शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मर्जरमा जाने अन्तिम तयारीमा रहेका एनसीसी र कुमारीको सेयर मूल्य दुईवर्षयताकै सस्तो, स्वाप रेसियो सहमतिनजिक

शुक्रबार, भदौ ३१ २०७९
मर्जरमा जाने अन्तिम तयारीमा रहेका एनसीसी र कुमारीको सेयर मूल्य दुईवर्षयताकै सस्तो, स्वाप रेसियो सहमतिनजिक

काठमाडौं- नेपाल राष्ट्र बैंकको ताकेतापछि अन्तत: एनसीसी र कुमारी बैंकको मर्जरले मूर्तरुप पाउनेगरी छलफल भइरहेको छ। दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो।

राष्ट्र बैंकले दुवै बैंकका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उक्त निर्देशन दिएको थियो। बैंकको मर्जरपछि १००ः१०० को स्वाप रेसियो हुनेगरी अन्तिम चरणको छलफल भइरहेको एनसीसी बैंक स्रोतले जानकारी दिएको छ। 
 
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।  

मर्जपछि कुन लगानीकर्तालाई फाइदा? 

कुमारी बैंक 

कुमारी बैंक लिमिटेडको दोस्रो बजारमा बिहीबार १९५ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको छ। बैंकको एक वर्षअगाडि ३५८रुपैयाँ सम्म कारोबार भएको थियो। अहिले बैंकको सेयर मूल्यद दुई वर्षयताकै सस्तो मूल्यमा कारोबार भइरहेको छ। गतवर्ष बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९.२७ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.१ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

एनसीसी बैंक 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकको दास्रो बजारमा बिहीबार १९६ रुपैयाँमा कारोबार भएको छ। बिहीबार पनि प्रतिकित्ता ३.३० रुपैयाँले घटेको छ। बैंकको एक वर्षअगाडि ३३४ रुपैयाँसम्म पुगेको सेयर मूल्य दुईवर्षयताकै सस्तो मूल्य भएको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १८.१५ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.७९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend