नेपालको समग्र पुँजी बजारको ‘भिजन’ बनाएर नेपाल धितोपत्र बोर्ड अगाडि बढेको छ। नेपालको पुँजी बजार अब यही गतिमा बस्ने कि अगाडि बढ्ने भन्ने मूख्य कुरा हो। यसै सन्दर्भमा सानो एउटा अंग हो नयाँ स्टक एक्सचेन्ज कम्पनी।
अहिले सञ्चालन भइरहेको नेप्सेले विश्वमा आइरहेको नयाँ सोच र विकासको बेगलाई थेग्न सक्छ कि सक्दैन भन्ने कुुरा त पछिल्ला वर्षहरूको अवस्था हेर्दा प्रष्ट हुन्छ। हामीले चाहेको ‘फेयर भ्यालु’ मा कम्पनीहरू सूचीकृत हुन्। ‘फेयर’ कारोबार होस् र पुँजी बजारको यथार्थ धरातल देखियोस् भन्ने नै चाहाना हो। नेपालमा उक्त विषय हुन सकेको छ कि छैन भन्ने कुरा मुख्य हो। अहिलेको अवस्थामा प्रष्ट भन्न सकिन्छ हुन सकेको छैन।
अहिले पनि ‘रियल सेक्टर’का कम्पनीहरू पुँजी बजारमा आउन सकेका छैनन्। भएका केही कम्पनीलाई पनि एउटै बास्केटमा राखिएको छ। ३० अर्बका बैंक र ५० लाखको लघुवित्त पनि उही बास्केटमा राखिएको छ। सेक्टर र प्रोडक्टको विस्तारमा त वर्षौंदेखि एकै ठाउँमा छौँ। विकास हुन सकेको छैन। यति ठूलो जनताको सहभागिता भएको क्षेत्रमा पनि नियामक निकाय कमजोर र बजार पनि कमजोर। बजारलाई चलायमान बनाउने ब्रोकर कम्पनी पनि कमजोर। तीनवटै निकाय कमजोर भएपछि आउने रिजल्ट पहिल्यै थाहा हुन्छ। विगतदेखि हेर्ने हो भने त्यो देखिएको पनि छ। पुँजी बजारको जग पहिला बलियो बनाउन आवश्यक छ। अहिले बोर्डले सोही जग बलियो बनाउने सन्दर्भमा काम अगाडि बढाएको हो।
नयाँ ‘रिफर्म’ अन्तर्गत ब्रोकर प्रणाली सुधारमा पहिलो ध्यान केन्द्रित गरिएको छ। संसारमा कुनै पनि ब्रोकर कम्पनीले बजारलाई तलमाथि गर्न सक्दैनन् र पाउँदैनन्। यसको लागि ‘फेयर’ कारोबार हुनका लागि ब्रोकर कम्पनी ‘फेयर’ हुन आवश्यक छ। सधै सेटिङमा चलाएर लाखौँ जनाता सहभागी भएको कारोबारमा हेलचर्क्यांइ गर्न पाइँदैन। सोही कारण नयाँ ब्रोकर कम्पनी कोटा नतोकिकन ओपन आउन पाउने र ओपन जान पाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ।
सिन्डिकेटमा सहभागी नभइ आएका कम्पनीहरूले न्यूनतम मूल्यमा सेवाग्रहीलाई उच्चस्तरको सेवा दिन सक्नेछन्। अब खुला अर्थतन्त्रअनुसार नै ब्रोकर कम्पनीहरू चल्नुपर्छ। जनताको मन जितेर सेवा दिन सक्नेहरू टिक्छन् नसक्नेहरू बन्द हुन्छन् कि मर्जरमा जान्छन्। संसारभरको नियम यहि हो। अन्त लागू हुने यहाँ लागू नहुने भन्ने नै हुँदैन। मापदण्ड पुगेका र काम गर्न सक्छु भन्नेहरूले लाइसेन्स नपाएर रोकिने अवस्था अब रहँदैन। प्रतिस्पर्धामा व्यवसाय चल्नु पर्छ सिन्डिकेटमा होइन।
अब कम्तीमा पुँजी बजारमा सिन्डिकेटमा चल्दैन। हामीले गर्ने रिफर्ममा यो मान्य हुँदैन। कुनै पनि कम्पनीको सेयर किन्दा र बिक्री गर्दा प्रत्येक कारोबारमा ब्रोकर जोडिएकै हुन्छ। अनि सोही प्रणाली स्वच्छ छैन भने कसरी पुँजीबजार स्वच्छ हुन्छ? मूल पहिला स्वच्छ भएपछि मात्रै पानी सफा आउने हो। नत्र पानी पनि फोहोर नै आउँछ। मूल फोहोर गरेर पानी सफा खोजिरहेका छौँ।
नयाँ स्टक कम्पनी किन?
बजार भन्नेवित्तिकै प्रतिस्पर्धा चाहिन्छ। एउटा मात्रै मोनोपोली भएको बजारमा नयाँ कम्पनीमार्फत प्रतिस्पर्धा नै गर्ने हो। पहिले नै प्रतिस्पर्धा भएको भए कत्रो कम्पनी चाहिने भन्ने बहसको विषय हुन सक्थ्यो। तर अहिले नै मोनोपोली बजारमा सेवाग्राहीले जाने ठाउँ नै पाएका छैनन्। भनेपछि कम्तीमा छान्ने अवसर पहिले दिनुपर्छ। प्रतिस्पर्धा नभएरै यो बजार अहिलेको अवस्थामा अड्किएर बसेको हो। नभए धेरै माथि गइसकेको हुने थियो।
१२ सय वटा ठूला करदाता कम्पनी छन्। अहिले उक्त कम्पनीहरू नेप्सेमा कतिवटा आएका छन्? अहिलेसम्म उक्त कम्पनीहरू सूचीकृत गराउन कसले रोक्यो ? जब बढीभन्दा बढी स्थापित कम्पनीहरू रियल रेक्टरमा आउँछन् त्यसपछि सरकारको राजश्वसमेत बढ्ने छ। किनभने पब्लिक कम्पनी भएपछि सबै हिसाब किताब पब्लिक हुनैपर्छ। बिलिङ सिष्टम हुने छ। जनताले कमजोर कम्पनी मात्रै नभएर ठूला र बलिया कम्पनीको सेयर समेत पाउने छन्। यसबाट जनताले समेत लाभ पाउने छन्। ठूला घरानाले कमाएको सम्पत्ति सामान्य जनताको हातमा समेत पुग्नेछ।
लगानीकर्ताको हित संरक्षण र धितोपत्र बजारको प्रर्वद्धनको लागि हो। नयाँ कम्पनीमा विरोधको स्वर सानो मात्रै हो। धेरैको समर्थन रहेको र लाखौँ लगानीकर्ताहरूको हितमा नयाँ कम्पनी आउन लागेको छ। यो कुनै विशेष कर्पोरेट क्षेत्र वा व्यक्तिमा केन्द्रित हुनुहुँदैन भनेर नै स्टक एक्सचेन्ज खोलेपछि ३० प्रतिशत आईपीओ सर्वसाधारणका लागि जारी गर्नुपर्ने व्यवस्था गरेका हौँ। पहिलाको नियमावलीमा यो व्यवस्था थिएन। नियमावलीमा सुशासनको कुरा बढी छ। लाइसेन्स आवेदन माग्दा ३५ दिनको सूचना दिए पुग्यो। तर, सम्पूर्ण लगानीकर्ताको सहभागिता होस् भनेर ४५ दिन बनाएका छौँ।
नेप्सेलाई १५ वर्षदेखि सार्वजनिक कम्पनी बनाउने प्रयास असफल भयो। यसमा हाम्रो प्रणाली नै दोषी छ। यसलाई निजीकरण गर्ने पहिलेदेखिकै कुरा हो। अहिले मार्केटको फैलावट छ। आश देखाएर जुन कुरा सम्भव नै भइरहेको छैन। अहिले पुँजी बजारमा ५२ लाख लगानीकर्ता जोडिइसके। १४ लाख बढीले टीएमएस प्रयोग गर्छन्। औसतमा दैनिक ५-६ अर्बको कारोबार भयो। अहिले पनि दैनिक एक डेढ अर्बको कारोबार भइरहेको छ। यति धेरै जनताको सपना गाँसिएको छ। अब नेप्से सुध्रिन्छ भनेर बस्न मिल्दैन।
हाम्रो आफ्नै विगतमा गएर हेर्दा पहिला सरकारी वाणिज्य बैंकमात्र हुँदा कस्तो थियो सेवा सुविधा? अहिले कस्तो छ ? त्यही सरकारी संस्था अहिले कति नाफायोग्य भएका छन्। नेपाल टेलिकम एक्लै हुँदा कस्तो थियो सेवा? अहिले अरु आएपछि कस्तो छ? तपाईं हामी आफैले अनुभव गरेको विषय हो। यो सबै प्रतिस्पर्धाले सम्भव भएको हो।
हाम्रो ध्यान भनेको बजारको मेरुदण्ड बनाउने हो। समयमा पैसा भुक्तानी नगर्ने, सर्भर डाउन भइराख्ने, लगानीकर्तासँग शुल्कसमेत महँगो असुल गर्ने काम नेप्सेबाट भइरहेको छ। नयाँ कम्पनी आएपछि सम्भवत: वर्षौंदेखि सुध्रिन नसकेको नेप्से पनि अवश्य सुध्रिनेछ। लगानीकर्ताले जाने ठाउँ पाउने छन्।
कस्तो बन्ने छ कम्पनी?
नयाँ स्टक एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँको हुनेछ। पुँजीको हिसाबमा नयाँ स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्जभन्दा ठूलो र सक्षम संस्था बनाउने प्रयास नियमावलीमा गरिएको छ। एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेर एक्सचेन्जको स्वामित्वमा जनताको सहभागिता सुनिश्चित गरिएको छ।
निजी क्षेत्रका कम्पनीलाई अधिकतम १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ। कुनै पनि कम्पनी वा संगठित संस्थाका लगानीकर्ता वा सञ्चालक र उनीहरूको एकाघर परिवारका सदस्यले समेत गरी बढीमा १५ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
एक्सचेन्जमा नियुक्त हुने सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृतको योग्यतासमेत नियमावलीमा तोकिएको छ। नेप्सेको सञ्चालक समितिभन्दा नयाँ एक्सचेन्जमा हुने सञ्चालक समितिको संरचना बढी विज्ञ र प्राज्ञिकहरू सहभागी हुनेछन्।
दुई तिहाई सञ्चालक अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्यशास्त्रमा न्यूनतम स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरह अध्ययन गरेका हुनेछन्। उनीहरूले पुँजीबजार, वित्तीय, वाणिज्य, वित्त, लेखा, कानून वा व्यवस्थापनलगायतका क्षेत्रमा पाँच वर्ष अनुभव हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ।
(नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग गरिएको कुराकानीमा आधारित)