शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बाढी प्रभावित क्षेत्रमा राहतभन्दा दीर्घकालीन समाधानको खाँचो

images
बिजनेस न्युज
images
बाढी प्रभावित क्षेत्रमा राहतभन्दा दीर्घकालीन समाधानको खाँचो

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ। बचेको अन्नपात पनि उम्रन थाएको छ। सुकाउनको लागि कपडा छैन। आगन ओभानो छैन।

images
images

भजनी- बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर। बाढीले भत्काएका घरका भित्ता। हिलाम्मे घरका आँगन। बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन  कटाउनु पर्ने बाढी पीडितको बाध्यता।  

images
images
images

कैलालीको भजनी नगरपालिका-८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ। घरको आँगनमा बस्न सक्ने अवस्था छैन। कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ। घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन। 

images

घरका कोठा सुख्खा बनाउनको लागि चौपायालाई खुवानको लागि भनेर राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ। 'तीन रात खुला आकाशमा बिताएर घर फर्किएका छौंँ। घरको अवस्था तपाईले देखिहाल्नु भयो' सन्तरामले भने, 'खुला आकाशको असुरक्षित बसाइँ निकै अप्ठ्यारो भयो। घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुपर्‍यो।'

images

सन्तराम जस्तै सयौँ घरको अवस्था उस्तै छ। घरका आगन कसैका सुख्खा छैनन्। घर वरिपरि हिलाम्मे छ। आवतजावतमा निकै समस्या छ। घरभित्र पनि सुरक्षीत हुने वातावरण छैन। घर सुख्खा बनाउनको लागि स्थानीयवासीले विभिन्न प्रयास गर्दै आएका छन्। 'किरा फटयाङ्ग्राको जोखिम छ। काठका घरमा बस्दा कतैबाट किरा फटयाङ्ग्राको आक्रमण हुन्छ कि भन्ने त्रासले रात दिन सताइरहन्छ' भजनी नगरपालिका-८ की सम्झना विकले भनिन्, 'आफूभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ। खानलाई अन्न छैन। पिउनलाई पानी। बालबालिका छैन भने मान्दैनन्।'

images
images

भजनी नगरपालिका-८ की पवित्रा चौधरी भदौ ३१ गते राति एकाएक घर छोडेर नजिकैको कृष्णध्वज चन्द माविमा पुगेका थिए। शरिरमा लगाएको लुगाबाहेक सबै छोडेर ज्यान जोगाउन विद्यालय पुगेकी पवित्रा तीन दिनपछि घर फर्किइन्। घरको कुरुप अवस्था देख्दा उनलाई निकै चिन्ता भएको छ। घरमा रहेको अन्नपात, लत्ताकपडा सबै भिजेर खत्तम भएपछि भिजेको अन्नपात  सुकाउन उहाँलाई निकै समस्या भएको छ। 'अन्नपात सबै भिजेर खत्तम भएको छ। सुकाउनको लागि न त त्रिपाल छ न त सुख्खा ठाउँ' पवित्राले भनिन्', भिजेको धान, गहुँ उम्रन थालिसकेको छ। लत्ताकपडा सबै हिलाम्मे भएका छन्। आगनमा आवतजावत गर्न सकिने अवस्था छैन । घरभित्र सहज रुपमा बस्न सक्ने स्थिति छैन।'

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ। बचेको अन्नपात पनि उम्रन थाएको छ। सुकाउनको लागि कपडा छैन। आगन ओभानो छैन। भजनी नगरपालिका-८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान गुनाउनुपर्‍यो। असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो। श्रीमानको बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताएकी छिन्। 'जुन कुराको त्रास वर्षौदेखि मनमा थियो, आज हाम्रा लागि त्यही भयो' रामकृष्णीले भनिन्, 'भोलि अरुलाई पनि हुनसक्छ। वर्षातको समय भजनीका लागि निकै कष्टकर हुन्छ। यो सबैलाई थाहा छ। तर समाधान कतैबाट हुँदैन।'

सयौँ बिघा धानबाली नष्ट 

भजनीमा बाढी, डुबान र कटानका कारण सयौं बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ। चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुवानका कारण सयौं बिघा नष्ट भएको छ। विशेषगरी कान्द्रा, काँढा र पथरैया नदीका कारण बढी क्षति भएको स्थानीयवासी गणेश बोहराले बताए। धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ।

नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं. ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ। 'कतिपय ठाउँमा डुबानका कारण धान कुहिएको छ भने कतिपय ठाउँमा बाढीसँगै आएको लेदोले धान पुरेको छ' कृषि शाखा प्रमुख जोशीले भने, 'यकिन तथ्याङ्क आएको छैन। तथ्याङ्क सङ्कलनको काम भएपछि मात्रै कति क्षति भएको छ भन्न सकिन्छ। मोटामोटी हेर्दा ५० प्रतिशत धानबालीमा क्षति भएको छ।'

विद्यालयमा क्षति 

विद्यालयहरुमा बाढी पसेपछि असोज १ गतेदेखि भजनीका अधिकांश विद्यालय बन्द भए। केही विद्यालयमा स्थानीयले आश्रय लिएर बसेका कारण पनि विद्यालय सञ्चालनमा आउन सकेका छैनन्। बाढीका कारण विद्यालयको पहिलो तलामा माटो पसेका कारण त्यसको सरसफाइको काम भइरहेको छ भने कतिपय विद्यालय बाढीको छुटकारा पाउन सकेका छैनन्। विद्यालयमा बाढीका कारण ठूलो क्षति भएको नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले बताए। उनले कतिपय विद्यालयका हाजिर रजिस्टरदेखि कम्प्युटरहरुमा समेत क्षति भएको जानकारी दिए।

'प्रधानाध्यापकहरुको बैठक बोलाउने तयारी गरेका छौँ। त्यसपछि कुन विद्यालयका कति क्षति भएको छ, त्यसको वास्तविक तथ्याङ्क आउने छ' शिक्षा अधिकृत शाहले भने, 'केही विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्। ती विद्यालयलाई सञ्चालनमा ल्याउन विकल्प खोज्ने काम पनि भैरहेको छ।' बाढीका कारण जनजीवन अस्तव्यस्त हुँदा त्यसको असर बालबालिकामा समेत परेको बताउँदै शिक्षा अधिकृत शाहले सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमि आएको बताएका छन्।

स्वास्थ्यमा विशेष सावधानी 

नगरपालिकाले बाढीका कारण विस्थापित भएका नागरिकहरूमा सङ्क्रामक रोगको प्रकोप फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाएको छ। विस्थापित भएका नागरिकलाई स्वस्थ्य परीक्षणलाई निरन्तरता दिएको  छ। स्वस्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको स्वस्थ्य शाखाका प्रमुख कैलाश चौधरी बताउँछन्। 

'बाढीका कारण हावापानीमा पूरा परिवर्तन भएको हुन्छ। अहिले डेङ्गुको सङ्क्रमण फैलिदो अवस्थामा छ। त्यसको विशेष सावधानीमा नगरपालिका  छ' स्वस्थ्य शाखा प्रमुख चौधरीले भने, 'डगु परीक्षणका लागि किटको अभाव छ। खरिदको प्रक्रिया अगाडि बढाएका छौँ।' उनले पिउने पानीका कारण रोग फैलिन सक्ने जोखिम रहेको बताए। शुद्ध  खानेपानीमा नागरिकको पहुँच नभएका कारण हाते पम्पको पानी पिउँदा स्वस्थ्य समस्या देखिन सक्ने बताए।

मृतकका परिवारलाई नगद सहयोग 

सरकारले बाढीका कारण ज्यान गुमाएका भजनीका दुई परिवारलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले नगरपालिकाको वडा नं ८ का ६० वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको परिवारलाई जनही दुई लाखका दरले नगद सहयोग गरिएको हो। 

मन्त्री रावलले प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही एक लाख २० हजार सहयोग गर्ने निर्णय भएको बताए। उनले पूर्णरुपमा घरबारविहीन परिवारलाई ५० हजार सहयोगको निर्णयसमेत भएको बताए।

दीर्घकालीन समाधान खोज्दै नगरपालिका 

बर्सेनि स्थानीय वासिन्दा बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ। नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताए।

'भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन् र अर्को कारण भारतक कैलाश बाँध पनि हो' नगर प्रमुख चौधरीले भने, 'नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाँधका ढोका बन्द गरेपछि भजनी डुवानमा पर्ने गरेको छ। यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ।'

सुदुरपश्चिम प्रदेशका सांसद वीरमान चौधरीले राहत दिएर नागरिकलाई केही सान्त्वना दिनसके पनि दीर्घकालीन समाधानका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए। 'नगरपालिकाको करोडौं विकास खर्च हुन्छ। त्यसको परिणाम देखिँदैन। बर्सेनि आउने बाढीले त्यो विकासलाई विनाश गर्दै आएको छ' सांसद चौधरीले भने, सबैभन्दा अस्तव्यस्त सडक भएका छन्। आवतजावतमा कठिनाइ भएको छ। त्यसको मर्मतसम्भारमै करोडौं खर्च हुने देखिन्छ।'

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकारको समन्वय हुन आवश्यक रहेको बताए। बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आफू मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताएका छन्। मन्त्री रावलले भने, 'सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिँदैन। त्यसका लागि तीनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ।' रासस

images

प्रकाशित : बिहीबार , असोज ६ २०७९१०:४५
प्रतिक्रिया दिनुहोस