शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा लगातार पहिरो, तीन महिनायताकै न्यून बिन्दुमा पुग्दा देखिएन थामिने छाँट

मंगलबार, असोज ४ २०७९
सेयर बजारमा लगातार पहिरो, तीन महिनायताकै न्यून बिन्दुमा पुग्दा देखिएन थामिने छाँट

काठमाडौं- चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजार लगातार ओरालोतर्फ देखिएको छ। गएको साता समग्रमा बजारमा २७.४२ अंकको गिरावट देखिएको बजारमा यो साताको दुई कारोबार पनि ओरालोतिरै देखिएको छ।

यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको छ। मंगलबार १ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ ७ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ।  

गएको साता आइतबार ११.४७ अंकले घटेको बजार सोमबार १३.५९ अंकले घटेको थियो। मंगलबार २१.३० अंकले र बुधबार ४७.४४ अंकले बढेको बजार बिहीबार पुन: ५७ अंकले घटेको थियो। गएको साता शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको थियो।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिले त्यसभन्दा तल झरेको बजारको उतारचढावपूर्ण अवस्थापछि देखिएको ओरालो यात्राले पुन: न्यून बिन्दुतर्फ लाग्ने देखिएको छ। 

चाडबाड नजिकिएसँगै बैंकिङ क्षेत्रमा देखिएको सुधारको प्रभाव पुँजी बजारमा देखिन थालेको विश्लेषण भइरहँदा पुन: ठूलो अंकको गिरावट आएको हो। नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको झण्डै सात महिना भइसकेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। अहिले ब्याजदरको प्रभावले सेयर बजार अझै तल झर्ने संकेत देखिएको छ।  

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको हो। गएको साता मंगलबार र बुधबारको वृद्धिको संकेत पनि केही दिनको उतारचढाव र सीमितको चलखेल मात्र रहेको देखिएको छ। त्यसअनुरुप बजारले सुधारको स्थायी आधार भेट्न सकेको छैन। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 


प्रकाशित : मंगलबार, असोज ४ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend