शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्र बैंकको ताकेतापछि एनसीसी र कुमारी पनि मर्जरमा, स्वाप रेसियो कति? यस्तो छ वित्तीय सूचक

शुक्रबार, भदौ १७ २०७९
राष्ट्र बैंकको ताकेतापछि एनसीसी र कुमारी पनि मर्जरमा, स्वाप रेसियो कति? यस्तो छ वित्तीय सूचक

काठमाडौं- नेपाल राष्ट्र बैंकको अघोषित दबाबपछि एनसीसी र कुमारी बैंकले मर्जरमा जानेगरी छलफल सुरु गरेका छन्। गत सातामात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो।

राष्ट्र बैंकले दुवै बैंकका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उक्त निर्देशन दिएको थियो। बैंकको स्वाप रेसियोमा छलफल भइरहेको छ। सम्भवत १००ः१०० को रेसियोमा मर्जरमा जाने सम्झौता गर्नेछन्। 
 
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरुलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।  

यता एभरेष्ट बैंक र सनराइज बैंकले पनि मर्जरमा जानेगरी छलफल तीव्र पारिरहेका छन्। राष्ट्र बैंकले मर्जर जान र सम्झौता गर्न बाँकी बैंकहरुलाई पुस मसान्तसम्मको समयअवधी दिएको छ। सोहीकारण पनि एभरेष्ट र सनराइज बैंकले मर्जरका लागि छलफल अगाडि बढाएका छन्। 

कुमारी र एनसीसीमा कुन अब्बल? 

कुमारी बैंक 

कुमारी बैंक लिमिटेडले गतवर्ष बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १९.२७ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.१ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशत र कर्जा ११.२२ प्रतिशत बढेको छ।

एनसीसी बैंक 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकले गतवर्ष नाफा बढाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी  १८.१५ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.७९ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend