शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गएको साता ७१ अंकले घटेको सेयर बजारमा यो साता पनि छैन सुखद संकेत

आइतबार, असोज ९ २०७९
गएको साता ७१ अंकले घटेको सेयर बजारमा यो साता पनि छैन सुखद संकेत

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य भएको छ। गएको साता समग्रमा ७१.३९ अंकको गिरावट देखिएको बजारमा यो साता पनि सुधार हुने संकेत देखिएको छैन। 

आइतबार २३.८३ अंकले घटेर बजार १८१५.१३ बिन्दुमा झरेको छ। १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको बजारमा १२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ। 

गएको साता बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। गएको साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेको थियो। बुधबार ११.२२ अंकले बढेको बजार बिहीबार पुन: ९.८३ अंकले घटेको थियो।

तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट तल लागिरहेको बजारमा अब चाडबाडको अवस्थामा वृद्धिको अपेक्षा देखिँदैन। सेयर बजारमा सुधारको अपेक्षा पूरा हुन सकिरहेको छैन।

लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिले त्यसभन्दा तल झरेको बजारको उतारचढावपूर्ण अवस्थाले सुधारको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 


प्रकाशित : आइतबार, असोज ९ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend