शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सहकारीमार्फत सामूहिक कृषि

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २९ २०७९
images
images
सहकारीमार्फत सामूहिक कृषि
images
images

गण्डकी- कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका-२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन्।

images
images

गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० सेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ। घर-घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिए। राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ।

images
images

सेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उनले सेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा रागो पुर्‍याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताए। उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त ५० हजार र सहकारीको ५० हजारसहित एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो।

images
images

गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिए। 'गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ', उनले भने। गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन्।

बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ। कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ। बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब ४० लाख खर्च भइसकेको छ। थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिए। बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ। बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन्।

सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५-४० वटा टनेल निर्माण भइसकेका छन्। पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ।

कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटाले बताइन्। 'बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ', उनले भनिन्, 'बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको गम्भीर चुनौती हो।'

पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उनले प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, भदौ २९ २०७९०४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend