शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दुई दिनको वृद्धिपछि सेयर बजार पुरानै बाटोमा, दुईबाहेक सबै कम्पनीको सेयर मूल्य घट्यो

बिहीबार , भदौ ३० २०७९
दुई दिनको वृद्धिपछि सेयर बजार पुरानै बाटोमा, दुईबाहेक सबै कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं- सेयर बजारमा यो साता दुई दिन देखिएको वृद्धिपछि पुन: बजार ओरालो गतिमा लागेको छ। मंगलबार २१.३० र बुधबार ४७.४४ अंकले बढेर सुधारको बाटो देखाएको सेयर बजारमा बिहीबार ठूलो अंकको गिरावट आएको हो।

बिहीबार ५७ अंकले घटेर बजार १९२४.४८ बिन्दुमा झरेको छ। बिहीबार २ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ। अन्य दिनको तुलनामा कारोबार रकममा देखिएको सुधारका बीच दुई कम्पनीबाहेक सबैको सेयर मूल्यमा गिरावट आएको छ। मिर्मिरे माइक्रोफाइनान्स डिभलप्मेन्ट बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

चाडबाड नजिकिएसँगै बैंकिङ क्षेत्रमा देखिएको सुधारको प्रभाव पुँजी बजारमा देखिन थालेको विश्लेषण भइरहँदा पुन: ठूलो अंकको गिरावट आएको हो। लामो समयदेखि ओरालो लागेको बजारमा मंगलबारको दोहोरो अंकको वृद्धिपछि बुधाबार झनै उछाल देखिएको थियो, तर सुधारको स्थायी आधार नभेटिँदा वृद्धि चलखेलमा मात्र सीमित भएको छ।  

यो साता आइतबार ११.४७ अंकले घटेको बजारमा ७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। सोमबार १३.५९ अंकले घटेको बजारमा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो। मंगलबार २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको बजारमा ९२ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो। बुधबार ४७.४४ अंकले बढेर बजारमा १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँको कारोबार भएको थियो।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको हो। मंगलबार र बुधबारको वृद्धिको संकेत केही दिनको उतारचढाव र सीमितको चलखेल मात्र देखिएको छ। वृद्धिका लागि अब बजारले साथ पाउन सक्ने सूचकहरूमा सुधार हुँदै जानुपर्ने विश्लेषकहरू बताउँछन्। अर्थतन्त्र सुधारको अवस्था आएमा मात्र पुँजी बजारले सुधारको स्थायी बाटो समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend