शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

रोकिएन सेयर बजारको ओरालो यात्रा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २२ २०७९
रोकिएन सेयर बजारको ओरालो यात्रा

पुराना लगानीकर्ता भने यसअघि नै बिक्री गरेर कति बहिरिएका छन् भने कतिपय होल्ड गरेर बस्ने रहेका छन्। 

काठमाडौं- निरन्तर घटेको सेयर बजार बढ्न सकेको छैन। चाडवाड नजिकिँदा सेयर बजार सकारात्मक हुनेगरेता पनि लगानीकर्ता विश्वस्त नहुँदा बजार निरन्तर घटिरहेको छ। सेयर बजारको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। 
 
बुधबार ११.९७ अंकले घटेर बजार १९३९.८८ बिन्दुमा झरेको छ। मंगलबार २१.२२ अंकले घटेर बजार १९५१.७९ बिन्दुमा झरेको थियो। 

कारोबार रकम पनि मंगलबारको तुलनामा बुधबार घटेको छ। मंगलबार १ अर्ब १९ करोडको सेयर कारोबार भएकोमा बुधबार ८२ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। यो साता आइतबार ६.६८ अंकले बढेको बजार सोमबार ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा झरेको थियो।

कारोबार र सूचक दुवै घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। घटेको बजारमा नयाँ लगानीकर्ता भित्रिने अवसर हुँदासमेत आँट गर्न सकेका छैनन्। पुराना लगानीकर्ता भने यसअघि नै बिक्री गरेर कति बहिरिएका छन् भने कतिपय होल्ड गरेर बस्ने रहेका छन्। 

घट्दो बजारमा अझै पनि सेयर बजार कतिसम्म आउन सक्छ अनुमान गर्न नसके पनि विश्लेषकहरूले १८०० देखि २२०० को बीचमा अझै सेयर बजार घुम्ने देखिएकाले लगानीकर्ता १८०० बिन्दुको पर्खाइमा रहेका छन्। जसका कारण पनि लगानीकर्ता अझै खरिद गर्ने मुडमा छैनन्।

गतवर्षको भदौमा ३१९९ अंकसम्म पुगेको सेयर बजार १८०० को बिन्दुसम्म आइपुगेको थियो। पछि पुनः बढेर २३०० सम्म पुगेको थियो। झन्डै १४०० अंकले घटेर बढेको सेयर बजार अहिले २००० को बिन्दुमा घुमेर बसेको छ। लगानीकर्ता अझै १८०० को पर्खाइमा बस्दा नयाँ लगानीकर्ता सेयर बजारमा भित्रिन सकेका छैनन्। 

लगानीकर्तालाई चुनावको आश

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेसँगै चुनावी तयारी तीब्र भएको छ। चुनावमा औपचारिक र अनौपचारिक ठूलो धनराशी खर्च हुने गरेको छ। स्थानीय तहको चुनावमा भन्दा पनि प्रतिनिधि सभाको चुनावमा अर्थतन्त्र बढी नै चलायमान हुने गरेको छ।

चाडबाडमा सकारात्मक हुन नसकेको सेयर बजार कात्तिकमा हुने अनुमान विश्लेषकहरूले गरेका छन्। तर गत स्थानीय तहको चुनावमा भने बजार बढ्न सकेको थिएन।

यसवर्षको मंसिरमा हुने चुनावमा बैंकमा निक्षेप बढ्न थालेको तथा राष्ट्र बैंकले जारी गरेको तथ्यांकले पनि सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। कतिपय विश्लेषकहरूले चुनावमा केही सय अंक बढेपनि बुलिस ट्रेण्डमा जाने सम्भावना भने कम रहेको अनुमान गरिएको छ। 

स्थानीय तहको चुनावमा खासै प्रभाव नपरेको सेयर बजारमा अब मंसिरमा हुने चुनावमा के प्रभाव पर्न सक्छ भनेर विगतको चुनावसँग जोडेर केही विश्लेषण गरिएको छ। विश्लेषकहरू चुनावले सेयर बजारमा केही प्रभाव पारेपनि खासगरी अर्थतन्त्रको सूचकमा सेयर बजारको गन्तव्य थाहा हुने अनुमान गरिन्छ। 


प्रकाशित : बुधबार, भदौ २२ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend