शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

लगातार ओरालो लागिरहेको सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, अब थामिएर अघि बढ्ला?

मंगलबार, भदौ २८ २०७९
लगातार ओरालो लागिरहेको सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, अब थामिएर अघि बढ्ला?

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएको छ। लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा घटिरहेको बजारले थामिने संकेत देखाएको हो। 

मंगलबार २१.३० अंकले बढेर बजार १९३४.०४ बिन्दुमा पुगेको छ। मंगलबार पनि कारोबार रकममा भने सुधार देखिएको छैन। ९२ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ। १४ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

यो साता आइतबार ११.४७ अंकले घटेको बजारमा ७४ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। सोमबार १३.५९ अंकले घटेको बजारमा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो।  

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा निरन्तर ओरालोतर्फ देखिएको थियो। मंगलबारको वृद्धिको संकेत केही दिनको उतारचढाव मात्र हो या उकालोतर्फ इङ्‍गित गरेको हो भन्ने यकिन आधार नदेखिएको विश्लेषकहरू बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। अहिलेको उतारचढावपूर्ण अवस्थापछि देखिएको ओरालो यात्रामा विश्राम देखिएको भए पनि बजारले साथ पाउन सक्ने सूचकहरूमा सुधार हुँदै जानुपर्ने विश्लेषकहरू बताउँछन्। अर्थतन्त्र सुधारको अवस्था आएमा मात्र पुँजी बजारले सुधारको स्थायी बाटो समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend