शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढावमै घुमिरह्यो सेयर बजार : ५ अंक बढ्दा ५६ अंकको गिरावट, अपेक्षाकृत सुधार नहुँदा संकेत कता?

बिहीबार , भदौ १६ २०७९
उतारचढावमै घुमिरह्यो सेयर बजार : ५ अंक बढ्दा ५६ अंकको गिरावट, अपेक्षाकृत सुधार नहुँदा संकेत कता?

काठमाडौं- उतारचढावमा देखिइरहेको सेयर बजारमा यो साता ठूलो अंकको गिरावट र सानो अंकको वृद्धिमा तलमाथि भइरहेको छ। यो साता अहिलेसम्मका पाँच कारोबारमा दुई दिनमा गरेर ५.९५ अंकको वृद्धि देखिँदा तीन दिनमा ५६.४१ अंकको गिरावट देखिएको छ।

यो साता आइतबार ३३.३६ अंकले घटेको बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेको बजार बुधबार पुन: २१.९७ अंकले घटेको थियो। बिहीबार बजारमा झिनो अंकको गिरावट नै देखिएको छ। यसले बजारमा आश गरेजस्तो सुधारको संकेत देखिन सकेको छैन।

बिहीबार १.०८ अंकले घटेर बजार १९७२.२९ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। 

३१९९ को उच्च बिन्दुबाट घटेर १८४८ बिन्दुसम्म झरेको बजार गत महिना बढेर २३०० बिन्दुमा टेकेको थियो। अहिले पुनः २००० वरपर घुमेर बसेको छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्।

बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको विश्लेषकहरू बताउँछन्। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend