शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगानीकर्ता सेयर बजारमा भन्दा बैंकको ब्याजदरमा लोभिँदा लगातार घट्दो ट्रेण्डमा बजार

१३२३ अंकले घटेको सेयर बजार अझै तल झर्ने विश्लेषण

सोमबार, असोज ३ २०७९
लगानीकर्ता सेयर बजारमा भन्दा बैंकको ब्याजदरमा लोभिँदा लगातार घट्दो ट्रेण्डमा बजार

काठमाडौं- निक्षेपमा वाणिज्य बैंकहरूले १५ प्रतिशतसम्म ब्याज दिने सुविधा ल्याएपछि सेयर लगानीकर्ता दोस्रो बजारबाट बाहिरिने संकेत देखिएको छ। जसका कारण सेयर बजारमा अझै लामो समय गिरावट आउने देखिएको छ। बजार एक वर्षअगाडिको उच्च अंकबाट १३२३ अंकले घटिसकेको छ। 

चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बैंकमा ब्याज धेरै आउने भएपछि पैसा सेयर बजारबाट बाहिरिएको छ। जसका कारण आइतबार नै सेयर बजारमा दोहोरो अंकको गिरावट देखियो। आइतबार ३३.९७ अंकले घटेर बजार १८७६.४१ बिन्दुमा झरेको छ। १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको बजारमा ८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १८० कम्पनीको मूल्यमा गिरावट आएको छ। 

नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको झण्डै सात महिना भइसकेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। अहिले ब्याजदरको प्रभावले सेयर बजार अझै तल झर्ने संकेत देखिएको छ। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। विश्लेषकहरूका अनुसार १८४८ देखि १९०० आसपास हुँदासम्म ठूला लगानीकर्ताले सेयर किन्न सुरु गरिसकेका थिए। बढेको बजारमा साना लगानीकर्ता हौसिँदा बजार २१३२ सम्म पुगेको थियो। त्यसपछि सेयर बजार बाहिरिएका थिए। अहिले सेयर बजार पुनः लगातार घटेर आइतबार १८७६.४१ बिन्दुमा झरेको छ। 

गत वर्षको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताहरूले निरन्तर चलखेल गरिरहेका छन्। घट्दो ट्रेण्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न नसकेको विश्लेषकहरू बताउँछन्।  

विगतमा २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्दा बजार उच्च् अंकमा पुगेको थियो। गतवर्षको बुलमा कोरोनाले गर्दा बैंकमा थुप्रिएको पैसा सस्तो ब्याजदरमा ऋण पाउँदा बजार बढेर ३१९९ रुपैयाँ पुगेको थियो। अहिले बजारमा भन्दा बैंकमा पैसा राख्दा फाइदा हुने देखिएपछि बजारबाट लगानीकर्ता धमाधम बाहिरिँदा ठूलो अंकको गिरावट आइसकेको छ। 


प्रकाशित : सोमबार, असोज ३ २०७९०२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend