शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चाडबाड नजिकिएसँगै फर्कियो सेयर बजार, उछाल देखिएको बजारले कायम राख्ला लय?

बुधबार, भदौ २९ २०७९
चाडबाड नजिकिएसँगै फर्कियो सेयर बजार, उछाल देखिएको बजारले कायम राख्ला लय?

काठमाडौं- चाडबाड नजिकिएसँगै बैंकिङ क्षेत्रमा देखिएको सुधारको प्रभाव पुँजी बजारतर्फ पनि देखिएको छ। लामो समयदेखि ओरालो लागेको बजारमा मंगलबारको दोहोरो अंकको वृद्धिपछि बुधाबार झनै उछाल देखिएको छ। 

बुधबार ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा पुगेको छ। गएको केही सातायता बुधबार कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १८४ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको मूल्य घटेको छ। 

यो साता आइतबार ११.४७ अंकले घटेको बजारमा ७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। सोमबार १३.५९ अंकले घटेको बजारमा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो। मंगलबार २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको बजारमा ९२ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो। 

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको थियो। मंगलबार र बुधबारको वृद्धिको संकेत केही दिनको उतारचढाव मात्र हो या उकालोतर्फ इङ्‍गित गरेको हो भन्ने यकिन आधार नदेखिएको विश्लेषकहरू बताउँछन्। 

अहिलेको उतारचढावपूर्ण अवस्थापछि देखिएको ओरालो यात्रामा विश्राम देखिएको भए पनि बजारले साथ पाउन सक्ने सूचकहरूमा सुधार हुँदै जानुपर्ने विश्लेषकहरू बताउँछन्। अर्थतन्त्र सुधारको अवस्था आएमा मात्र पुँजी बजारले सुधारको स्थायी बाटो समात्ने उनीहरूको भनाइ छ। 

यसअघि जस्तै लामो समय ओरालोमा रहेको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरेको हुनसक्ने र यसले स्थायी सुधारको आधार नदेखाउने विश्लेषकहरू बताउँछन्। थोरै मूल्यमा उठाएको सेयर चाडबाडको समयमा बिक्री गर्नेगरी बजारमा चलखेल भएको हुनसक्ने उनीहरूको बुझाइ छ। 


प्रकाशित : बुधबार, भदौ २९ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend