शुक्रबार, चैत १६ गते २०८०    
images
images

लगानी घोषणाको ४ वर्ष : मोट्रेक्ससँग निर्णायक वार्ता गर्दै लगानी बोर्ड

एकाधिकारको सर्त नमान्ने र विद्युतीय सवारीमात्रै बनाउनु पर्ने 

images
images
लगानी घोषणाको ४ वर्ष : मोट्रेक्ससँग निर्णायक वार्ता गर्दै लगानी बोर्ड

मोट्रेक्सले सामान्य छलफल गरिरहेको भए पनि एसेम्बल प्लान्ट स्थापनाको अध्ययनलगायत विषयमा चासो नदिएकाले कम्पनीसँग छिट्टै निर्णायक वार्ता गर्ने तयारीमा लगानी बोर्ड रहेको छ।

images
images

काठमाडौं- कोरियाली कम्पनी मोट्रेक्सले चार वर्षअघि नेपालमा कार एसेम्बल गर्ने घोषणा गरेको थियो। साढे १० अर्ब रुपैयाँ लगानीमा कार एसेम्बल गर्ने भन्दै लगानी बोर्डमा मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको थियो। साढे १० अर्ब रुपैयाँ लगानीमा कार एसेम्बल गर्ने प्रस्ताव गरेको मोट्रेक्सले हालसम्म कुनै प्रक्रिया अघि बढाएको छैन।

images
images
images

मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमा कार बनाउन आवश्यक जमिन, नियम/कानून, सहजीकरणलगायत विषयमा हालसम्म चासो दिएको छैन। दुई वर्षअघि सरकारले मोट्रेक्सलाई बुटवल धागो कार्खानाको जग्गा उपलब्ध गराउने विषयमा छलफल गरेको थियो। 

images

मोट्रेक्सले २०७५ चैतमा नेपालमा सवारी एसेम्बल उद्योग खोल्ने प्रस्ताव गरेको थियो। लगानी बोर्डको ३५औँ बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको थियो। योसँगै बोर्डसँग मोट्रेक्सले २०७६ मंसिर २५ गते प्रारम्भिक सम्झौता गरेको थियो। बोर्डको ४६औँ बैठकले भेहिकल म्यानुफ्याचरिङ एसेम्ब्ली प्लान्टका लागि स्वीकृति दिने निर्णय गरेको थियो। ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगानी बोर्डले स्वीकृत गर्ने व्यवस्था रहेको छ। 

images
images

मोट्रेक्सले सामान्य छलफल गरिरहेको भए पनि एसेम्बल प्लान्ट स्थापनाको अध्ययनलगायत विषयमा चासो नदिएकाले कम्पनीसँग छिट्टै निर्णायक वार्ता गर्ने तयारीमा लगानी बोर्ड रहेको छ। ‘मोट्रेक्ससँग समय समयमा छलफल त भइरहेको छ। तर कम्पनीले प्लान्ट नै स्थापना गर्ने हो भने काम अघि बढाउनु पर्छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले भने, ‘त्यसैले अब मोट्रेक्ससँग हुने छलफलमा प्लान्ट स्थापना गर्न सक्ने वा नसक्ने, गर्ने हो भने कहिलेबाट सुरु गर्ने भन्ने विषयमा निष्कर्ष आउने गरी कुरा हुनेछ।’

मोट्रेक्सले नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने घोषणा गरेपछि त्यसले उत्पादन गरेर प्रतिस्पर्धी बन्ने सक्छ वा सक्दैन भन्ने विषयमा व्यापक बहस भएको थियो, जुन आजपर्यन्त जारी छ। यस्तै बहस ढेड दशकअघि भारतीय सवारी उत्पादक कम्पनी टाटाले नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने योजनासहति अध्ययन गर्दासमेत भएको थियो।

मोट्रेक्सले नेपालमै कार एसेम्बल गर्ने घोषणा गरेलगत्तै नेपालमा विभिन्न कम्पनीको आधिकारिक बिक्रेताका रुपमा कार आयात गर्दै आएका व्यवसायीले समेत एसेम्बल प्लान्ट स्थापना गर्ने भन्दै उद्योग दर्ता गर्नेको लर्को नै लागेको थियो। मोट्रेक्सको घोषणाअघि दुई पांग्रे सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएपनि चार पांग्रे सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएको थिएन। त्यसयता हालसम्म दर्जनभन्दा बढी ४ पांग्रे सवारी एसेम्बल गर्नेभन्दै उद्योग दर्ता भइसकेका छन्। 

माग बमोजिमका सेवा सुविधा नेपाल सरकारले दिए प्लान्ट लगाउन तयार रहेको बताएको मोट्रेक्सले सञ्चालनमा आएको पहिलो वर्ष ५ हजार ८२०, दोस्रो वर्ष ९ हजार ५३०, तेस्रो वर्ष १५ हजार ८० र चौथो वर्षबाट वार्षिक २० हजार वटा सवारीसाधन उत्पादन गर्ने उल्लेख गरेको थियो। कम्पनीले परियोजना सुरु भएको पाँचौ वर्ष र उत्पादन थालेको चौथो वर्षबाट परियोजना ब्रेक इभनमा जाने प्रस्तावमा उल्लेख गरेको छ। कम्पनीले लगानी बोर्डमा एसेम्बल उद्योग स्थापनाको प्रस्ताव गर्दा लगानी स्वीकृत भएर ईआईए र जग्गा निश्चित भएको एक वर्षमा संरचना निर्माण गरेर कार एसेम्बल थाल्ने दाबी गरेको थियो। 

मोट्रेक्सलाई मोतिपुर औद्योगिक क्षेत्रभित्र एक सय रोपनी जग्गा भाडामा दिने विषयमा लगानी बोर्ड, अर्थमन्त्रालयलगायत निकायबीच छलफल भएको थियो। यो जग्गामा एसेम्बल प्लान्ट र गोदाम बुटवल औद्योगिक क्षेत्रमा राख्न दिनेबारे प्रारम्भिक छलपल थियो। 

सवारी एसेम्बलका लागि नेपालमा अहिलेको अवस्थामा सबै सपोर्टिभ एक्सोसिरिजसमेत आयात गर्नुपर्ने हुन्छ। यस्तोमा आवश्यक सपोर्टिभ कच्चा पदार्थ उत्पादन नेपालमा नहुँदा उत्पादन लागत स्वतः बढ्नेछ।

नेपालमा कार उत्पादन गर्ने योजनासहित कोरियाली कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने बताएको थियो। सन् २००१ मा स्थापना भएको मोट्रेक्सले विशेषगरि गाडीमा राखिने इन्फोटेनमेन्ट सिस्टमलगायत पाटपुर्जा उत्पादन गर्दै आएको छ।

उक्त कम्पनीले सवारी उत्पादन गर्दैन। तर अहिलेको समयमा सबै बस्तु एउटै कम्पनीले उत्पादन गर्नुपर्छ भन्ने छैन। नेपालमा सवारी एसेम्बल गर्छु भनेर आएको मोट्रेक्सले एसेम्बलका लागि आवश्यक पर्ने प्रविधि तथा सामान अन्य कम्पनीसँग साझेदारीमा खरिद गरेर ल्याउन सक्छ। यद्यपी मोट्रेक्सले लगानी घोषणा गरेको ४ वर्षसम्म कुनै प्रक्रियाअघि नबढाउनुले कार बनाउँछ भन्ने कुरामा संसय पैदा गरेको छ। त्यसैले लगानी बोर्ड निर्णायक छलफल गर्ने निष्कर्षमा पुगेको हुनुपर्छ। 

कति एसेम्बल उद्योग धान्छ नेपाली बजारले?

हाल नेपाली बजारमा वार्षिक औषत २० हजार कार, जिप तथा भ्यान बिक्री हुँदै आएको छ। १० वर्ष अघिसम्म ८/१० हजारको रहेको कार बजार अहिले २० हजार हाराहारीमा पुगेको हो। नेपालको वार्षिक कार बिक्री वृद्धिदर न्यून नै रहेको छ। कोभिड, तरलतासंकट, कार आयात प्रतिबन्धलगायत कारणले पछिल्ला केही वर्षयता कारको बजार निक्कै खुम्चिएको छ। 

मोट्रेक्सले कार उत्पादन गर्ने बताएलगत्तै हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी समूहले पनि नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गर्ने उद्योग दर्ता गरेको थियो। त्यसयता सुजुकीलगायत दर्जनभन्दा बढी उद्योग चार पांग्रे सवारी एसेम्बल गर्न दर्ता भइसकेका छन्। तर हालसम्म कुनैपनि कम्पनीले उद्योग स्थापनाको प्रक्रिया अघि बढाएका छैनन्। 

एसेम्बल उद्योग सञ्चालनमा ल्याइहाल्नबाट व्यवसायी हच्किनुको मुख्य कारण अस्थिर सरकारी नीति, उत्पादनको सम्भावित महँगो लागत, आयातित कारसँग प्रतिस्पर्धा, प्रतिस्पर्धी गुणस्तर, कति वटा एसेम्बल उद्योग चल्छन् र नेपालमा एसेम्बर गरेर निर्यातको सम्भावना छ/छैनलगायत हुन्। बजार बढ्दो क्रममा रहेपनि एसेम्बल उद्योग सञ्चाल गर्दा कतिवटा उद्योगले वार्षिक कति सवारी उत्पादन गरेर बिक्री वा निर्यात गर्दा फाइदामा जान्छन भन्ने विषयले व्यवसायीलाई अड्काएको छ। 

मोट्रेक्सले गरेको प्रस्तावअनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने थियो। तर २०२२ को अगस्टसम्म आइपुग्दा विस्तृत अध्ययनको त कुरै छाडौं एसेम्बल उद्योग कहाँ राख्नेसम्म टुंगो लागेको छैन। 

एकाधिकार नदिने र विद्युतीयको सर्त

मोट्रेक्सले आफूले नेपालमा एसेम्बल उद्योग सञ्चालनमा ल्याएपछि सरकारले गर्न नपाउने कामहरुको फेहरिस्ताको सर्त अघि सारेको थियो। जसको त्यतिबेला नाडा अठोमोबाइल्स एशोसिएन अफ नेपालले खुलेरै विरोध गरेको थियो।

मोट्रेक्सको सर्त सरकारले मान्ने हो भने ७ वर्षसम्म कार एसेम्बल गर्ने उद्योगलाई अनुमति दिन नपाइने, एफडीआई हो भने १० करोड डलरभन्दा माथिकालाई मात्र स्वीकृति दिन पाउनलेलगायत थिए।  

मोट्रेक्सले राखेका १३ सर्त    

१. सात वर्षसम्म समान प्रकारका अन्य उद्योगलाई लाइसेन्स जारी गर्न नपाउने साथै ७ वर्षपछि लाइसन्स दिएमा पनि कम्तीमा १० करोड डलरको सतप्रतिशत विदेशी लगानीलाई मात्र दिन पाउने। 

२. कर्पोरेट ट्याक्स, डिभिडेन्डमा ट्याक्स तथा भ्याटमा ५ वर्ष पूर्ण छुटको व्यवस्था गर्नु पर्ने।

३. बिजुली र अन्य आवश्यक सामग्रीमा छुटको व्यवस्था गर्नु पर्ने।

४. औद्योगिक क्षेत्रभित्र लाग्ने भाडामा छुटको साथै पहिलो २ वर्षको भाडामा पूर्ण छुट दिनु पर्ने।

५. सहायक कम्पोनेन्टहरु (पाटपुर्जा,उपकरण तथा विधुतीय सामग्री) उत्पादन उद्योग राख्नका लागि सोही लाइसन्समा अनुमति दिनुपर्ने।

६. सम्भावीत लकानीकर्ताका साथै रिसर्च तथा सम्भाव्यता अध्ययनका लागि ६ महिनाको नन्टुरिस्ट भिसा दिनु पर्ने। साथै विदेशी लगानीकर्ता र तिनका परिवार तथा विदेशी कामदारहरुलाई उनीहरुको लगानी रहेसम्म कमर्सियल भिसाको व्यवस्ता गरिनु पर्ने।

७.प्लान्टका लागि बाटो, बिजुली तथा पानीको व्यवस्था सरकारवाट हुनु पर्ने।

८. पुँजीगत सामाग्रीहरु मेसिनरी, प्लान्ट, इक्युपमेन्टलगायत सामानको आयातमा पूरा भन्सार छुटको व्यवस्थाका साथै, उक्त सामाग्रीहरु परिवर्तन गर्दा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने। 

९. प्लान्ट निर्माणका क्रममा मोट्रेक्स नेपाललाई दिइएको कोटामा पूर्ण निर्मित वस्तुको आयातमा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने।

१०. व्यापारीक कार्यका लागि जमिन खरिद गर्ने व्यवस्था तथा सम्पत्ति तथा अन्य करहरुमा पूर्णछुट हुनु पर्ने।

११.ट्रेनिङ र रिसर्च तथा डेभलपमेन्ट फेसिलिटीमा कर छुटको व्यवस्था हुनु पर्ने।

१२. सरकारले अत्यावश्यक उद्योगका रुपमा तोक्नु पर्ने। 

१३. विदेशी कामदारका तलब, भत्ता तथा अन्य आम्दानीहरु विदेशी मुद्रामा उनीहरुको देशमा लान पाउने व्यवस्था गरिनु पर्ने।

मोट्रेक्सका यी सर्तले अन्य चार पांग्रे सवारी एसेम्बल उद्योग आउनै सक्दैन। यस्तो सबै सर्त मान्न नेपाल तयार नहुने संकेत लगानी बोर्डले मोट्रेक्सलाई गराइ सकेको छ। त्यस्तै लगानी बोर्डले गएको जेठ २३ गते बसेको बैठकले मोट्रेक्सलाई विद्युतीय कारमात्र बनाउन दिने निर्णय गरेको हो। बोर्डको बैठकले मोट्रेक्सले यसअघि आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कार उत्पादन गर्ने गरि गरेको लगानी प्रतिवद्धतालाई विद्युतीय गाडी बनाउन गरि आउन आग्रह गरेको हो।

सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएकाले नयाँ खुल्ने एसेम्बल उद्योगले विद्युतीय सवारीमात्र उत्पादन गर्न पाउने व्यवस्था गर्ने तयारीमा सरकार छ। मोट्रेक्सले लगानी बोर्डको विद्युतीय सवारीमात्र उत्पादन गर्नु पर्ने सर्तबारे कुनै प्रतिक्रिया दिएको छैन। अब मोट्रेक्ससँग हुने छलफलमा यो विषय कडाइका साथ राख्ने बोर्डले जनाएको छ। 

images

प्रकाशित : बिहीबार , भदौ ९ २०७९११:१८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ