शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपालमा २ खर्ब २७ अर्ब विदेशी लगानी, ऊर्जा र उद्योगमा आकर्षण 

ऊर्जामा लगानीको आकर्षण, लाभांशमा सूचना प्रविधि क्षेत्र अगाडि 

मंगलबार, भदौ २८ २०७९
नेपालमा २ खर्ब २७ अर्ब विदेशी लगानी, ऊर्जा र उद्योगमा आकर्षण 

कर्णाली प्रदेशमा हालसम्म कुनै पनि विदेशी लगानीका परियोजना छैनन्। 

काठमाडौं- नेपालमा विदेशी लगानीकर्ताको आकर्षण ऊर्जा र उत्पादनमूलक उद्योगमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा ऊर्जा तथा उत्पादनमूलक उद्योगमा धेरै आकर्षण देखिएको हो। 

नेपालमा वैदेशिक लगानीका बारेमा नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म कूल वैदेशिक लगानी २ खर्ब २७ अर्ब पुगेको छ। एक वर्षमा १४ प्रतिशतले बढेर वैदेशिक लगानी सोह तहमा पुगेको उक्त सर्वेक्षणले देखाएको छ। 

नेपालमा राष्ट्र बैंकबाट कूल ६०४ चार वटा कम्पनीले वैदेशिक लगानीको स्वीकृति लिएका छन्। यस्तो लगानीमा ६० प्रतिशत चुक्ता पुँजीको हिस्सा छ। त्यस्तै सञ्चिति ३१ र ऋण ३१ प्रतिशत रहेको छ। 

सर्वेक्षणको मितिसम्म नेपालमा संसारका ५५ वटा मुलुकबाट लगानी आएको छ। सबैभन्दा धेरै लगानी भारतबाट आएको छ। सर्वेक्षण अनुसार भारतबाट ७५ अर्ब ८ करोड लगानी भित्रिएको छ। त्यस्तै दोस्रो धेरै लगानी आउने देश चीन छ। चीनबाट ३३ अर्ब बराबरको लगानी भित्रिएको छ। सिंगापुरबाट १५ अर्ब ५० करोड र सेन्ट किट्स नेभिसबाट १४ अर्ब ५० करोड लगानी भित्रिएको छ। 

नेपाल भित्रिएको कूल वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै उद्योग क्षेत्रमा रहेको छ। कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको बाहुल्यता रहेपनि विदेशी लगानी भने उद्योग क्षेत्रमा देखिएको छ। 

सर्वेक्षणअनुसार उद्योग क्षेत्रमा ६०.५ प्रतिशत लगानी रहेको छ। बाँकी ३९.४ प्रतिशत लगानी सेवा क्षेत्रमा रहेको छ। क्षेत्रगत हिसाबले उद्योगभित्र पनि ३०.८ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा रहेको छ। विशेषगरी जलविद्युत क्षेत्रमा आएको लगानीका कारणले गर्दा विदेशी लगानीको हिस्सा यो क्षेत्रमा देखिएको हो। 

सन् २०२० सम्म तेस्रो धेरै विदेशी लगानी हुने क्षेत्रमा विद्युत रहेको थियो। सन् २०२० सम्म नेपालमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगमा थियो त्यस्तै वित्तीय सेवामा रहेको थियो। सन् २०२०  ऊर्जा क्षेत्रमा ४९ प्रतिशतले लगानी बढेको थियो भने २०२१ मा २८ प्रतिशतले। यसरो ऊर्जा क्षेत्रमा लगानी बढ्दा सेवा क्षेत्र न्यून आकर्षक देखिएको छ। 

ऊर्जामा लगानी सबैभन्दा धेरै भारतीय रहेको छ। कूल भारतीय लगानीको ४१ प्रतिशत ऊर्जामा छ। चिनियाँ लगानीको ६३ प्रतिशत ऊर्जामै रहेको छ। 

ऊर्जापछि धेरै लगानी हुनेमा उत्पादनमूलक उद्योग र त्यसपछि वित्तीय सेवा रहेको छ। सूना प्रविधि क्षेत्रमा विदेशी लगानी घटेको छ भने होटल तथा अतिथ्यता सेवामा बढेको छ। 

नाफा तथा प्रतिफलका हिसाबले नेपालमा विदेशी लगानी लाभदायी देखिँदै आएको छ। राष्ट्र बैंकले यसअघि गरेका सर्वेक्षणबाट पनि लगानीको प्रतिफल आकर्षक देखिँदै आएको छ। कोरोना महामारीको प्रभावकै बीचमा पनि विदेशी लगानीमा सञ्चालित उद्योगको प्रतिफल १४.७ प्रतिशत रहेको छ। 

सर्वेक्षण वर्षमा विदेशी लगानीका कम्पनीले २६ अर्ब रुपैयाँ लाभांश फिर्ता लिएका छन्। लाभांश धेरै लिने क्षेत्रमा भने सूचना प्रविधि रहेको छ। नेपालमा लगानी धेरै भएपनि ऊर्जा क्षेत्रबाट धेरै लाभांश गएको छ। विशेषगरी दूरसञ्चार कम्पनी एनसेलका कारण सूचना प्रविधि क्षेत्रले धेरै लाभांश लिएको हो। 

कूल लाभांशमा ५० प्रतिशत सूचना प्रविधिको छ। अर्थात् यो क्षेत्रले १३ अर्ब ९८ करोड लिएको थियो। त्यस्तै दोस्रोमा उत्पादनमूलक उद्योग रहेका छन्। 

प्रदेशगत हिसाबले नेपालमा विदेशी लगानी धेरै हुने प्रदेशमा बागमती नै अग्रस्थानमा रहेको छ। सबै प्रकाकारका आर्थिक गतिविधि केन्द्रित रहेको बागमतीमा ५६ प्रतिशत विदेशी लगानी छ भने कर्णाली प्रदेशमा हालसम्म कुनै पनि विदेशी लगानीका परियोजना छैनन्। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend