर्दा हाम्रो अर्थतन्त्रमा दबाब देखिन थालेको छ। कुनै पनि क्षेत्रमा खासै उत्साह छैन’ उनले भने।
अर्थतन्त्रका हरेक क्षेत्रको माग संकुचित भएपनि केही यस्ता क्षेत्र छन् जसको व्यापारमा वृद्धि देखिएको छ।
अधिकांश क्षेत्रको व्यापारमा मन्दी आएपनि वैदेशिक शिक्षाको क्षेत्रमा भने उत्साह छाएको देखिएको छ। वैदेशिक शिक्षातर्फको व्यापार भने शतप्रतिशतले बढेको छ।
कोरोना महामारीकालपछि वैदेशिक अध्ययनको ढोका खुलेपछि धेरै नेपाली विदेश पढ्न जान थालेका थिए। अहिलेसम्म यो ट्रेन्डले निरन्तरता पाएको छ। महामारीकालमा संसारका धेरै देशमा अध्ययनको ढोका बन्द भएको र एकैपटक खुल्दा धेरै जान खोज्दा यसमा सकारात्मक प्रभाव देखिएको हो।
वित्तीय क्षेत्रको व्यापारमा पनि ५ प्रतिशतको वृद्धि देखिएको छ। निर्माणसँग सम्बन्धित हरेक उद्योग नकारात्मक अवस्थामा चल्दा पनि पेन्ट्स उद्योगमा भने २० प्रतिशतको वृद्धि देखिएको छ। कोरोना महामारीकालमै निर्माणको क्रममा रहेका संरचनाको फिनिसिङको काम अहिले चल्दा यसमा सकारात्मक सूचक देखिएको हुनसक्ने व्यवसायीहरूले बताएका छन्।
त्यस्तै सूचना प्रविधि क्षेत्रमा भने २५ प्रतिशतको वृद्धि देखिएको छ। वित्तदेखि व्यापारसम्मका सूचना प्रविधि क्षेत्रमा व्यापार सकारात्मक लयमा देखिएको देखाएको छ।