शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

साताभर उही बिन्दु वरपर घुमिरह्यो सेयर बजार, आउने साता के होला?

शुक्रबार, भदौ १० २०७९
साताभर उही बिन्दु वरपर घुमिरह्यो सेयर बजार, आउने साता के होला?

काठमाडौं- यो साताभर नै उही बिन्दु वरपर घुमिरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट देखिएको छ। पछिल्ला केही सातायता सेयर बजारमा सुधारको अपेक्षा गरिए पनि अवस्था सुधार हुन सकेको छैन।

शुक्रबार १६.९३ अंकले घटेर बजार २०२२.६२ बिन्‍दुमा झरेको छ। जहाँ १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।

यो साता आइतबार ७.७२ र सोमबार ७.३८ अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार उतारचढावका बीच १.८१ अंकको वृद्धि देखिएको थियो। बुधबार २.८७ अंकको झिनो वृद्धिसँगै बजार २०५७.८५ बिन्दुमा पुगेको थियो।

केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने स्थिरजस्तै बनेको छ। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्। 

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : शुक्रबार, भदौ १० २०७९०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend