काठमाडौं- यही साता अमेरिकी डलर बलियो अवस्थामा पुग्यो। डलर सूचकमा अमेरिकी डलर सन् २००२ पछिकै बलियो अवस्थामा पुग्यो। यो सूचकमा बलियो हुनुको एकमात्र कारण डलरको तुलनामा पाउन्ड स्ट्रलिङ र युरो कमजोर हुनु हो।
युरो र स्ट्रलिङ कमजोर भएपछि सूचकमा अमेरिकी डलर दुई दसककै बलियो अवस्थामा पुग्यो। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फ्रितिको लक्ष्य भेटाउन भन्दै लगातार नीतिगत ब्याजदरमा बढोत्तरी गरेपछि डलरको उकालो यात्रा अझै तीव्र बनेको छ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि डललर लगानीको पनि आकर्षक स्रोत बनेको छ। यही कारणले गर्दा डलरको उकालो यात्रा जारी छ। डलरको उकालो यात्रा तय हुँदा संसारका मुख्य मुद्रा कमजोर बनेका छन्। युरो र स्ट्रलिङसँगै जापनिज ऐन, कोरियन वन लगायतका मुख्य मुद्रा कमजोर बनेका छन्।
भारतीय मुद्रा पनि दिन प्रतिदिन कमजोर हुँदै आएको छ। भारू कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा पनि सिधै पर्छ। विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ।
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको बिक्री दर १३०.९० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च दर हो। पछिल्ला दिनमा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ।
नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। यसको अवसर चालुखाता घाटासम्म पुग्ने गरेको छ।
निर्यात नगन्य भएकाले डलरको भाउ बढ्दा रेमिट्यान्स बाहेक अरु कुनै पनि लाभ हुँदैन। डलरको भाउ बढ्दा यसको असर आयातमा देखिएको छ। आयातमा प्रति युनिट मूल्यमा अत्याधिक वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो महिनामै १९ प्रतिशतले मूल्य बढेको छ। मूल्यवृद्धिको असर प्रत्येक भान्सासम्म पुग्छ।
त्यस्तै यसको अर्को असर भनेको विदेश पढ्न जाने नेपाली, घुम्न तथा उपचारका लागि जानेहरुका लागि खर्च अझै बढ्छ। सरकारले ऋणको सवाँ तथा ब्याज भुक्तानी गर्दा पनि भार थपिन्छ। यद्यपि ऋणको बोझ धेरै नभएकाले यसको असर धेरै छैन।
नेपालका लागि यसको लाभ भनेको एउटा मात्र भनेको रेमिट्यान्स हो। रेमिट्यान्स पाउने परिवारले बढी नेपाली रुपैयाँ पाउँछन्। डलरको भाउमा भएको वृद्धि अनुसार उनीहरुले यहाँ नेपाली रुपैयाँमा धेरै भुक्तानी पाउँछन्। यो बाहेक लाभभन्दा हानी धेरै रहेको छ।
बलियो डलरको दबाब संसारभरकाकेन्द्रीय बैंकका लागि टाउको दु:खाइको विषय बनेको छ। डलरको भाउ आकाशिँदा घरेलु मुद्राको अवमूल्यण तीव्र बनिरहेको छ। यस्तोमा अवमूल्यण रोक्न तथा मूल्यवृद्धि नियन्त्रणका लागि अरु देशमा पनि ब्याजदरमा वृद्धि भइरहेको छ।
एसिया प्रसान्त क्षेत्रका भारत, मलेसिया तथा इन्डोनेसियाका केन्द्रीय बैंकमाथि पनि ठूलो दबाब सिर्जना भएको छ।
भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दु:खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ। विदेसी लगानीकर्ताका लागि ब्याजदर बढाउनका लागि वाणिज्य बैंकलाई अनुमति दिने, गैरआवासीय नागरिकका लागि ब्याजदर बढाउने जस्ता कदम अघि बढाएको छ।
एसियन क्षेत्रका केन्द्रीय बैंकहरू दुई समस्याको साँघुरो बाटोमा हिड्न बाध्य छन्। उनीहरु मूल्यवृद्धि र पुँजी पलायणको सामूहिक समस्याबाट गुज्रिएका छन्।