शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेप्सेको नयाँ ‘मुभ’ : २००० देखि २२०० को बिन्दु वरपर घुम्ने संकेत; नयाँ लगानीकर्तालाई हुनसक्छ फाइदा

सोमबार, भदौ १३ २०७९
नेप्सेको नयाँ ‘मुभ’ : २००० देखि २२०० को बिन्दु वरपर घुम्ने संकेत; नयाँ लगानीकर्तालाई हुनसक्छ फाइदा

काठमाडौं- एक वर्षअगाडि ३१९९ को बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर २००० को वरपार घुमेर बसेको छ। अहिलेको बजारको गतिले सेयर बजार अझै लामै समय २००० देखि २२०० को बिन्दुमा घुम्ने देखिएको छ। यस्तो बजारमा नयाँ लगानीकर्ताका लागि भने अवसर नै हुने देखिएको छ। महँगो सेयर भएका कम्पनीका सेयरसमेत सस्तो मूल्यमा किन्नेर धैर्य गर्ने अवसर हुनेछ। 

आइतबार भारी अंकले घटेको बजार सोमबार भने केही थामिएको छ। सोमबार ३.७६ अंकले बढेर बजार १९९३.०२ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। आइतबार ३३.३६ अंकले घटेर बजार १९८९.२६ बिन्दुमा झरेको थियो। 

उच्च बिन्दुबाट घटेर १८४८ बिन्दुसम्म झरेको बजार गत महिना बढेर २३०० बिन्दुमा टेकेको थियो। अहिले पुनः २००० वरपर घुमेर बसेको छ। विश्लेषकहरूको बुझाइमा यो बजार अझै २००० देखि २२०० को बिन्दुमा केही महिना रहने देखिएको छ। अहिलेको सेयर बजारमा पुरानो लगानी उठाउन नसके पनि छोटो समयको ट्रेडिङ गर्नेहरूका लागि भने अवसर भएको छ। सस्तोमा किनेर लामो समय राख्नेहरूलाई पनि मौका आएको छ। 

लघुवित्त, हाइड्रो र बैंकका सेयरहरू अन्डरभ्यालु भएका छन्। छोटो लगानीगर्नेहरूले घटेको दिन किन्ने र बढेको दिन पुनः बिक्री गर्ने गरेका छन्। तर दीर्घकालीन लगानीकर्ताहरूले धेरै सेयर सस्तोमा किनेर बिक्री गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्।

अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।


प्रकाशित : सोमबार, भदौ १३ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend