शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निरन्तर ओरालोमा सेयर बजार, देखिएन सुधारको संकेत

आइतबार, असोज २ २०७९
निरन्तर ओरालोमा सेयर बजार, देखिएन सुधारको संकेत

काठमाडौं- चाडबाड नजिकिएसँगै सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा यो साताको सुरुवाती कारोबार नै ओरालोतर्फ देखिएको छ। गएको साता समग्रमा बजारमा २७.४२ अंकको गिरावट देखिएको बजारमा यो साता पनि उही क्रम निरन्तर हुने संकेत आएको छ।

आइतबार ३३.९७ अंकले घटेर बजार १८७६.४१ बिन्दुमा झरेको छ। १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको बजारमा ८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १८० कम्पनीको मूल्यमा गिरावट आएको छ। 

गएको साता आइतबार ११.४७ अंकले घटेको बजार सोमबार १३.५९ अंकले घटेको थियो। मंगलबार २१.३० अंकले र बुधबार ४७.४४ अंकले बढेको बजार बिहीबार पुन: ५७ अंकले घटेको थियो। अन्तिम कारोबारमा शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको थियो।

चाडबाड नजिकिएसँगै बैंकिङ क्षेत्रमा देखिएको सुधारको प्रभाव पुँजी बजारमा देखिन थालेको विश्लेषण भइरहँदा पुन: ठूलो अंकको गिरावट आएको हो। लामो समयदेखि ओरालो लागेको बजारमा मंगलबारको दोहोरो अंकको वृद्धिपछि बुधाबार झनै उछाल देखिएको थियो, तर सुधारको स्थायी आधार नभेटिँदा वृद्धि चलखेलमा मात्र सीमित भएको छ।  

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको हो। गएको साता मंगलबार र बुधबारको वृद्धिको संकेत पनि केही दिनको उतारचढाव र सीमितको चलखेल मात्र रहेको देखिएको छ। त्यसअनुरुप बजारले सुधारको स्थायी आधार भेट्न सकेको छैन। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 


प्रकाशित : आइतबार, असोज २ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend