शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगातार घटिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि, चाडबाडअघि अझ बढ्ला?

कारोबार रकम भने ७२ करोडमा खुम्चियो

बुधबार, असोज ५ २०७९
लगातार घटिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि, चाडबाडअघि अझ बढ्ला?

काठमाडौं- तीन महिनायताकै न्यून बिन्दुमा पुगेको सेयर बजारमा बुधबारको कारोबार केही थामिएको छ। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न भने अझै पनि समय लाग्ने र अहिलेको वृद्धि स्थायी नभएको विश्लेषकहरूको भनाइ छ। 

चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ। गएको साता समग्रमा २७.४२ अंकको गिरावट देखिएको बजारमा यो साता पनि लगातार ओरालो यात्रा देखिएको थियो। बुधबार भने बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो। 

बुधबार ११.२२ अंकले बढेर बजार तीन महिनाअघिको न्यून बिन्दुमा टेको लागेको छ। १८४८.८२ बिन्दुमा पुगेको बजारमा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। जसमा १४२ कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको थियो। 

गएको साता पनि मंगलबार र बुधबार बजारमा वृद्धि देखिएको थियो। तर लामो उतारचढावबीचको गिरावट र सामान्य वृद्धिको अवस्था सीमितको चलखेल मात्र रहेको देखिएको छ। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिले त्यसभन्दा तल झरेको बजारको उतारचढावपूर्ण अवस्थाले सुधारको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ।

चाडबाड नजिकिएसँगै बैंकिङ क्षेत्रमा देखिएको सुधारको प्रभाव पुँजी बजारमा देखिन थालेको विश्लेषण भइरहँदा पुन: बजारमा उही उतारचढाव भइरहेको हो। नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको झण्डै सात महिना भइसकेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। अहिले ब्याजदरको प्रभावले सेयर बजार अझै तल झर्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।  


प्रकाशित : बुधबार, असोज ५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend