आइतबार, मंसिर ९ गते २०८१    
images
images

जसले नेपालमा बीबीए जन्मायो : केसीएमको २६ वर्षे यात्रा

भारतमात्रै होइन, पूरा दक्षिण एसियामा नहुँदा नेपालमा कसरी सुरु भयो बीबीए पढाइ?

images
सोमबार, भदौ १३ २०७९
images
images
जसले नेपालमा बीबीए जन्मायो : केसीएमको २६ वर्षे यात्रा
images
images

काठमाडौं- सन् १९९४ को मध्यतिर काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले नेपालमा पहिलोपटक मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) सुरु गर्‍यो। तर एमबीए सुरु गर्दै गर्दा काठमाडौं विश्वविद्यालयले सो विषय अध्ययन गर्ने विद्यार्थी नै पाएन।

images
images
images

तत्कालीन समयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष थिए व्यवसायी विनोद चौधरी। महासंघले त्यही बेला 'इकोनोमिक स्ट्रेन्थनिङ' प्रोग्राममा अमेरिकी सहयोग नियोग (युएसएआईडी)ले महासंघलाई सहयोग गरिरहेको थियो।

images

केयूका उपकुलपति डा. सुरेशराज शर्माले महासंघसँग एमबीए अध्ययनका लागि विद्यार्थीहरूलाई सहयोग गरिदिन आग्रह गरे। महासंघले आवेदन मागेर १५ जना विद्यार्थीलाई स्पोन्सरमा एमबीए पढ्ने अवसर दियो। केयूको दुई वर्षे एमबीए सुरु भयो। पहिलो ब्याच सन् १९९६ मा पास भएर निस्के।

images

त्यसबेलासम्म नेपालमा मात्रै होइन भारत तथा समग्र दक्षिण एसियामा नै ब्याचलर्स अफ बिजनेस एडमिनिष्ट्रेसन (बीबीए)को अध्ययन सुरु भएको थिएन। अमेरिकामा भने बीबीएको अध्ययन सुरु भएको थियो। अहिले काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) कलेजका प्रिन्सिपल विष्णुराज अधिकारीलगायतको टीमले नेपालमा पनि बीबीए अध्यापन सुरु गर्ने विषयमा छलफल गरे। त्यसबेला अमेरिकाबाट एकजना प्रोफेसर धर्मप्रसाद शर्मा भावुक नेपाल आएका थिए। अधिकारीको टीमको भेट भावुकसँग भयो। भावुकले तिमीहरू बीबीए कोर्स सुरु गर्छौं भने म सहयोग गर्छु भने। नभन्दै उनले गर्मी बिदामा नेपाल आएर बीबीएको पाठ्यक्रम डिजाइनमा सहयोग गरे।

पाठ्यक्रमसमेत तयार भएपछि उनीहरूले नेपालमा बीबीएको पढाइ सुरु गर्न विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने थियो। विश्वविद्यालय दुईवटा मात्रै थिए नेपालमा। एउटा त्रिभुवन विश्वविद्यालय अर्को काठमाडौं विश्वविद्यालय।

अधिकारीको टीमले त्रिविबाट सम्बन्धन लिएर पढाइ सुरु गर्ने निर्णय गरेर सबै कागजपत्र तयार पारेर सम्बन्धनका लागि निवेदन दिए। तर त्रिविका तत्कालीन पदाधिकारीले बीबीएको पाठ्यक्रम स्वीकृत गरेर पढाइ सुरु गराउन तथा कलेजलाई सम्बन्धन दिन पाँच वर्ष लाग्नसक्ने बरु बीबीएसको सम्बन्धन लिन आग्रह गरे।

त्रिविले पनि भर्खरै बीबीएसलाई तीन वर्षे कोर्स बनाएको थियो १९९६ मा। त्रिविले सम्बन्धन नदिने भएपछि अधिकारीको टिम केयूका उपकुलपति शर्मालाई भेटे। शर्माले पनि कसरी पढाइ हुन्छ? विद्यार्थी कहाँ पाउने? के हो यो बीबीए भनेको? भनेर विविध विषयमा सोधीखोजी गरे। अमेरिकामा सुरु भएको बीबीए अध्ययनलगायत सबै विषयको जानकारी गराउने काम भयो। त्यसपछि शर्माले त्यसो भए पूर्वाधार तयार गर्न अह्राए।

bishnu adhikari.jpg
केसीएम कलेजका प्रिन्सिपल विष्णुराज अधिकारी।

त्यसपछि नै बानेश्वरमा एउटा घर लिएर १० वटा कम्युटरसहितको ल्याब तथा अन्य आवश्यक संरचना तयार गरेको अधिकारी सुनाउँछन्। त्यसबेला नै एउटा कम्युटरको मूल्य नै एक लाख रुपैयाँभन्दा बढी थियो। पाउन पनि सहज थिएन। नेपालमा मुनी शाक्यले पहिलो कम्युटर बनाएका थिए। अधिकारी आफैँ कम्युटर केन्द्रमा काम गरेका कारण शाक्यलाई चिनेको थिए। उनीसँग १० वटा कम्युटर उधारोमा मागेर कम्युटर ल्याब, लाइब्रेरी तथा कक्षा कोठा बनाएको अधिकारी सम्झन्छन्। सबै तयार भएपछि शर्माले प्रपोजल मागे।

त्यसपछि उनीहरूले सम्बन्धनका लागि केयूमा प्रपोजल बुझाए। शर्माले पनि यो विषय तलबाट नै निर्णय भएर आउँदा आफूलाई सहज हुने भन्दै निर्णयका लागि कुसोममा पठाए। तर नेपालमा बीबीए चल्दैन, यसमा विद्यार्थी आउँदैनन्, भारतमा पनि छैन, चल्दैन भनेर कुसोमले सम्बन्धन नदिने निर्णय गर्‍यो। कुसोमको डिन अफिसले शर्माकहाँ त्यही निर्णय पठायो। शर्माले नै घर लिएर आवश्यक पूर्वाधार तयार गर्न लगाएका थिए, तर कुसोमले भने उल्टो निर्णय दियो। 

त्यसबेलासम्म केसीएमले २५ देखि ३० लाख रुपैयाँ लगानी गरिसकेको थियो। 'हामी कोही पैसा भएका व्यवसायी थिएनौँ। हामीले प्रोस्पेक्टस पनि छापेका थियौँ। काठमाडौं इन्स्टिच्युट अफ म्यानेजमेन्ट भनेर छापेका थियौँ' अधिकारीले सुनाए।

‍‍‍‍शर्माको मनासय पनि तलबाट नै सिफारिस भएर आए हुन्थ्यो भन्ने थियो। तर भएन। उनले नै फेरि अर्को उपाय दिए। उनले ३० जना विद्यार्थी भर्नाका लागि विज्ञापन गर्न स्वीकृत दिने निर्णय गरे। २०५४ असार १७ अर्थात १९९७ जुलाई १ मा।

'उहाँ चलाख मान्छे। विज्ञापन गर्दा मान्छे आए भने सम्बन्धन दिने नत्र नदिने मनसाय बनाउनुभयाे,' अधिकारीले भने।

काठमाडौं कलेज अफ म्यानेजमेटको नाममा संस्था दर्ता गरिएको हुनुपर्ने सर्त पनि राखिएको थियो। कलेज राख्नु पर्ने सर्तको पछाडि पनि सम्बन्धन दिँदा कलेजलाई मात्रै दिने इन्स्टिच्यूटलाई नदिने कानूनी व्यवस्था थियो।

बीबीएमा विद्यार्थी भर्नाका लागि आवेदन मागियो। ३० जना चाहिएकोमा १ सय ९ जनाले आवेदन दिए। उनीहरूमध्येबाट स्वस्थ प्रतिस्पर्धाबाट ३० जना छानियो। कतिपयले त नाम ननिस्किएपछि शर्मालाई सोर्स लगाउन पुगेको पनि अधिकारी सम्झन्छन्।

'हामीले पनि एमबीएको भाइ बीबीए भनेर प्रचार गरेका थियौँ। हामीलाई अन्ततः सम्बन्धन दिइयो,' अधिकारीले भने,' 'हामीले अगस्टमा विद्यार्थी भर्ना लियौँ। त्यसरी बीबीएको जन्म भयो।' केयूमा स्नातकका सबै कोर्स ४ वर्षे भए पनि पहिलोपटक ३ बीबीए सुरु भयो।

kcmm.jpg

दुई महिनापछि नै थपिए अन्य बीबीए कलेज

त्यही बेला तेस्रो विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय आयो। धुब्रलाल दास उपकुलपति भए। उनी अंग्रेजी शिक्षक थिए। अर्को भेष धमला (अर्थशास्त्री तथा प्रोफेसर) थिए। पूर्वाञ्चल स्थापना भएलगत्तै काठमाडौंमा पनि अफिस खोलियो। बानेश्वरमा अफिस राखियो। 'हाम्रो अफिसम पूर्वाञ्चलका सरहरू आउनु भयो। उहाँहरूले पनि हामी पनि पहिलो कार्यक्रम बीबीएबाट नै सुरु गर्नु पर्‍यो भन्नुभयो। हामीले पनि गजब हुन्छौँ भन्यौँ। हामी मात्रै थियौँ अर्को पनि थपिएपछि सहज हुने हामीमा आशा जाग्यो। हामीले हाम्रो कोर्स पनि उहाँहरूलाई दियौँ,' अधिकारीले भने।

केसीएमले बीबीए सुरु गरेको दुई महिनापछि नै पूर्वाञ्चलको पनि सञ्चालनमा आउन थाल्यो। पहिलोपटक उनीहरूले पनि ३० जनाबाट बीबीए अध्ययन सुरु गरेका थिए।

त्यसको ठीक एक वर्षपछि पोखरा विश्वविद्यालय आयो। पहिलो उपकुलपति पुरुषोत्तम सापकोटा थिए। पोखराले पनि पहिलो कार्यक्रम नै बीबीए राख्यो। पोखराबाट नै सम्बन्धन लिएर एपेक्स कलेज र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले बीबीए पढाउन थाले। यसरी नेपालमा बीबीए फैलिँदै गयो। हामीले सुरु गरेको एक वर्षपछि नै केयूले पनि थप दुईवटा कलेजलाई बीबीए अध्ययनका लागि सम्बन्धन दिएको थियो।

'उपकुलपति शर्मासँग पहिलो ब्याच पास आउट नहुँदासम्म अन्यलाई सम्बन्धन नदिने र केही सुधार गर्नु भएमा पनि सुधार गर्ने भन्ने सहमति भएको थियो। तर, एक वर्षपछि नै लिटिल एन्जेल्स र नेपाल कलेज अफ म्यानेजमेन्टलाई उहाँले सम्बन्धन दिनुभयो' उनले भने।

अर्को रमाइलो, पूर्वाञ्चलले दोस्रो वर्ष नै १० देखि १५ वटालाई बीबीए सम्बन्धन दियो। पोखरालाई पनि थप कलेजमा बीबीए अध्ययनका लागि सम्बन्धन दियो,' अधिकारीले भने।

पाँच वर्षकै बीचमा ४० वटा बीबीए पढाउने कलेज भए। तर पनि अहिले नेपालमा अधिकांश बैंक तथा वित्तीय संस्था र कर्पोरेट अफिसमा केसीएमकै विद्यार्थी रहेको उनको अनुभव छ।

अहिले केसीएममा पढाउने शिक्षकहरूमध्ये पनि ५० प्रतिशत आफ्नै विद्यार्थी भएको उनले बताए। कलेजले हरेक वर्षजस्तो एउटा अवार्ड पनि पाइरहेको छ। 'होटलमा पर्यटककाे लागि बुटिक होटल भनेजस्तै बीबीएका लागि केसीएम भनेर चिनाउन सफल भएका छौँ। २६ वर्षदेखि एउटै बीबीए कोर्स मात्रै पढाइरहेका छौँ। पहिले पाँच लाखमा बीबीए कोर्स पढ्न सकिन्थ्यो भने अहिले १५ लाख रुपैयाँ भएको छ,' उनले भने।

एक दशकपछि त्रिविले पनि एक पटकमा चार वर्षे बीबीए कोर्ष सुरु गर्‍यो। उसले शंकरदेव र मिनभवन कलेजमा सो कार्यक्रम सुरु गरेको हो।

प्रमाणपत्र तह हटाइएपछि केयू आफैँले पनि बढाउन थाल्यो बीबीए

शिक्षा ऐन आयो, ऐन आएपछि विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तह (पीसीएल) सञ्चालन गर्न नपाइने भयो। त्यसको असर केयूमा पर्‍यो। केयूले पाँचसय विद्यार्थीलाई आइएससी पढाउने गरेको थियो। ती विद्यार्थीलाई पढाउन नपाउने भएपछि केयूलाई वित्तीय रुपमा पनि अप्ठ्यारो पर्ने भयो। त्यसपछि केयूले पनि बीबीए आफैँ सुरु गर्‍यो। प्रतिब्याच १२० जनालाई पढाउन थालियो।

'काठमाडौं विश्वविद्यालयको बीबीए हामीले १७ वर्षसम्म पढायौँ, पाँच वर्षसम्म कुसोम र हामी दुवैले सँगसँगै पढायौँ,' अधिकारी भन्छन्।

बीबीएलाई टर्मिनल डिग्रीकै रुपमा लिएर त्यसपछि एमबीए गर्न जरुरी नबनाउन सकिन्थ्यो भन्ने अधिकारीलाई लाग्छ। 'सबै पढाइ उस्तै थियो। बीबीए प्राक्टिकल हुनपर्ने थियो। कतिपय विषयमा त परीक्षा नै लिन आवश्यक थिएन। एमबीएमा पनि बीबीएको जस्तै कोर्स भएपछि केयूले बीबीएको पाठ्यक्रममा केही संशोधन गर्‍यो,' उनले भने।

कुसोमको इन्ट्रान्स पास भएपछि मात्रै केयूका अन्य कलेजले पढाउन पाउने र त्यो परीक्षामा सबैभन्दा राम्रो अंक ल्याउने १ सय २० जनालाई कुसोम आफैँले पढाएर बाँकीलाई अन्यत्र पठाउने नीति लियो। यो व्यवस्थाका कारण कुसोममा दर्ता हुन छुटेका विद्यार्थीले केसीएमलगायत अन्य कलेजमा पढ्न पाएनन्। 'केयूले प्रयोगात्मक बीबीएलाई परीक्षा प्रणालीमा केन्द्रित गर्‍यो। विस्तारै गुणस्तर खसेको आभास हुन थाल्यो। हामीले केयूबाट बाहिरिने निर्णय गर्‍यौँ,' अधिकारी भन्छन्।

सन् २०१३ बाट फेरि केसीएमले थाइल्याण्डको एसआईएएम विश्वविद्यालयको अनुमतिमा चार वर्षे बीबीए पढाउन थाल्यो। अहिले देशमा एक सयभन्दा बढी बीबीए पढाउने कलेज स्थापना भएका छन्। अहिले नेपालमै केही बिजनेस गरौँ भावना भएका विद्यार्थीको रोजाइमा केसीएम पर्छ। यता केयूले भने आफू र पहिले नै सम्बन्धन दिएका दुईवटा कलेजबाट बीबीए पढाइरहेको छ।

kcm programme.jpg

जब केसीएमको बीबीए दिल्ली विश्व विद्यालयले स्वीकारेन

केसीएम कलेजबाट बीबीए गरेका दोस्रो ब्याचका एक विद्यार्थी दिल्ली विश्वविद्यालयमा एमबीए पढ्न गए। तर, दिल्ली विश्वविद्यालयले केयूअन्तर्गतको केसीएम कलेजको बीबीएलाई मान्यता दिएन। विद्यार्थीको प्रमाणपत्र फ्याँकिदियो।

विद्यार्थीले दिल्लीबाट नै अधिकारीलाई फोन गरे। अधिकारी दिल्ली गए। विश्वविद्यालयका उच्च व्यवस्थापनलाई भेटे। नेपालमा बीबीए सुरु गर्नुअगाडि नै त्यसबारेमा अधिकारीले दिल्ली विश्वविद्यालयलाई पनि जानकारी गराएका थिए। विश्वविद्यालयले अन्ततः भ्यालुएसन गर्न लगाएर बीबीएलाई मान्यता दियो। विद्यार्थीले पढ्न पाए।

फेरि अर्को समस्या आइपर्‍यो। एक जना विद्यार्थी अमेरिका पढ्न पुगे। अमेरिकाले पनि तीन वर्षे  बीबीएलाई मान्यता दिन नसक्ने बतायो। तर पछि अमेरिकाले एमबीए पढ्नका लागि थप एक वर्षे ब्रिज कोर्स गराउँदै मान्यता दियो।

अमेरिकापछि बैंककको एआईटी पढ्न गएका विद्यार्थीमा पनि समस्या आयो। सो केस पनि केसीएम आफैँले मिलायो। 'अन्ततः केसीएमको बीबीएले सफलता हात पार्‍यो,'  अधिकारीले भने।

यसरी सबै समस्या झेलेको केसीएमले १७ वर्ष केयूको सम्बन्धनमा र ९ वर्ष एसआइएएमको सम्बन्धनमा अहिलेसम्म १९ सय विद्यार्थीलाई बीबीए पास गराउन सफल भएको छ।

जहाँ पढेथे राजा वीरेन्द्रका कान्छा छोरा निराजन

केसीएम कलेजमा अहिले नेता तथा व्यापारीका छोराछोरीलगायत केही आफैँ व्यापार व्यवसाय गरिरहेकाले बीबीए पढेका छन्। केसीएममा तत्कालीन राजा वीरेन्द्र वीरबिक्रम शाहका कान्छा छोरा निराजन शाहले समेत अध्ययन गरेका थिए।

कलेजमा नेपालका पूर्वअर्थमन्त्रीदेखि पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकलगायतले समेत पढाइरहेका छन्।


प्रकाशित : सोमबार, भदौ १३ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend