काठमाडौं- विश्वका खर्बपतिको सूचीमा तेस्रो नम्बरमा रहेका तथा भारतकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको 'अडानी समूह'ले नेपालको ऊर्जा क्षेत्रमा विशाल लगानीको प्रस्ताव गरेको छ। कर्णाली प्रदेशमा पर्ने फुकोट कर्णाली तथा तिला-१ र तिला-२ गरी तीनवटा जलविद्युत अयोजनामा तत्कालै लगानी गर्नसक्ने प्रस्ताव अडानी समूहले गरेको छ।
त्यतिमात्रै होइन, १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना निर्माणमा पनि अडानी ग्रुपले चासो देखाएको छ। अडानी समूहले नेपालमै पहिलोपटक ७६५ केभी क्षमताको पूर्वपश्चिम प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको छ।
भारतकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीका भतिज तथा अडानी समूहका प्रबन्ध निर्देशक प्रणव अडानीले ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरी यी आयोजनाहरूमा लगानी गर्न आफ्नो समूह इच्छुक रहेको जानकारी गराएको उच्च सरकारी स्रोतले बिजनेस न्युजलाई बतायो।
‘भारतको पूर्वाधार क्षेत्र खासगरी ऊर्जा र प्रसारण लाइनमा धेरै नै ठूलो लगानी गरेको अडानी समूह नेपालका परियोजनाहरूमा काम गर्न गम्भीर ढंगले आएको छ,’ उच्च सरकारी स्रोतको दाबी छ, 'उसलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गराउन सकियो भने त्यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
अहिलेसम्म नेपालमा अधिकतम् ४०० केभीका मात्रै प्रसारण लाइन बनेका छन्। अडानी समूहले भारतमा साढे १८ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ, जसमध्ये अधिकांश ७६५ केभी क्षमताको छ। नेपालमा पनि त्यही स्तरको प्रसारण लाइन निर्माण गर्ने अडानीको प्रस्ताव छ।
तर, कर्णाली चिसापानी आयोजना र पूर्वपश्चिम प्रसारण लाइनमा तत्कालै लगानी ल्याउने नभई अध्ययनको काम थाल्ने प्रस्ताव अडानीको छ। यी दुवै आयोजनाको अध्ययन दुई वर्षभित्र गरिसक्ने प्रस्ताव पनि अडानी समूहले गरेको छ। त्यसका साथै लम्की बेरली ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव पनि उसले गरेको छ। यो प्रसारण लाइन निर्माण हुँदा उसले उत्पादन गर्ने विद्युत मात्रै होइन, पश्चिम कर्णालीलगायतको बिजुली पनि भारत निर्यात गर्न सहज हुनेछ।
‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयमले त्यहाँका ठूला कम्पनीहरूलाई अनुरोध गरेका छन्, त्यस्तो अवस्थामा मोदी निकट भनेर चिनिएको अडानी समूह नेपालमा निकै ठूलो लगानीको सम्भावना हेरिरहेको छ,’ स्रोतले बतायो।
कस्ता हुन् अडानीले लगानी गर्न प्रस्ताव गरेका आयोजना?
पहिलो चरणमा अडानीले चारवटा जलविद्युत आयोजनामा लगानीको प्रस्ताव गरेको छ। उसले तिला १ र २, फुकोट कर्णाली र मुगु कर्णालीमा लगानीको प्रस्ताव गरेको बिजनेस न्युजले सम्पर्क गरेका दुईवटा सरकारी स्रोतले बताए।
तिला १ जलविद्युत आयोजनाको क्षमता ४ सय ४० मेगावाट छ भने तिला २ अयाोजना ४ सय २० मेगावाटको हो। तर, यी आयोजनालाई क्रमशः ३ सय मेगावाट र २९७ मेगावाटमा बनाउने गरी उत्पादन अनुमति दिइएको छ। यी दुई आयोजनाको अनुमतिपत्र नेपाली व्यवसायी हरिशचन्द्र शाहको नामको एससी पावर कम्पनीसँग छ। कालिकोटमा निर्माण हुने यी आयोजनाको ७० प्रतिशत स्वामित्व अमेरिकाको इन्भेष्टबैंक कर्पोरेशनले सन् २०१५ मा लिएको थियो। यी दुई आयोजना अडानीले कसरी बनाउने भन्ने विषयमा सरकारी स्रोतहरूले बताउन सकेनन्।
त्यस्तै, फुकोट कर्णाली र मुगु कर्णाली आयोजना अहिले विद्युत उत्पादन कम्पनीमातहत छ। कालीकोटमै बन्ने फुकोट कर्णाली आयोजनाको क्षमता ४ सय ९२ मेगाावाट छ। त्यस्तै, कर्णाली प्रदेशकै मुगु कालिकोट, हुम्ला तथा बाजुरा जिल्लामा बन्ने मुगु कर्णाली आयोजना जलाशययुक्त हो, जसको क्षमता १९०२ मेगावाट छ।
त्यस्तै, लम्की‐बरेली अन्तरदेशीय प्रसारण लाइन पश्चिम सेतीलगायत पश्चिमी क्षेत्रमा बनेका आयोजनाबाट उत्पादिन बिजुली भारत निर्यातका लागि महत्वपूर्ण छ। यो आयोजना पश्चिम नेपाललाई विद्युतीय हाई-वेमा जोड्न निर्माण हुन लागेको चैनपुर-वनलेख-न्यू अत्तरिया प्रसारणलाइनसँग जोडिनेछ। चैनपुर-वनलेख-न्यू अत्तरिया प्रसारणलाइन भारतसँग सहुलियत ऋण लिएर निर्माण गर्ने योजना छ।
१०५८ सय मेगावाटको संयुक्त पश्चिमसेती जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसीले लिएलगत्तै लगानी बोर्डले चैनपुर-वनलेख-न्यू अत्तरिया प्रसारणलाइन आयोजनाका लागि ऋण जुटाउने भएको हो। ४०० केभीको सो प्रसारण लाइन निर्माण गर्न १६ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ।
१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यी परियोजनाको अध्ययन सुरु भएको ५० वर्षभन्दा लामो समय भइसक्यो। यो आयोजनाको सम्भाव्यता अध्ययन निप्पोन कोइले सन् १९६६ मै गरेको थियो। सबैभन्दापछि अमेरिका तथा क्यानडाका विभिन्न कम्पनीहरूको कन्सोर्टियम हिमालयन पावर कन्सल्ट्यान्टले सन् १९९० मा गरेको अध्ययनअनुसार यो आयोजनाबाट १० हजार ८ सय मेगावाट विद्युत उत्पादन हुने, नेपालमा १ लाख ९१ हजार र भारतमा ३२ लाख हेक्टर जमिनमा सिँचाइ पुर्याउन सकिने देखाएको थियो।
त्यसका लागि चिसापानी क्षेत्रमा कर्णाली नदीमा २ सय ७० मिटर अग्लो बाँध बनाउनुपर्ने र त्यसबाट एक सय किलोमिटर लामो जलाशय बन्ने सो अध्ययनले देखाएको थियो। आयोजनाबाट उत्पादित बिजुली प्रसारणका लागि ७६५ केभीको पाँचवटा प्रसारण लाइन बनाउनुपर्ने पनि अध्ययनमा उल्लेख थियो।
सो आयोजनाका लागि आवश्यक जनशक्ति उत्पादनका लागि भनेर धेरै नेपाली इञ्जिनियरहरूलाई भारतको रुड्कीमा पनि पढ्न पठाइएको थियो, जसमध्ये केहीले अवकास पाइसकेका छन्। तर, सन् १९८९‐९० को अध्ययन पुरानो भएको भन्दै अडानीले नयाँ अध्ययनको प्रस्ताव गरेको छ।
विश्वकै तेस्रो धनी अडानीको सम्पत्ति १५२ अर्ब अमेरिकी डलर, कुनकुन क्षेत्रमा लगानी?
अहिले विश्वकै तेस्रो धनी गौतम अडानी गएको शुक्रबार दोस्रो धनी व्यक्तिमा उक्लिएका हुन्। विश्वचर्चित पत्रिका फोर्ब्सको रियल टाइम तथ्यांकका आधारमा उनी १ खर्ब ५४ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्तिसहित दोस्रो धनी व्यक्ति बनेका थिए।
अडानी समूहअन्तर्गतका कम्पनीहरूको सेयर मूल्य बढेपछि अडानी बर्नार्ड आर्नो, जेफ बेजोस, बिल गेट्सलगायतलाई पनि पछि पारेका थिए। तर, शनिवारसम्ममा उनलाई बर्नार्ड आर्नोले उछिनेका छन्। अडानी तेस्रो स्थानमा झरेका छन्। गौतमले यसअघि नै मुकेश अम्बानीलाई पछि पार्दै भारतको सबैभन्दा धनी व्यक्ति बनेका थिए।
अडानी समूहले ऊर्जा उत्पादन तथा प्रसारण, विमानस्थल निर्माण तथा सञ्चालन, बन्दरगाह निर्माण तथा सञ्चालन लगायतमा लगानी गर्दै आएको छ। भारतमा अडानी समूह खासगरी थर्मल पावर प्लान्टमार्फत ऊर्जा उत्पादनमा सक्रिय छ। उसले करिब १२ हजार ५ सय मेगावाट विद्युतु उत्पादन गर्छ। त्यस्तै, १८ हजार ५ सय किलोमिटर प्रसारणलाइन निर्माण गरिसकेको छ।
नवीकरणीय ऊर्जामा भने अडानीले सौर्य ऊर्जामा मात्रै लगानी गरेको छ। उसले ६४८ मेगावाट सौर्य ऊर्जा उत्पादन गरिरहेको छ। गौतम अडानीको अडानी ग्रुप र मुकेश अम्बानीको रिलायन्स भारतका सबैभन्दा ठूला कम्पनी हुन्। पछिल्लो समय थोरै नाफामा पनि ठूलो मात्रामा लगानी गरी भारतीय अर्थतन्त्रलाई योगदान गरेको भनेर उनीहरूको प्रसंसा हुने गरेको छ। द इकोनोमिस्टका अनुसार अम्बानी समूहका कुनै पनि कम्पनीको प्रतिफल १० प्रतिशतभन्दा माथि छैन भने अडानी समूहका दुई कम्पनीको प्रतिफल मात्रै १० प्रतिशतभन्दा माथि छ।
अडानीले सन् १८८० को दशकमा हिराको व्यापारबाट व्यवसाय सुरु गरेका थिए। मुन्द्रा बन्दरगाह विकास गर्न सरकारबाट अनुमति पाएपछि उसको व्यवसायको विस्तार तीव्र भएको हो। सन् १९९८ मा निर्माण सुरु भएको मुन्द्रा बन्दरगाह अहिले संसारको २६औ नम्बरमा छ भने सन् २०३० सम्ममा सबैभन्दा ठूलो बनाउने लक्ष्य अडानीको छ।
अडानीले भारतमा आयात हुनेमध्ये एक तिहाइ कोइला आयात गर्छन् भने भारतको २२ प्रतिशत बिजुली प्रसारण गर्छन्। भन्डारण गृहमा पनि अडानी समूहको ठूलो उपस्थिति छ, मुलुकको ३० प्रतिशत अन्न भन्डारण यसैले गर्छ। त्यस्तै, अडानी समूहले भारतभर सातवटा विमानस्थल सञ्चालन गर्छ, जसमार्फत भारतमा हवाइयात्रा गर्नेमध्ये एक चौथाइले यात्रा गर्छन्।