शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्थिर बनिरहेको सेयर बजारमा देखिएन अघि बढ्ने संकेत

बिहीबार , भदौ ९ २०७९
स्थिर बनिरहेको सेयर बजारमा देखिएन अघि बढ्ने संकेत

काठमाडौं- पछिल्ला केही सातायता स्थिर देखिएको सेयर बजारले थामिने संकेत गर्न सकेको छैन। यो साताभर पनि उही बिन्दु वरपर घुमिरहेको बजारमा बिहीबार भने गिरावट देखिएको छ।

बिहीबार १८.३० अंकले घटेर बजार २०३९.५४ बिन्दुमा झरेको छ। बिहीबार १ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ १६८ कम्पनीको सेयर मूल्य घट्दा १५ कम्पनीको मात्र मूल्य बढेको छ। ४ कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन। 

बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्। निरन्तरको खबरदारी र केही नीतिगत परिवर्तनपछि पनि लगानीकर्ता उत्साहित नहुँदा बजारले सुधारको स्थायी आधार भेट्न सकेको छैन। केही दिनको उछाल र केही दिनको गिरावटबीच बजारमा उतारचढाव भइरहेको छ। 

यो साता आइतबार ७.७२ र सोमबार ७.३८ अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार उतारचढावका बीच १.८१ अंकको वृद्धि देखिएको थियो। बुधबार बजारमा २.८७ अंकको झिनो वृद्धि देखिएको थियो।

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend