काठमाडौं- सात वाणिज्य बैंकहरूले सी-आस्वा सेवा निःशुल्क गर्ने घोषणा गरेका छन्।
नेपाल धितोपत्र बोर्डले भदौ ५ गतदेखि लागू हुनेगरी बैंकहरूले सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेसँगै बैंकहरूले धमाधम सी-आस्वा सेवा निःशुल्क गर्न थालेका हुन्।
यसअघि बैंकहरूले सी-आस्वा सेवास्वरुप न्यूनतम १० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए। अब ७ वटा बैंकहरूका ग्राहकले आईपीओ लगायत सार्वजनिक धितोपत्र निष्काशनमा आवेदन दिँदा सी-आस्वा शुल्क तिर्नुपर्ने छैन भने बाँकी बैंकहरूले सी-आस्वा सेवास्वरुप अधिकतम ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्नेछ।
हालसम्म नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले सी-आस्वा सेवा निःशुल्क गरेको छ।