काठमाडौं- एक दशकअघिको कुरा, बहुराष्ट्रिय चेन रेष्टुरेन्ट केन्तुकी फ्रायड चिकेन (केएफसी)ले विश्वभर आक्रामक ढंगले आउटलेट विस्तार गरिरहेको थियो। दक्षिण एसियाली मुलुकहरूमा केएफसी रेष्टुरेन्ट सञ्चालन गर्ने अनुमति लिएको देवयानी इन्टरनेशनलले भारतमा पनि आउटलेट विस्तारमा आक्रामक ढंगले लागेको थियो।
भारतीय उपभोक्तामाझ केएफसीले पस्किने परिकारहरू छोटो अवधिमै लोकप्रिय बन्दै गए। भारतमा केएफसीका परिकार मन पराउन थालेपछि देवयानीले नेपालमा आँखा लगाउन थाल्यो। स्वादमा भारतीय र नेपालीको जिब्रो उस्तै।
केएफसीको मुख्य परिकार भनेकै ‘हट एन्ड कृस्पि चिकेन’, जुन नेपालका रेष्टुरेन्टहरूमा पाक्दैनथ्यो। देवयानीको टिम काठमाडौंमा केएफसीको बजार अध्ययन गर्न आयो, रेष्टुरेन्ट-रेष्टुरेन्ट धायो। तर, कतै पनि कृस्पि चिकेन पाकेको देखेन। नेपाली खानाका सौखिन। देवयानी टिमले निष्कर्ष निकाल्यो, ‘केएफसीको आउटलेट नेपालमा खोले मज्जैले चल्नेछ।’
देवयानी इन्टरनेशनल नेपालले सन् २०१० मा केएफसीको दरबारमार्गमा पहिलो आउटलेट खोल्यो। सुरुकै दिनदेखि केएफसीको आउटलेटमा नेपाली उपभोक्ताको भिड लाग्यो। यतिसम्म कि, केएफसीमा उपभोक्ताको बाक्लो भिड लागेपछि दरबारमार्गमै लामो लाइन लाग्न थाल्यो। ‘हामीले सोचेभन्दा निकै बढी ग्राहक सुरुदेखि नै केएफसीमा आउन थाले’ कम्पनीका एक प्रतिनिधिले भने, ‘नेपालमा परिवारसँग रेष्टुरेन्टमा आएर खाने संस्कार रहेछ।’
सुरुमा केएफसीमा लागेको उपभोक्ताको भिड धेरै दिन नटिक्ने एकथरिको अनुमान थियो। केएफसीको महँगो मेनु र परिकारहरूले नेपाली उपभोक्तालाई तानिरहन नसक्ने बताइन्थ्यो। तर भइदियो अर्कै। केएफसीले सबैखाले उपभोक्तालाई तार्गेट गरेर मेनु बनाएको थियो।
नेपालीले कृस्पि चिकेन राम्रै मन पराएपछि उपभोक्ताको भिड घट्ने कुरै भएन। सुरुमा केएफसीले ब्राजिलबाट कुखुराको मासु आयात गरेर पकाउने गर्थ्यो । तर पछिल्लो समय नेपालमै गुणस्तरीय मासु उत्पादन हुन थालेपछि भ्याली कोल्ड स्टोरबाट ल्याउने गर्छ।
एकचोटी केएफसी पुगेको उपभोक्ता फर्कीफर्की जान थालेपछि देवयानीले आउटलेट विस्तारको योजना बनायो। नेपाल प्रवेश गरेको एक दशकमा केएफसीले १२ शाखा विस्तार गरिसकेको छ। वर्षमा ५ वटासम्म आउटलेट खोल्ने कम्पनीको योजना छ। ‘हामी सुरुमा आउटले विस्तारमा अलि स्लो नै भएका थियौं, तर पछिल्लो समय आक्रामक ढंगले फैलिँदै छौँ’ ती प्रतिनिधिले भने, ‘हामीले सन् २०२१ मै ४ वटा नयाँ शाखा विस्तार गरिसकेका छौँ, अर्को एउटा शाखा पनि यही वर्षभित्र सञ्चलनमा ल्याउँदै छौँ।’
केएफसीले यही असोज १५ देखि पश्चिम नेपालको व्यवसायिक हब नेपालगञ्जमा नयाँ आउटलेट खोलेको छ जुन बाह्रौँ हो। तेह्रौँ आउटलेट बागमती प्रदेशको राजधानी हेटौंडामा खोल्ने तयारी छ, जुन यसै वर्ष सञ्चालनमा आउनेछ। भदौ १९ गते इटहरीमा आउटलेट सञ्चालनमा ल्याएको थियो।
इटहरी आउटलेटले कम्पनीलाई निकै उत्साहित बनाएको छ। कारण हो, पहिलो दिन नै केएफसीमा ८ हजार जनाले बिल तिरेका थिए। रेष्टुरेन्टमा खानेकुरा पुर्याउन नसकेर ग्राहभ फर्काउनु परेको थियो। कम्पनीका अनुसार, इटहरी आउटलेटको भिड दक्षिण एशियामा सञ्चालित केएफसीका आउटलेटकै सबैभन्दा बढी थियो।
‘इटहरीमा आउटलेट खोल्दा त्यति ग्राहक आउलान भनेर हामीले सोचेकै थिएनौँ, इँटहरी आउलेटका एक कर्मचारीले भने, ‘हामीलाई ग्राहक व्यवस्थापन गर्नै हम्मेहम्मे परेका थियो।’ केएफसीको परिकार खानका लागि पुरानो शहर विराटनगरसम्मका उपभोक्ताहरू इटहरी आइपुगेका थिए, उसैगरी जाँदै छन्।
कहा-कहाँ खुल्दैछन्?
केएफसीको पहिलो आउटलेट दरबारमार्गमा खुलेको थियो । त्यसपछि काठमाडौं उपत्यकाभित्रै शाखा विस्तारमा केन्द्रीत थियो केएफसी। उपत्यकाको थापाथली, बौद्ध, पुल्चोक (लविम मल), महाराजगञ्ज, भक्तपुरको ठिमी, नक्साल, कलंकीमा आउटलेट खुलिसकेका छन्।
केएफसीले उपत्यकाबाहिर सबैभन्दा पहिला पोखरामा आउटलेट खोलेको थियो। मुलुकको प्रमुख पर्यटकीय शहर भएको हुनाले पनि केएफसीले पोखरालाई पहिलो रोजाइ बनाएको हो। पोखरापछि चितवन, इँटहरी र नेपालगञ्जमा पनि केएफसीका आउटलेट खुलिसकेका छन्।
आउटलेट विस्तारमा आक्रमक बनेको केएफसीले यही वर्षभित्रै हेटौडामा नयाँ आउटलेट सञ्चालनमा ल्याउँदैछ। बुटवल र भैरहवा पनि पाइपलाइनमा छन्। देशका प्रमुख शहरमा केएफसीका आउटलेट खोल्ने देवयानीको योजना छ।
जहाँ भाटभेटनी, त्यहाँ केएफसी
केएफसीले आउटलेट विस्तारमा नयाँ रणनीति बनाएको छ। अहिले केएफसीले बहुचर्चित भाटभटेनी स्टोरका जहाँ जहाँ शाखा खुल्छन् त्यहाँ त्यहाँ केएफसीका आउलेट खोल्ने रणनीति बनाएको हो।
केएफसीको महाराजगञ्ज, नक्साल, ठिमी, कलंकी, इँटहरी, नेपालगञ्ज आउटलेट भाटभटेनी परिसरमै खुलेका छन्। ‘जहाँ भाटभटेनी सुपरमार्केट त्यहाँ केएफसी’ भन्ने रणनीति बनाएरै केएफसी शाखा विस्तारमा लागेको हो। ‘भाटभटेनीमा आउने ग्राहकहरू केएफसीका पनि सम्भावित ग्राहक भएको हुनाले केएफसीले आउटलेट खोल्न भाटभटेनीलाई रोजाइमा पारेको हो’ देवयानी ती कर्मचारीले भने।
बुटवल र भैरहवामा पनि भाटभटेनी स्टोर खुलिसकेको हुँदा केएफसीले आउटलेट विस्तारको रणनीति बनाएको हो। भाटभटेनीले पनि इमर्जिङ शहर जहाँ उपभोक्ताको आय बढी छ त्यहाँ शाखा विस्तारलाई केन्द्रित गरेको छ। केएफसीले पनि बजार रणनीति त्यसै गरी बनाएको देखिन्छ। त्यसो त बुटवल भैरहवा आफैमा समृद्ध शहर हुन् जहाँका बासिन्दाको उपभोग्य आम्दानी धेरै छ।
केएफसीको चितवनको आउटलेट भने सिजी ल्यान्डमार्कमा रहेको देवयानीले जनाएको छ।
उपत्यकाबाहिर नयाँ ठाउँमा जाँदा व्यापारमा स्टेन हुन सहज हुने भएकोले भाटभेनीसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ छ। त्यसो त केएफसी आफै पनि बजार अध्ययन नगर्ने भन्ने होइन। केएफसी आफैले पनि सम्भावित ग्राहक र भविष्यलाई हेरेर मात्र आउटलेट विस्तारको रणनीति बनाउँदै आइरहेको छ।
‘हामीले भाटभटेनीमा सपिङ गर्न आउने सेवाग्राहीलाई लक्षित गर्दै नयाँ रणनीति चालेका हौँ, भाटभटेनी पनि देशभर सञ्जाल विस्तार गर्दै छ, यसबाट दुबैलाई सहज हुने गरी काम गरेका हौँ’ ती अधिकारीले भने, ‘अब हाम्रो रणनीति नै जहाँ–जहाँ भाटभटेनी त्यहाँ–त्यहाँ केएफसी भनेर स्थापित हुनै खोजेका हौँ।’
अर्ब नाघ्यो लगानी
केएफसीले आउटलेट विस्तारलाई तिब्रता दिएसँगै लगानी पनि बढ्दै गइरहेको छ। अहिलेसम्म केएफसी र पिज्जा हटमा गरी करिब १ अर्ब रुपैयाँ लगानी भइसकेको बताइएको छ। केएफसीको एउटा आउटलेट खोल्न कम्तिमा ४ देखि ५ करोड रुपैयाँ लगानी हुन्छ। त्यो आउटलेटका लागि दक्ष जनशक्ति तयार पार्न पनि तालिममा मोटै रकम खर्च हुने गरेको कम्पनीले जनाएको छ।
केएफसीले वर्षमा ५ वटासम्म आउटलेट खोल्ने रणनीति बनाएको छ। यसको अर्थ, हरेक वर्ष केएफसीले आउटलेट विस्तारमा ३०/३५ करोड रुपैयाँ लगानी गर्नेछ।
केएफसीले अरु रेष्टुरेन्टको तुलनामा कर्मचारीलाई धेरै सुविधा दिइरहेको दाबी गरेको छ। आफै तालिम उपलब्ध गराएर दक्ष कर्मचारी उत्पादन गर्छ केएफसी। कर्मचारीको तालिममा पनि राम्रै खर्च गरिरहेको बताइएको छ। केएफसी ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।
कोभिडमा अवसर
कोभिड महामारीमा धेरै व्यवसायीहरूले व्यवसाय चौपट भएको भन्दै धमाधम रेष्टुरेन्ट बिक्री तथा बन्द गरिरहेको बेलामा केएफसीले भने नयाँ आउटलेट विस्तारमा तीब्रता दिइरहेको छ।
कोभिडलाई अवसरको रुपमा लिइरहेको केएफसीले ४ वटा आउटलेट महामारीकै बीचमा सञ्चालनमा ल्याएको हो। ‘हामीले कोभिडलाई एउटा अवसरका रुपमा सदुपयोग गरिरहेका छौँ’ ती अधिकारीले भने, ‘जति पनि आउलेट विस्तार भए र जहाँ जहाँ आउटलेट विस्तारका योजना बनिरहेका छन् ती सबै कोभिड महामारीकै बिचमा भएका हुन्।’
कोभिड महामारीमा केएफसीका केही आउटलेबाट ‘टेक अवे’ सेवा दिइरहेको थियो। ‘हामीले महामारीमा सुरक्षा मापदाण्ड पालना गरेर टेक अवे सेवा दिइरहेका थियौँ, जसले ग्राहकको विश्वास जित्न झन सफल भयौँ’ उनले भने, ‘हामी खाली व्यापार मात्र गर्दैनौं, उपभोक्ता र कर्मचारीको स्वास्थ्यमा उत्तिकै ध्यान दिन्छौँ।’
यसअघि सन् २०१५ मा आएको विनाशकारी भूकम्पको समयमा केएफसी केही समय बन्द भएको थियो। कोभिडको समयमा पनि केएफसीका धेरै आउटलेट बन्द नै भए। केही आउलेटले टेक अवे सेवा दिए। अहिले लकडाउन खुकुलो भएपछि सबै आउटलेट राम्रोसँग चलिरहेका छन्।