मेलम्ची- इन्द्रावती-४ का रविन्द्र बिक्रम थापाको दैनिकी हिजोआज फार्ममै बित्ने गर्दछ। उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ। आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन्। पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका उनले केही सहयोगी पनि राखेका छन्।
सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडे। १३ वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे। उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन्। 'म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे। कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन', उनले भने।
वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए। गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे। सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहीँबाट बाख्रापालनका बारेमा सिके।
गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए। त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो। सुरुमा एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुवात गरे। उनको फाममा अहिले ३६ वटा बाख्रा छन्। बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५ ब्रोइलर कुखुरा, तीन वटा भैँसी र एउटा गाई पनि पालेका छन्। व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०/७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ।
करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन्। हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले २४ लाख लगानी गरिसकेका छन्। 'आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख लगानी भएको छ', उनले भने। कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्छन्।
जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गरेका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ। देशमा ‘अवसर’ नदेखेका युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन्। आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन्।
उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन्। धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउँछन्। 'उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु', उनले थपे। स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनको भनाइ छ।
स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनी बताउँछन्। बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन्। दश पटक ब्रोइलर कुखुरा बेच्दा छ लाख फाइदा भएको उनको भनाइ छ। उनले १८ महिनाको अवधिमा १३ लाख आम्दानी गरिसकेका छन्। उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन्।
बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनी बताउँछन्। उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ। दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनी बताउँछन्। 'दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ', उनले भने।
कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उनले लगाएका छन्। आफूलाई खान पुग्ने तरकारी आफै लगाएका छन्। उनको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन्। केही समयअघि उनले च्याउखेतीसमेत गरेका थिए। च्याउबाटसमेत ८० हजार आम्दानी भएको उनी बताउँछन्। 'भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो', उनले भने।
मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए। व्यवसायमा उनलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ। 'हामी श्रीमान् श्रीमती मिलेर काम गर्छाैं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ', उनले भने, 'म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन्।' उनीहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गरेका छन्। बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गरेका छन्। यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ।
सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए। स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए। खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताए। त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उनको भनाइ छ।
'कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन। सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ। सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ। सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उनको तर्क छ। रासस