काठमाडौं- कोरोना महामारीपछि संसारभर अधिकांश सामानको माग उल्लेख्य रुपमा वृद्धि भयो। करिब एक वर्ष ठप्प जस्तै हुन पुगेको विश्व बजार सहज हुँदै जाँदा उपभोग सामान्य वृद्धि हुँदा पनि अभाव हुन पुग्यो। यसको मुख्य कारण बन्द समयमा परेको उत्पादन प्रभाव अर्थात सप्लाई चेन समस्या हो।
कम्प्युटरदेखि मोबाइलसम्म र अटोमोबाइलदेखि अन्य विद्युतीय उपकरणसम्ममा अत्यावश्व पर्छ चिप (सेमिकन्डक्टर)। अलग अलग प्रकृतिका भए पनि विद्युतीय उपकरण तथा अटोमोबाइल विशेष गरि कारमा ठूलै संख्यमा चिप चाहिन्छ।
अवस्था सामान्य भएको दुई वर्ष हुन लाग्दासमेत सेमिकन्डक्टरको आपूर्ति सामान्य हुन सकेको छैन। चिप अभाव हुँदा सवारी उत्पादकहरुले मागअनुसार आपूर्ति दिन सकेका छैनन्। विगतमा चीन र ताइवानमा करिब निर्भर रहेको चिप उत्पादन अब भने विकेन्द्रित हुने अवस्थामा पुगेको छ।
भारत, अमेरिका, जापान तथा युरोपेली र केही एसियाली देशले समेत कोरोनापछिको अवस्थाले सृजना गरेको सेमिकन्डक्टरको निर्भरतालाई कम गर्न करोडौं लगानी गर्ने घोषणा गरिसकेका छन्। यसको प्रत्यक्ष प्रभाग चिनियाँ चिप उत्पादन देखिन थालेको छ।
गएको अगस्टमा चिनियाँ चिप उत्पादन मासिक रुपमा हालसम्मकै कम संख्यामा भएको हो। अमेरिका र भारतले स्वदेशमै चिप उत्पादन गर्न थालेपछि चिनियाँ चिपको मागमा गिरावट आएको हो।
२०२१ को अगस्टको तुलनामा यो वर्षको अगस्तमा चिनियाँ चिप उत्पादन २४.७ प्रतिशतले घटेर २४.७ अर्ब वटामा सीमित भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। मासिक रुपमा देखिएको यो गिरावट १९९७ यताकै धेरै हो।
गएको जुलाईमा पनि अघिल्लो वर्षको तुलनामा १६.६ प्रतिशतले घटेर २७.२ अर्ब वटामात्र उत्पादन भएको थियो। अगस्टको गिरावट लगातार दोस्रो महिना हो। विगत एक दशकको इतिहासमा यसरी गिरावट आएको थिएन।
त्यस्तै चीनमा उत्पादन हुने स्थानीय माइक्रोकम्प्युटरको उत्पादन पनि १८.६ प्रतिशतले घटेर ३१७.५ अर्ब वटामा सीमिति भएको छ। यो तथ्यांक पनि २०२२ अगस्टकै हो।
चीनमा चिप उत्पादन कम्पनीहरुको व्यवसाय छोड्ने निर्णयले पनि नयाँ रेकर्ड कायम गरेको छ। २०२२ को ८ महिनामा ३ हजार ४ सय ७० वटा चिप उत्पादक कम्पनीहरुले व्यवसाय छाड्ने निर्णय लिएका छन्। यो तथयांक बिजनेश डेटाबेस क्यूचाचाले उल्लेख गरेको हो।
चिनियाँ चिप उत्पादनमा गिरावट आउनुको मुख्य र एउटै कारण हो अमेरिका र भारतले आफ्नो देशमा स्थानीय रुपमा चिप उत्पादन बढाउनु। भारतको गुजरात राज्य सरकारले वेदान्त तथा फक्सकनसँगको सहकार्यमा सेमिकन्डक्टर उत्पादनका लागि १ं५४ लाख करोड भारु लगानी गर्ने घोाषणा गरिसकेको छ।
त्यस्तै भारतमा टाटा मोटर्सले समेत जापानी कम्पनीसँगको सहकार्यमा सेमिकन्डक्टर उत्पादनको काम अघि बढाइरहेको छ। भारतको सेमिकन्डक्टर बजार औषत मूल्यका हिसाबमा २०२६ सम्ममा ३ खर्ब अमेरिकी डलरको पुग्ने अनुमान गरिएको छ। भारत सरकारले ल्याएको मेक इन इन्डिया र प्रोडक्सन-लिंक्ड इनसेन्टिभ स्किमले भारतमा सेमिकन्डक्टर उत्पादन बढाउने इन्डिया इलेक्ट्रिोनिक्स सेमिकन्डक्टर एसोसिएसन एन्ड काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। भारत सरकारले भारमै उत्पादन गर्नेहरुका लागि प्रोत्साहन गर्न १० अर्ब अमेरिकी डलरको सहुलियत योजना सार्वजनिक गरेर कार्यान्वयन गरिरहेको छ।
त्यस्तै अमेरिकी राष्ट्रपति जो वाइडेनले सेमिकन्डक्टर उत्पादनमा सहुलियत दिन ५२ अर्ब डलर बराबर कानून नै पास गरिसकेका छन्। त्यस्तै इन्टेले पनि अमेरिकामा २९ अर्ब डलरको नयाँ सेमिकन्डक्टर उत्पादन प्लान्ट बनाउन सुरु गरिसकेको छ। त्यस्तै आगामी दुई दशकमा सामसङले अमेरिकामा ११ वटाभन्दा बढी सेमिकन्डक्टर प्लान्ट बनाउन २ खर्ब डलरको परियोजना घोाषणा गरेको छ।
सेमिकन्डक्टर सेप्लाइ पर्याप्त नहुँदा विश्वभर सबैभन्दा बढी प्रभाव विद्युतीय सवारीलाई परेको छ। भारत, नेपाललगायत संसारका धेरै मुलुकमा विद्युतीय सवारीको मागअनुसार आपूर्ति हुन सकेको छैन। चिनियाँ चिपको विश्वसनीयता भएको भन्दै भारतीय कम्पनीहरुले स्वदेशमै चिप उत्पादनलाई प्राथमिकता दिएका छन्।
नेपाली बाजरमा पनि चीनमा उत्पादित विद्युतीय कारको तुलनामा भारत वा अन्य देशमा उत्पादित विद्युतीय कारको माग धेरै रहेको छ। चीनमा पनि विश्वस्तरीय विद्युतीय कार उत्पादक छन् तर ती कम्पनीका कार नेपाल आएका छैनन् वा यहाँ बिक्री भएको छैन। भारत आफैंले चिप उत्पादन बढाएसँगै विद्युतीय कार उत्पादन समेत बढेको छ। त्यसैले टाटाले विद्युतीय कारको सप्लाई केही बढाएको छ भने आगामी दिनमा गुणात्मक रुपमा बढाउने बताएको छ।
महिन्द्राले पनि विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। त्यस्तै भारतमा मर्सिडिज, अउडीलगायत ब्रान्डले पनि विद्युतीय कर बनाइ रहेका छन् भने किया तथा हुन्डाईले पनि विद्युतीय उत्पादनलाई प्राथमिकता दिएको छ।
भारत, अमेरिकालगायत देशले चिप उत्पादनमा लिएको अग्रसरताले चिनियाँ निर्भरताबाट विश्व कार तथा विद्युतीय उपकरण बजारले छुटकारा पाउने निश्चितप्रायः छ।