काठमाडौं- आधुनिक विश्वमा 'शिक्षा' केही जान्नुसँग मात्रै सम्बन्धित छैन। त्यसमा जोडिएका यावत पक्षले विश्व बजारको नापतौलमा अब्बल देखिने आधारहरूको खोजी गरिरहेको हुन्छ। त्यसैले एउटा ढाँचामा बाँधिएको प्रणालीमा ज्ञानवान बन्न कस्तो विद्यालय र कस्ता शिक्षक भनिने प्रश्नले अभिभावकलाई झकझक्याइ रहन्छ।
शिक्षालाई एउटा प्रक्रियाका रुपमा हेर्ने हो भने त्यसका लागि सिकाइको महत्वपूर्ण पाटो हो विद्यालय। शिक्षित बनाउनु, विकसित गर्नु र अघि बढाउनु आधुनिक शिक्षा प्रणालीको अंग हो भने त्यसमा सिकाइ प्रक्रिया शीर्षमा रहनु पर्दछ। ज्ञानशक्तिको विकासका लागि उचित वातावरण भएन भने उच्चकोटीको दरिन मुस्किल नै हुन्छ। त्यसैले शिक्षाका लागि वातावरण र प्रक्रिया मुख्य औजार भइरहेको छ।
यिनै विषयलाई मनन् गरेर पछिल्लो पाँच वर्षयता शिक्षित गर्ने फरक प्रक्रियाको अभ्यास गरिरहेको छ- काठमाडौं वर्ल्ड स्कूलले। भक्तपुर गुण्डूमा रहेको काठमाडौं वर्ल्ड स्कूलले आवश्यक विश्वस्तरीय भौतिक पूर्वाधारसहित विद्यार्थीहरूलाई बन्धनको रुपमा नभइ स्वतन्त्र रुपमा शिक्षासँग जोडिरहेको छ।
काठमाडौं वर्ल्ड स्कूलले यस्तो भिन्न प्रकारको वातावरण दिइरहेको छ जसको प्रभाव बालकको चिन्तन, दृष्टिकोण तथा व्यवहार पर्छ र ज्ञानमा स्थायी रूपले परिवर्तन ल्याउन सक्छ। शिक्षा बलपूर्वक घिचाउनु होइन चिन्तनसँग ज्ञानलाई जोडिदिनु हो भन्ने ज्ञात काठमाडौं वर्ल्ड स्कूलमा देखिन्छ। एउटा गतिशील प्रक्रियामार्फत विद्यार्थीलाई देशकाल परिस्थिति बुझाएर त्यसैअनुसार प्रगतितिर अग्रसर गराइरहेको छ।

सुविधासम्पन्न भौतिक पूर्वाधारसहितको खुला वातावरणमा काठमाडौं वर्ल्ड स्कूलले विद्यार्थीको अन्तर्मनमा निहित गुणको पहिचान गरेर दिग्दर्शन गराइरहेको छ।
'शिक्षामा नौलोपन, फरक सिकाइ र विद्यार्थीले दबाब महसुस नगरुन् भन्ने विषयहरू बारम्बार उठिरहेको पाइन्छ। नेपालमा शिक्षामा धेरै नै परिवर्तन गर्नुपर्ने छ। बोझका रुपमा होइन रमाइलो मानेर पढ्न पाउने हुनुपर्छ भनिन्छ। हामीले तिनै कुराहरूमा विचार गरेर काम गरिरहेका छौँ,' काठमाडौं वर्ल्ड स्कूलका प्रधानाध्यापक केशरबहादुर खुलालले भने।
'काठमाडौं वर्ल्ड स्कूल प्रोग्रेसिभ स्कूल हो। प्रोगेसिभ एडुकेसनको बेसिक नर्म्स भनेको नै खेल्दै सिक्दै गर्नुपर्छ भन्ने नै हो। सिकिरहेको छु भन्ने थाहा भएर होइन कि जसरी एउटा सानो बच्चाले बुबाआमाबाट वरपरको वातावरणबाट भाषा, संस्कार सिकिरहेको हुन्छ, तर उसलाई कहिल्यै पनि मैले यो सिकिरहेको छु भन्ने थाहा हुँदैन। त्यसरी नै पढाइ पनि जानुपर्छ भन्ने प्रोगेसिभ एडुकेसनको पाटो हो,' उनले थप प्रष्ट्याए।
क्रियामूलक ज्ञानमा ध्यान दिइरहेको काठमाडौं वर्ल्ड स्कूलले विद्यार्थीलाई पाठ्यक्रमको बन्धनमा बाँध्ने गरेको छैन। यसका लागि शिक्षामा फरकपन ल्याउने विषय विभिन्न नामबाट आए। विभिन्न सिद्धान्तहरू पनि आए तर सबैको मर्म भनेको जोकोहीले थाहा नभइ धेरै कुरा सिकिरहेका हुन्छन् त्यसरी नै बच्चालाई बोझ महसुस नगराई सिक्दै सिकाउँदै जानुपर्छ भन्ने नै हो। काठमाडौं वर्ल्ड स्कूलले त्यसैमा काम गरिरहेको छ।

'देश विदेशमा प्रक्रियाहरू फेरिइरहँदा सरकारले पनि बुझेको छ कि हामी फरक भएर बसिरहन सक्दैनौँ। त्यसले गर्दा सरकारले पनि केही परिवर्तनहरू ल्याइरहेको छ। तर निजी क्षेत्रले त्यसलाई अझ एक कदम अगाडि लगेको छ। सरकारका आफ्नै सीमितताहरू छन् होला। प्रयास गर्दागर्दै गर्न नसक्ने पनि भएको होला तर निजी क्षेत्रलाई त अलि स्वतन्त्रता छ नि त, त्यसले गर्दा निजी क्षेत्र अगाडि बढिरहेको छ,' खुलालले भने।
पछिल्लो समय नेपालमा 'प्रोग्रेसिभ एडुकेसन' को भिन्नै लहर चलिरहेको छ। अन्य पाटोसँगै यसका लागि महत्वपूर्ण हुन्छ भौतिक संरचना। विद्यार्थीले खेल्दै सिक्दै गर्नका लागि आवश्यक आधारभूत सामग्रीहरूको सुविधा पनि चाहिन्छ नै। साथै चाहिन्छ उही सोच र प्रक्रिया बुझेका शिक्षकहरू।
प्रधानाध्यापक खुलाल भन्छन्- 'मैले जे देखेको छु, जे जानेको छु त्यही नै सिकाउने हो। तर हाम्रोमा त्यही हिसाबले सिकेका शिक्षक त कम छन्। नेपालमा चुनौती भनेको एउटा फरक सिकाइबाट आएका शिक्षकहरूलाई ल्याएर नयाँ तौर तरिकामा अभ्यस्त बनाएर विद्यार्थीलाई सिकाउने गर्नुपर्छ।'

सिकाइको भिन्न शैली अपनाइरहँदा शिक्षण सिकाइ सामग्रीको अभाव भने नरहेको खुलाल बताउँछन्। उनका अनुसार विशेष गरी विद्यालय स्तरसम्म सामग्रीको अभाव छैन, कतिपय ठाउँमा शिक्षकमा सिर्जनशीलताको अभाव भने देखिन्छ। त्यसलाई सुधार गर्नका लागि यो ढाँचा अपनाइरहेका विद्यालयहरूले शिक्षकको तालिम लगायत विषयहरूमा पनि ध्यान दिइरहेका छन्।
'एउटै तरिकाले सिकाउन पर्छ भन्ने छैन। कोही सिर्जनशील छ भने उसले भएकै कुरालाई फरक ढंगले प्रयोग गरेर काम गर्न सक्छ। त्यसकारण सिर्जनशीलता महत्वपूर्ण कुरा हो। अर्को त विद्यालयले शैक्षिक सामग्रीका लागि कञ्जुस्याइँ गर्न भएन। जे चाहिने हो त्यसमा खर्च गर्नुपर्छ भन्ने धारणा ब्यवस्थापन पक्षमा हुनुपर्छ। त्यति भएमा नेपालमै नपाइने शिक्षण सामग्री केही छैन। विश्वस्तरमा केही नयाँ कुरा निस्कियो भने अहिले त नेपाल आइपुग्न समय लाग्दैन। त्यसैले गर्नुपर्छ भन्ने इच्छाशक्ति भयो भने सबै हुन्छ,' उनले भने।
कक्षाको शैली र पाठ्यक्रममा बाँधिएरभन्दा काठमाडौं वर्ल्ड स्कूलले स्वतन्त्र शैली नै अपनाइरहेको छ। एउटा खाकामा रहेर काम गरिरहेका छन्। जे मन लाग्छ गर भनेर छाडिदिँदा पनि लयमा ल्याउन गाह्रो हुने भएकाले कोही कहिँ नपुग्ने गन्तव्यहीन नहोऊन् भन्नका लागि एउटा मार्ग निर्देशन तय गर्ने गरिएको प्रधानाध्यापक खुलाले बताए। 'त्यसमा स्वतन्त्रता हुँदैन भन्ने होइन। त्यसलाई कसरी पढाउने र कति पढाउने भन्ने स्वतन्त्रता शिक्षकमा हुन्छ। हामी आईपीसी (इन्टरनेशनल प्राइमरी करिकुलम) मान्छौँ। जसले एउटा आउटलाइन दिएको हुन्छ। त्यसमा आफ्नो संस्कार, संस्कृति र विश्वस्तर चिन्ने क्षमता पनि हुन्छ,' उनले भने।

काठमाडौं वर्ल्ड स्कूलले परीक्षा, प्राप्ताङ्क र श्रेणिलाई बोझका रुपमा राखेको छैन। एक, दुई र तीन कक्षामा त लिखित परीक्षाको शैली नै राखेको छैन। ४ र ५ मा केही परीक्षाहरू लिने गरेको छ तर त्यसैका आधारमा उत्तिर्ण र अनुत्तिर्णको प्रणाली भने छैन। कक्षा ६ देखि साना साना परीक्षाहरू हुने गरेका छन्। ८, ९ र १० मा सरकारी नीतिअनुसार परीक्षा प्रणाली चलिरहेको छ। तर आन्तरिक मूल्याङ्कनलाई महत्व दिइने भएकाले फरक सिकाइको फाइदा मिलिरहेको देखिन्छ।
काठमाडौं वर्ल्ड स्कूलले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धमा पनि विशेष ध्यान दिने गरेको छ। प्रधानाध्यापकसँग अभिभावको कुराकानी र भेटघाट सहज बनाइरहेको छ। सबैको कुरा सुन्ने र उचित निर्णय लिने अभ्यास गरिरहेको छ। 'हामीसँग विद्यार्थी भर्ना गर्दा अभिभावसँग भेटघाट हुन्छ तर उहाँहरूको अन्तर्वार्ता हुँदैन। विद्यार्थी भर्ना गर्न अभिभावको अन्तर्वार्ताको महत्व हुँदैन। बच्चाको स्थिति कहाँनेर छ भनेर जान्न उसको सामान्य जाँच मात्र लिइन्छ। बच्चाको सबै विषयमा अभिभावकसँग कुराकानी हुन्छ', प्रधानाध्यापक खुलालले भने, 'कसरी के पढाइन्छ भनेर जानकारी दिइन्छ र त्यसमा अभिभावकहरूको भूमिका सम्झाइन्छ। परीक्षा हुँदैन र प्रतिशतमा फोकस छैन भनेर बुझाउँछौँ। अहिलेको नयाँ अभिभावकले त्यो कुराहरू बुझ्नु पनि हुन्छ।'
काठमाडौं वर्ल्ड स्कूलले सबै कक्षामा अभिभावको प्रतिनिधि पनि तोकेको छ। जसले गर्दा सबैको कुरा बुझेर थप छलफल गर्दै अघि बढ्न पनि सहज भइरहेको छ। खाना यातायातदेखि सबै विषयमा कुराकानी हुन्छ। अभिभावकसँग नियमित कुराकानीका लागि एकजना छुट्टै कर्मचारी पनि राखिएका छन्। त्यसका साथै भाइबर, इमेल र ह्वाट्सएप समूहमार्फत पनि अभिभावकसँग नियमित कुराकानी हुन्छ।

'१ देखि १० सम्म पढाउन चाहनेका लागि बच्चाहरू स्वतन्त्र रुपमा मायालु वातावरणमा पढुन् भन्ने सोच हुनु अभिभावकमा जरुरी छ। पढाइमात्र नभएर समग्र विकास होस् भन्ने चाहनेका लागि यो स्कूल राम्रो छ। बच्चाले आफ्नो रुचीअनुसार सिक्न पाउँछ। संगीत, कला, फोटोग्राफी, फरक भाषा जस्ता विषयहरूमा पनि विद्यार्थीहरूले फरक सिकाइ गर्न पाउँछन्। त्यसका लागि छुट्टै शिक्षकहरू छन्' खुलालले सुनाए।
११ र १२ कक्षासहित गरेर काठमाडौं वर्ल्ड स्कूलमा अहिले ८ सयभन्दा बढी विद्यार्थी रहेको प्रधानाध्यापक खुलालले सुनाए। 'अहिले बनिरहेको भौतिक संरचनासहित गर्दा हामीले १४ सय विद्यार्थीलाई पढाउन सक्ने क्षमता छ। छात्रावासमा १४० जना छन्' उनले भने।
नेपालबाट विद्यालय शिक्षाकै लागि किन विद्यार्थीहरू बाहिरिरहेका छन् भन्ने बुझेर नै उही प्रकारको शैली र सुविधासहित काठमाडौं वर्ल्ड स्कूलले नयाँ अभ्यास सुरु गरेको हो। विषयगत ज्ञान मात्रै होइन समग्र सिकाइ र विकास जरुरी हुन्छ भनेर बुझ्नेका लागि काठमाडौं वर्ल्ड स्कूल राम्रो ठाउँ रहेको प्रधानाध्यापक खुलाल बताउँछन्।
'एउटा इन्टरनेशन स्कूलले दिन सक्ने सबै सुविधा यहाँ छ। हामीले त्यो गुणस्तर यहाँ दिन खोजेका छौँ। ११ र १२ कक्षामा सस्तो पनि छ। काठमाडौंका अरू नाम चलेका कलेजमा जति छ हाम्रोमा त्यति नै हो। साना कक्षामा महँगो शुल्क तिरेर पाएका सुविधा ११ र १२ कक्षाका विद्यार्थीले सस्तोमा पाइरहेका छन्। ११ र १२ कक्षाका व्यवस्थापन र विज्ञान पढिरहेका विद्यार्थीहरू साढे ८ बजे आएर ३ बजेसम्म बस्छन्। अरू सिकाइका क्रियाकलापमा पनि उनीहरू सहभागी भइरहन पाउँछन्' उनले भने।

ठूलो संस्था भएकाले शिक्षकहरूलाई राम्रो तलब सुविधा दिइरहेको व्यवस्थापनको भनाइ छ। जसका कारण शिक्षकहरू पूरा समय नै विद्यालयमा हुन्छन् र राम्रो मेहनत गरिरहेका छन्। अभिभावकबाट शुल्क लिएअनुसार नै सुविधा दिइरहेको र आर्थिक लाभमात्र हेर्नु हुँदैन विद्यार्थीको सुविधा र सिकाइमा ध्यान दिनुपर्छ भन्ने बुझेर नै अगाडि बढिरहेको स्कूल व्यवस्थापनको भनाइ छ। व्यवस्थापनले अब उपत्यकाबाहिर पनि स्कूल सुरु गर्ने सोच बनाइरहेको छ। आउने कात्तिकसम्ममा गुण्डूमा भौतिक पूर्वाधारको सबै काम सकेर उपत्यकाबाहिर केही ठाउँमा सहकार्य गरेर अघि बढ्ने गरी कुराकानी पनि भइरहेको छ।
काठमाडौं वर्ल्ड स्कूलले उपत्यकाबाहिर विद्यालय विस्तार गरेमा त्यसको फाइदा शिक्षा प्रणालीलाई हुने नै छ। किनभने त्यहाँ विद्यार्थीहरूमा दबाबमा छैनन्। उनीहरू स्वतन्त्र महसुस गरिरहेका देखिन्छन्। तनावमा छैनन्। पढाइको तौरतरिकासँगै पाएका सुविधाहरूले पनि उनीहरूलाई खुसी राखेको छ। त्यसैले राम्रो विद्यालय शिक्षाका लागि अन्य विषयसँगै वातावरणले पनि ठूलो फरक पार्ने रहेछ। जति खुला ठाउँ उति नै खुला सोच। उस्तै दूरदृष्टी। उस्तै पूर्णता। विवेकानन्दले पनि त भनेका छन् 'शिक्षा मनुष्यभित्र सन्निहित पूर्णताको प्रदर्शन हो।'