काठमाडौं- विद्युतीय सवारी विस्तारका लागि भारत आक्रमक बन्दैछ। जसको प्रभाव नेपालमा पनि प्रत्यक्ष पर्ने देखिएको छ। भारतमा हाल सरकार तथा निजी क्षेत्रले हजारौंको संख्यामा चार्जिङ स्टेसनको पूर्वाधार बनाइ रहेका छन्।
ग्लोबल प्रोफेसनल सर्भिस फार्मको रुपमा रहेको अल्भरेज एन्ड मार्सलले सार्वजनिक गरेको स्वेतपत्रअनुसार भारतले अबको ६ वर्षमा देशभर कम्तिमा ४६ हजार चार्जिङ स्टेसन निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। सो अवधिमा यो संख्यामा चार्जिङ स्टेसन निर्माण गरेमा भारत विद्युतीय सवारीमा चीन र अमेरिका सरह हुने प्रक्षेपण गरिएको छ।
विद्युतीय सवारीमा भारतले आक्रामक विस्तार गर्नै लाग्दा नेपालमा त्यसको प्रभावहरु देखिन थालेको छ। सडकमा विद्युतीय सवारी बाक्लै देखिन थालेका छन्, भने धमाधम सरकारी र निजी क्षेत्रले चार्जिङ स्टेसन बनाउन ठूलै लगानी गर्दैछन्। गत साता मात्रै विद्युत प्राधिकरणले रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गर्नुपूर्व नै नेपालमा विद्युतीय कार बिक्रेता कम्पनीहरूले पनि विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाइ सकेका छन्। अहिले पनि चार्जिङ स्टेसन निर्माण उनीहरूको प्राथमिकतामा रहेको छ। निजी क्षेत्रको जोडबलमा नेपाल विद्युत प्राधिकरणले पनि ठूलै पहलकदमी लिएको छ।
अहिले चार्जिङ स्टेसनमा प्राधिकरणले काम गरिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। प्राधिकरणले सुरुवात गरेसँगै निजी क्षेत्र पनि स्टेसन निर्माणमा जुटेकोले एक वर्षभित्रै पाँच सयभन्दा बढी स्टेसन सञ्चालनमा आइसक्ने घिसिङले बताए।
प्राधिकरणका तर्फबाट देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ। २६ वटा जीबीटी ‘ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारका लागि चार्जर निर्माणको चरणमा रहेको छ। जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको छ।
प्राधिकरणले ५० वटा स्टेसनको कन्ट्रोल भने काठमाडौंमा राख्ने छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउने ध्येयका साथ चार्जिङ स्टेसनको अवधारणा ल्याएका थिए। ५० वटा स्टेसन सञ्चालनमा आएपछि करिब ७ हजार किलोवाट बिजुली खपत हुनेछ। स्टेसन निर्माणका लागि एसियाली विकास बैंकले आर्थिक सहयोग गरिरहेको छ।
प्राधिकरणको योजनाअनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० वटा त्यस्ता स्टेसन निर्माण गरिनेछ। यस्तै ७ वटा प्रदेशमा पहिलो चरणमा ५/५ वटा चार्जिङ स्टेसन निर्माण हुनेछन्। बाँकी रहने ५ वटा भने आवश्यकताका आधारमा निर्माण गर्ने तयारी गरिएको छ। ती स्टेसन निर्माणका लागि ६० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य प्राधिकरणको छ।
निजी क्षेत्र पनि सँगसँगै
विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने सरकारी नीतिसँगै विद्युतीय सवारीको आयात तथा प्रयोग तीब्र रुपमा बढिरहेको छ। निजी कारमात्र होइन दुईपांग्रेदेखि ठूला बससम्म विद्युतीय आउन थालेका छन्। टाटा, हुन्डाई, किया, एमजीलगायत विद्युती सवारी बिक्रीकर्ताहरु अधिकांशले स्टेसन बनाउने कामलाई प्राथमिकता दिएका छन्।
हाल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारीमा निजी कार रहेको छ। त्यसपछि विद्युतीय स्कुटर तथा मोटरसाइकल, विद्युतीय रिक्सा बिक्री हुने गरेको छ। पछिल्लो समय केही कम्पनीले साना कमर्सियल सवारी, पिकअप पनि विद्युतीयमा ल्याउन थालेका छन्। सीमित संख्यामा ठूला विद्युतीय बससमेत सञ्चालन हुँदै आएको छ।
साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्न गरेको टेन्डरअनुसार ३ वटा बस काठमाडौं आएर काठमाडौंका विभिन्न रूटमा सञ्चालन भइरहेको छ। यी बस सञ्चालनमा आएसँगै चार्जिङ स्टेसनलगायत पूर्वाधार विद्युतीय बस आपूर्तिकर्ता कम्पनीले नै निर्माण गरिरहेको छ।
विद्युतीय कारको बिक्री बढेसँगै आयातकर्ता कम्पनीहरुले फास्ट चार्जरको स्थापना पनि बढाउँदै गएको छन्। काठमाडौं वा सहरी क्षेत्रमा मात्रै इभी चलाउने हो भने घरमा राखिने चार्जरबाट चार्ज गर्दा नै पर्याप्त हुन्छ। सहरमा मात्र चलाउने हो भने दिनको औषत ४०/५० किलोमिटरभन्दा कम चल्ने गर्छ।
जसका लागि बीचमा चार्ज गर्न आवश्यक पर्दैन। तर, हाइवेमा विद्युतीय कार चलाउने हो भने कम्तीमा पनि ३/४ सय किलोमिटरको रेन्ज आवश्यकता पर्छ। यसका लागि हाइवेको निश्चित दुरीमा विद्युतीय सवारीको फास्ट चार्जर अनिवार्य हुनुपर्छ। जसले विद्युतीय सवारीको स्वीकार्यता बढाउँछ।
नेपालमा हुन्डाई, टाटा, एमजी, किया महिन्द्रा, दिगोलगायत कम्पनीले विद्युतीय कार बिक्री गर्दै आएका छन्। यी नै कम्पनीहरुले विद्युतीय कारका लागि आवश्यक पर्ने चार्जिङ स्टेसनहरु उपत्यकासहित देशका हाइवे तथा अन्य ठाउँहरुमा निर्माणलाई तीब्रता दिएका छन्। त्यसमा पनि टाटा र हुन्डाई विद्युतीय कारका लागि चाहिने चार्जिङ स्टेसन बनाउन आक्रामक रुपमा लागिपरेका छन्।
हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको जनाएको छ। घरमै हुने चार्जर वा थोरै क्षमताको चार्जरले धेरै समय लाग्ने भएकाले हाइवेमा कुरेर बसिरहन सम्भव हुँदैन। त्यसैले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय कारको स्वीकार्यता बढाउन टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय कार बिक्री सुरु गर्नुअगावै चार्जिङको पूर्वाधार बनाउन थालेको थियो।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म दर्जनौं स्थानमा फास्ट चार्जर जडान गरिसकेको र अन्य स्थानमा बनाउने क्रममा रहेको छ। कम्पनीले काठमाडौं आउने विद्युतीय कारलाई लक्षित गरी धार्केमा फास्ट चार्जर स्थापना गरिसकेको छ। उक्त चार्जरले पोखरा तथा नारायणगढबाट काठमाडौं आउने विद्युतीय कार प्रयोगकर्तालाई समेत सहज बनाएको छ।
सिप्रदीले यसअघि कुरिनटारको सिद्धार्थ रिभर्स साइड रिसोर्टमाा पनि यस्तै फास्ट चार्जरको स्थापना गरिसकेको छ। यसका अलावा पश्चिमतर्फको हाइवे समेट्ने गरी नारायणगढ, पोखरा, हेटौडा र भैरहवामा डीसी फास्ट चार्जर जडान गरिसकेको छ। त्यस्तै सिप्रदीले काठमाडौको बागडोल र रत्नपार्क तथा पूर्व तर्फ मुलकोट र इटहरीमा पनि फास्ट चार्जर जडान गरिसकेको छ। कम्पनीले अन्य ६ स्थानमा डीसी फास्ट चार्जर जडान गरिसकेको जनाएको छ। सिप्रदीले मुख्य हाइवेको १५० किलोमिटरमा यस्तो फास्ट चार्जर जडान गर्ने योजनासहित काम गरिरहेको छ। यसका अलावा देशभरीको ५० भन्दा बढी होटल र सहरहरुमा एसी चार्जर स्थापना गरिसकेको जनाएको छ।
यसैगरि हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ।
नेपाली बजारमा विद्युतीय कार बिक्री गर्ने अन्य कम्पनीहरुले समेत चार्जिङ स्टेसन निर्माणका लागि काम गरिरहेका छन्। एमजीले पनि उपत्यकासाथै अन्य सहरमा पनि पूर्वाधार निर्माण गरिरहेको छ। त्यस्तै बीवाईडी, महिन्द्रा, किया पनि पूर्वाधार बनाइरहेको छ। दिगोले पनि मूलकोट, कुरिनटारलगायत स्थानमा चार्जिङ पूर्वाधार बनाइसकेको छ।
लुम्बिनीमा पनि जापान सरकारको सहयोगमा ठूला विद्युतीय बसका लागि सोलार चार्जिङ स्टेसन बनाइसकेको छ। त्यस्तै सीजी मोटर्स पनि होजोन ब्रान्डका विद्युतीय कार ल्याउने क्रममा रहेको छ।
सुरक्षा निकायकै १७ स्टेसन
सशस्त्र प्रहरी बलले १७ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन बनाउन भएको छ। चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सम्झौता भइसकेको छ।
सम्झौताअनुसार सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा हाल सञ्चालित २ वटा पेट्रोल पम्पहरू र सशस्त्र प्रहरीका कार्यालयहरूका १५ उपयुक्त स्थानहरू गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिने छ। प्राधिकरण र नेपाल प्रहरीबीच २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्न यस अघिनै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।