शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आरक्ष सहकारीका फरार अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि महानगरले गुहार्‍यो प्रहरी, बचतकर्ताको ३ करोडभन्दा बढी हिनामिना भएको आशंका

आइतबार, असोज २ २०७९
आरक्ष सहकारीका फरार अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि महानगरले गुहार्‍यो प्रहरी, बचतकर्ताको ३ करोडभन्दा बढी हिनामिना भएको आशंका

काठमाडौं- बचतकर्ताको लाखौँ रकम लिएर फरार भएका आरक्ष बचत तथा ऋण सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने अझै सम्पर्कमा आएका छैनन्।

गत भदौ २ गतेदेखि फरार भएका दुवैजना महानगर र अन्य सञ्चालकको सम्पर्कमा नआएका हुन्। सम्पर्कमा नआएपछि काठमाडौं प्रहरी परिसर टेकुलाई काठमाडौं महानगरले छानबिन र खोजबिन गरिदिन पत्र काटेको छ। 

भदौ ९ गतेसम्म खुलेको सहकारीमा अध्यक्ष र सीईओ फरार भएको सूचना पाएपछि अन्य संचालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचना सहकारीको कार्यलयमा टाँस गरेका थिए। आरक्ष सहकारीले सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट कारोबार गर्दै आएको थियो।

अहिलेसम्म आरक्षका ५ सय बचतकर्ता सम्पर्कमा आएको महानगरको सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। ‘अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि थप छानबिन गर्न प्रहरीको सहायता मागेका छौँ,’ पोखरेलले भने। अहिलेसम्म १ करोड रुपैयाँ लिएर हिँडेको पाइएको छ। तीनवटै शाखाबाट करिब ३ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुमानसमेत महानगरले गरेको छ। 

आरक्ष सहकारीका सचिव असिम पन्थी र बद्री पन्थी साथै कोषाध्यक्ष श्रीराम न्यौपानेलाई प्रहरीले नियन्त्रण लिएर छानबिन गरिरहेको छ। ‘हामीले तीनवटै शाखामा बचत गरेकाहरूलाई उजुरी गर्न आह्वान गरिसकेका छौँ,’ पोखरेलले भने। फरार आचार्य र सीईओ न्यौपाने भने पतिपत्नी रहेकोसमेत अनुसन्धानमा खुल्न आएको थियो। 

अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि केही बचतकर्ताहरू महानगरमै आएर धर्ना दिएका थिए। केही साताअगाडि गौतम श्री सहकारीका सञ्चालक पनि ५ अर्बभन्दा बढी हिनामिना गरेर फरार भएका थिए। अहिले उक्त सहकारीमा ११ सय ४५ जना बचकर्ताले उजुरी दिएसँगै सबै सञ्चालकको सम्पत्ति रोक्का गरिएको छ। यस्तै ५ अर्ब ८४ करोडभन्दा बढी ठगी गरेको सिभिल सहकारीको विषय अहिले अदालतमा छ। 

यसअघि पनि दर्जनौँ सहकारी सञ्चालकहरू फरार भएर कानूनी कारबाहीको प्रक्रियामा रहेका छन्। खासगरी घरजग्गामा लगानी गरेका सहकारीहरू अहिले नियामकले घरजग्गामा कडाइ गरेसँगै समस्यामा पर्न थालेका छन्।


प्रकाशित : आइतबार, असोज २ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend