काठमाडौं- सेयर बजारमा जुन किसिमको वृद्धि भएर अहिले घट्न थालेको छ, यसमा दुई तीनवटा कुराले बढी प्रभावित पारेको देखिन्छ। पहिलो कुरा बजार बढिरहेको समयमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर लिने ऋणको सीमा तोक्ने काम गर्यो। यसले ठूलो ऋण लिएर लगानी गर्नेहरूलाई डर उत्पन्न गरायो।
अब त्यो ऋणलाई राष्ट्र बैंकले तोकेको सीमामा झार्नका लागि आफूसँग भएको सेयर बिक्री गर्नुपर्ने दबाब ऋणीहरूलाई सिर्जना भएको छ। जुन कुराले बजारमा बिक्री चाप बढायो। जुन कम्पनीको सेयर धितोमा राखेका थिए, ती कम्पनीका सेयर बिक्रीमा आयो। अर्को, ऋणै नलिने लगानीकर्ताहरूलाई पनि सीमा तोकेपछि ठूलाले सेयर थप किन्नेभन्दा बिक्री गर्न थाल्छन् जसको कारण बजार थप घट्ने हो कि भन्ने मनोबैज्ञानिक प्रभाव पारेको छ। जस्का कारण बजारमा बिक्री चाप बढेको हुन सक्छ ।
यही समयमा बैंकिङ क्षेत्रमा तरलताको समस्या आयो। समस्या मात्रै भनेको भए केही हुँदैन थियो। तर ब्याज नै वृद्धि भइसकेको छ। ब्याज बढेपछि लगानीकर्ताले भविष्यमा बजार बढेर ऋण तिर्नुभन्दा सेयर बेचेरै ऋण तिर्दा सस्तो पर्ने देखेका हुन सक्छन्। अर्को कुुरा बैंकहरूले ब्याज नै बढाएपछि ब्याजको प्रभाव अर्को ६ महिनादेखि १ वर्षसम्म जान सक्ने सम्भावनाको अनुमान लगानीकर्ताले गरेका हुन सक्छन्।
तेस्रो कुरा पहिलो त्रैमासिकको ऋणको ब्याज तिर्ने दबाब समेत असोजमा पर्ने गर्छ। सेयर तरल सम्पत्ति भएकोले जुनसुकै उद्देश्यले ऋण लिनेले पनि भएको सेयर बिक्री गरेर ब्याज तिर्ने गर्दछन्। विगतमा पनि ब्याज तिर्ने समय जस्तो हरेक त्रैमासिकको अन्त्यमा सामान्यत: बजार घट्ने गरेको पाइन्छ। यही दबाबमा अहिले बढेर गएको सेयर करिब १८ प्रतिशत हाराहारीमा घटेको छ।
सेयरको वृद्धि स्वभाविक
सेयर कारोबारमा कृत्रिम, अस्वभाविक भन्ने हुँदैन। यी सबै भ्रम र हल्ला मात्रै हुन्। तर हाम्रो कारोबार प्रणालिको कमजोरीका कारण फेक माग र आपूर्ति भने देखाउने गरेको पाइन्छ । केही दिनयता बैंकहरूले कृत्रिम निक्षेप बढाएका समाचारहरू पनि आइरहेका छन्।
बैंकहरूले गरे जस्तो किसिमको फन्डा सेयर बजारमा देखिँदैन। सेयर भनेको खरिद र बिक्री अर्डर देखिने गरेर कारोबार हुने विषय हो। सेयरको मूल्य बिक्रीको चाप बढेपछि घट्छ। खरिदको चाप बढेपछि बढ्छ। यो त सर्वमान्य र स्वभाविक विषय हो।
किन्नेहरू धेरै आइरहेका छन् भने कस्ले घटाएर बिक्री गर्न चाहन्छ्? त्यस्तै बिक्री गर्नेहरू धेरै भए भने खरिद गर्नेहरू घटाएर किन्न खोज्छन। बढ्न त उनीहरू चाहदैनन्। त्यसैले यो कृत्रिम भन्ने हुँदैन।
राजनीतिक परिवर्तनको असर
सेयर बजारमा राजनीतिक परिवर्तनले असर पार्ने भन्ने कुरा चौतारीका चिया गफ मात्रै हुन्। यो पार्टी आउँदा बढ्छ, अर्को पार्टी आउँदा घट्छ भन्ने कुराहरू भ्रम मात्रै हुन्। जस्तै काँग्रेसको सरकार आयो भने बढ्छ भनेर हल्ला चलाइन्छ। अहिले काँग्रेसकै सरकार त छ नि, तर सेयर बजार घटेको छ। उता कम्युनिष्ट सरकार आउँदा घट्छ भनेर हल्ला गरिन्छ तर दुबैपटक सबैभन्दा बढी अंक कम्युनिष्ट सरकारकै पालामा बढेको छ।
यस्तो कुरा भनेको एक दुई दिन सट्टेबाजी गर्नका लागि हुने हो। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालयले कुन नीति लिए र कम्पनीको अवस्था कस्तो छ सोहीअनुसार सेयर बजारमा उतारचढाव आउने हो। कम्पनीहरूको अवस्था, बैंकहरूसँग हुने तरलता, ब्याजदर लगायतले नै बजारलाई दिशानिर्देश गर्ने हो।
अहिलेको कुरा गर्दा बजार बढ्न सुरु गरेको समयको स्थिति हेर्ने हो भने बैंकको ब्याजदर तल-तल आएको थियो। १३ प्रतिशतको ब्याज ७ प्रतिशतमा आएको थियो। जसले बजार बढाउन एक प्रकारको शक्ति प्रदान गरेको थियो। लगानीकर्तामा पनि त्यसको सकारात्मक असर गरेको हुनुपर्छ।
तर, अहिले सेयर बजारमा १८ प्रतिशत हाराहारीको गिरावट आएको छ। चाडबाडको दबाब, तरलता अभाव, बैंकहरूको ब्याज बढ्नु तथा ऋणको त्रैमासिक अवधिको ब्याजदरको दबाबले पनि बजार घटाएको हो।
सेयर बजारको प्राविधिक विश्लेषण हुन्छन्। लगानीकर्ताको आ-आफ्ना विश्लेषण गर्ने तरिका पनि हुन्छन्। यसमा धेरै विधि अपनाएर प्राविधिक विश्लेषण गरिन्छ। चार्टहरू फरक-फरक ढंगले हेरिन्छ। आ-आफ्नो धारणा ल्याइन्छ। बजार बुलमा गएर फेरि केही झरेको अवस्था छ। अल्पकालमा सानातिना उतार चढाव देखिए पनि दीर्घकालमा बजार विगतको भन्दा माथि नै जाने हो ।
बजार ३२ सयबाट तल झरेको छ। अब बजार घट्ने भनेको फेरि २ सय ९२ मा आउने होइन। बजारले आधार बनाएको हुन्छ। सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण को आकार पनि बढ्दै गइरहेका हुन्छन्। बजार केही घटे पनि यसपछिको उचाइ भनेको ३२ सयभन्दा माथि हो। त्या उचाइमा पुग्न कति समय लाग्छ र कहिले भन्ने कुरा गफ गर्ने माध्यम मात्रै हो। अनुमान गरिए पनि यकिन गर्न सकिँदैन।
संसारका सबै लगानीकर्तामा बजार घट्दा एक प्रकारको मनोवैज्ञनिक त्रास हुने गर्छ। नेपालमा मात्रै नभएर युरोप, अमेरिका, क्यानडा जहाँ पनि साना कुराहरूले लगानीकर्तामा मनोवैज्ञानिक असर पार्ने गर्छ।
संसारभर नै सेयर बजारमा नयाँ लगानीकर्ताहरू हर समय आइरहेका हुन्छन्। नयाँ आउनेले बजारका बारेमा धेरै कुरा बुझेको हुन्छ भन्ने हुँदैन। बजार लाई बढीभन्दा बढी सूचनाहरूले प्रभावित पार्ने गर्छ। विश्वमा नै अहिले सामाजिक सञ्जाल लगायत विकशित प्रविधिको माध्यमबाट समाचारहरू छिटो प्रवाह हुने र लगानीकर्ता बीचमा पुग्ने गरेको छ। र यो सबैभन्दा बढी कम मूल्यमा सूचना पाउने माध्यम पनि हो।
बजारका बारेमा कम अनुभव भएका वा अनुभव नै नभएकाहरू सतही सूचनाको पछि लाग्छन् र छिटो निर्णयमा पुग्छन्। तर जहाँ जे भए पनि लगानीकर्ताको निर्णय आफ्नै हो। अहिले कतिपय लगानीकर्ताहरू कहाँ जाँदै छु भन्ने कुरा ख्याल नगरी लगानी गर्ने पनि गरेका छन्। उद्देश्य स्पष्ट नभइ गरिएको लगानीले गलत बाटोमा पुर्याउँछ। यसले हाम्रो लक्ष्य पूरा गर्न मद्धत गर्दैन।
लगानी किन गरेको भन्ने पश्नमा धेरैको जवाफ नाफा कमाउन भन्ने हुन्छ। लगानीमा सबैको उद्देश्य नाफा कमाउने नै हो तर कसरी भन्ने कुरा महत्व पूर्ण हुन्छ। नाफा कमाउनका लागि छोटो समयलाई लगानी गर्ने कि, लामो समय होल्ड गरेर पैसा कमाउने भन्ने हो। नाफा दिएको कम्पनीमा मात्र लगानी गरेर नाफा कमाउने हो कि अथवा के भन्ने स्पष्ट हुनु पर्छ। कोही घाटामै गएको कम्पनीमा सट्टेबाजी जसरी लगानी गर्ने पनि छन्। लगानीकर्ताले आफूले किन, कसरी, कति पैसा लगाएर र कस्तो जोखिम मोलेर लगानी गर्ने भन्ने स्पष्ट हुनु पर्छ। कता जाँदै छु भन्ने उद्देश्य लिएर मात्रै अगाडि बढ्नु पर्दछ।
लगानीको जोखिम
लगानीकर्ताका आ-आफ्ना उद्देश्य हुन्छन्। सेयर बजार तल घट्दै जाँदा अधिकांश हाइड्रो पावरको सेयर १ सय भन्दा तल झरेको थियो। कतिको ५० रुपैयाँ हाराहारीमा आए। जति घट्दै जान्छ त्यति मनोवैज्ञानिक असरले बिक्री गरेर अन्यत्र लगानी सार्ने गर्दछन्। कति लगानीकर्ताहरू सहनै नसकेर बिक्री गरेका हुन्छन्।
आज १ सय जना लगानीकर्ताले सेयर बिक्री गर्दैछन् भने १ सय जनाकै उद्देश्य फरक फरक हुन्छन्। अर्को कुरा के हुन्छ भने बढ्दो बजारमा पहिला राम्रा कम्पनीको सेयर खरिद गरिन्छ। र विस्तारै कम मूल्यका कम्पनीको मूल्य बढेको पाइन्छ। घट्दो बजारमा वित्तीय रुपमा कमजोर कम्पनीको मूल्य छिटो घट्ने र राम्राको ढीला घट्ने पनि हुन्छ।
लगानीकर्ताहरू राम्रा कम्पनीको सेयर तुलनात्मक रुपमा बढी बढेपछि कम मूल्यभएका सेयरतिर आर्कषित हुने गर्दछन्। कम मूल्यको किन्दा बढेर धेरै नाफा लिने उद्देश्य पनि हुन सक्छ। त्यही भएर वित्तीय पक्ष कमजोर भएका कम्पनी को पनि निरन्तर मूल्य बढेको पाइन्छ। जस्तोसुकै कम्पनीको मूल्य जुनसुकै मूल्यमा किनबेच भए पनि सबै कुरा लगानीकर्ताको मनस्थिति र निर्णयमा भर पर्ने विषय हुन्।
साना कम्पनीमा कर्नरिङ
कुन कम्पनीको सेयर बढी/घटी कति हुने भन्ने लगानीकर्ताको बुझाइ, हेराइ र निर्णयमा भर पर्ने कुरा हो। ९ सयमा खरिद गर्नेले यो मूल्य ठीकै हो भन्ने लागेर किनिरहेको हुन्छ भने कसैलाई सोही ९ सय रूपैयाँ महँगो लागिरहेको हुन्छ। जस्तो अहिले हाइड्रोपावर, विकास बैंंक, लघुवित्तहरूको सेयर बढी भयो तर वाणिज्य बैंकहरूको सेयर माथि गएन भन्ने विश्लेषण गर्ने पनि छन्।
बजारमा सेयर कर्नरिङ भयो भन्ने पनि छ। एउटा समूहले थोरै कित्ता सेयर भएका कम्पनीहरूमा दुईचार समूह मिलेर खरिद बिक्री गरेर उचाल्ने गरेको पनि हल्ला सुनिन्छ। कानूनमा कर्नरिङ गर्न पाइन्न भन्ने छ। तर कसरी पत्ता लगाउने भन्ने छैन। कानूनमा एउटा परिवारले कुनै कम्पनीको १५ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्न मिल्दैन भन्ने छ।
तर यहाँ नाता नै नभएका समूह मिलेर ३० प्रतिशत सेयर किन्छन् भने त्यो प्रमाणित गर्न गाह्रो हुन्छ। गलत नियतबाट यसरी सेयर किनेर बजारलाई प्रभावित पार्न खोजिएको हो भन्ने पुष्टि नभएसम्म कानूनले दिएको सीमाभित्र बसेर गरिएको कारोबार कानूनसम्मत नै हुन्छ।
धेरै सेयर संख्या भएका कम्पनी जस्तो बैंकमा यो सम्भव छैन। साना र तुलनात्मक रुपमा कम सेयर भएका कम्पनीहरूमा यस्तो तरिकाले सेयरको अभाव गरेर मूल्यलाई प्रभावित गरिन्छ। त्यसपछि साना कम्पनीको सेयर मूल्य अस्वभाविक लाग्न सक्छ। अन्य लगानीकर्ताहरू त्यसैमा केन्द्रित हुने गर्दछन्।
सेयर कुनै समूह मिलेर आफूतिर केन्द्रित गरि सकेपछि मूल्य निरन्तर बढेको देखाउनका लागि अनलाइन कारोबारले अझ सजिलो बनाएको छ। दुईजना सँगै बसेर एक जनाले कानूनी सीमाभित्र बसेर उच्च मूल्यमा न्यूनतम कित्ता बिक्रीमा राख्ने र अर्कोले सोहि मूल्यमा खरिद गर्दै जाने गरि केही समय (बजारमा माग नबढुन्जेल) मूल्य बढाउने र राम्रो माग आउन थालेपछि भएको सबै सेयर बिक्री गरेर बजारबाट बाहिरिने पनि हुन्छ।
दैनिक दश/दश प्रतिशत बढेको आधारमा लगानीकर्ताहरू त्यसमै झुम्मिने गर्दछन्। अनि त्यस्ता कतिपय कम्पनीहरूको सेयर मूल्य अनुमान गरेभन्दा उच्च हुने गर्दछ। देख्दा कानूनसम्मत छ, तर नियत गलत छ। तर कसरी थाहा पाउने?, अनि यस्ता कुरा छानबिन गर्न गाह्रो हुन्छ। यसका लागि नियामक निकायले प्रविधिमा अर्टिफिसियल इन्टेलिजेन्स तथा डाटा एनालिष्टको प्रयोग गर्न सक्नु पर्छ तर नियामकमा यो सोच देखिँदैन।
वाणिज्य बैंकहरूमा ठूलो संख्यामा सेयर हुन्छ जसका कारण यी कम्पनीमा सेयर कर्नरिङ गर्न असम्भव जस्तै छ। अर्को कुरा वाणिज्य बैंक, विकास बैंक, फाइनान्सहरूले लघुवित्तबाहेकका अन्य बैंक तथा वित्तीय सँस्थाको सेयर किन्न पाउँदैनन् जसका कारण पनि बैंकको सेयरको भन्दा अन्य क्षेत्र जस्तो हाइड्रो, बीमा, लघुवित्तको सेयर तुलनात्मक रुपले बढी माग भएको हुनुपर्छ।
सेयर बजारको अंक धेरै वा थोरै भो भनेर नाप्ने आधार छैन
कतिपय विश्लेषक मात्रै नभएर राजनीतिक दलका नेताहरू, नियामक निकायका मान्छेले पनि सेयर बजारको आकार ठूलो भयो, नेप्से परिसूचक धेरै बढ्यो भनेर हल्ला गर्ने गरेका छन्। सेयर परिसूचक गणनाको प्राविधिक पक्षको वास्तविकता नबुझी बोल्दिने चलन छ।
सूचकहरू कसरी प्रभावित हुन्छ, वास्तविकता नबुझेपछि कसैले सुनेको भरमा धेरै भो भन्दिने, अप्राकृतिक भनेर भन्दिने चलन छ। यसका आधारमा सेयर परिसूचक यति हुनु पर्छ योभन्दा तल भए कमै छ वा योभन्दा माथि गए धेरै भयो भनेर नाप्ने वा मूल्यांकन गर्ने आधार मैले अहिलेसम्म भेटेको छैन। तर कुनै कम्पनी विशेषको मूल्यको विश्लेषण गर्न भने धेरै टुल्सहरू विकास भएका छन्।
प्राविधिक सुधार गर्दा नयाँ रेकर्ड
प्रविधि भनेको अब सुधार गरेर सकियो भन्ने हुँदैन। निरन्तर सुधार हुँदै जाने भन्ने कुरा हो। कोरोना महामारीपछि नेपालको सेयर बजारमा प्रविधिले छलाङ मारेको छ। दुईवटा कुराले लगानीकर्तालाई स्वतन्त्रता प्राप्त भयो।
पहिले ब्रोकरलाई किन्दे र उसैलाई बिक्री गरिदेऊ भन्ने जुन किसिमको टाउको दुःखाइको विषय थियो, अनि एउटा ब्रोकरले एउटा कम्प्यूटरबाट १०औँ हजार लगानीकर्ताहरूको कारोबार गर्दिनुपर्ने त्यो अवस्थाबाट एउटा लगानीकर्ताले मुक्ति पाएको जस्तै भयो। त्यो एउटा लगानीकर्ताका लागि पीडा, निराशाको विषय जस्तै अवस्था थियो।
अब आफ्नै हातबाटै आफैँ खरीद बिक्री गर्न पाउँदा हरेक कुराबाट स्वतन्त्र भएको हो। लगानीकर्ता कतिसम्म स्वतन्त्र भए भने आफूले मन लागेको किन्ने अथवा बिक्री गर्ने र मूल्य पनि आफैँ राख्ने, सच्याउने अथवा हटाउन सक्ने भए।
दोस्रो कनेक्ट आईपीएस सुरु भएसँगै पैसा बैंक खाताबाट सिधै ब्रोकरको खातामा सारेर कारोबार गर्न सकिने भयो त्यसले चाँहि भुक्तानीका लागि सहज पहुँच बनाइदियो। राजनीति गर्नेहरूको भाषामा भन्दा पेमेन्टमा एक किसिमको क्रान्ति नै आयो।
पुराना पुस्ताहरूलाई कम्प्युटर चलाउन कमैआउने, नयाँ पिँढीहरू भने प्रविधिमैत्री छन्, सूचना लिने र त्यसको विश्लेषण गर्न पनि उनीहरू निकै अगाडि छन्। अब नयाँ पुस्ताले के गरे भने एउटा निश्चित समूह तथा जनसंख्याको बैंंकमा थन्किएर बसेको पैसालाई बजारमा ल्याइदिए। त्यसरी ल्याउनेमा पुराना पुस्ताका छोरा छोरी नाति नतिनीहरू छन्।
सेयरको अनलाइन कारोबार र कनेक्ट आइपिएसले विदेशमा बस्नेहरूका लागि पनि सेयर कारोबार गर्न सजिलो भएको छ। विषेश गरी कोरियामा बस्ने नेपालीहरूले बढी लगानी गरेको देखिन्छ। यसले मार्केटमा अझ बढी नै तरलता सिर्जना गरेको हो।
सामान्यत प्राविधिक परिर्वतनपछि सेयर बजारमा एक किसिमको बुल तथा वृद्धिको समय देखापर्छ। जस्तो यहाँ डिम्याटको सुरुवात भइसकेपछि मार्केट उचाइ (पीक)मा पुगेको हो। त्योभन्दा अगाडि ब्रोकरहरू कराएर सेयरको कारोबार गर्ने प्राणालिको २०६४ सालमा अन्त्यसँगै कम्प्युटरबाट कारोबार गर्न सुरु गरे पछि २०६५ सालमा पनि बजार उचाइमा पुगेको थियो। अहिले अनलाइन कारोबार सुरुवात भएपछि पनि त्यही भएको हो।
बैंकलाई सेयर कारोबार खुला
सेयरको कारोबार गर्ने अनुमति (ब्रोकर लाइसेन्स) कसलाई दिने वा नदिने भन्ने कुरा हुँदै होइन। लाइसेन्स लिनका लागि कानूनले पुँजि लगायतका विषय सहित केही आवश्यकता तथा प्रावधानहरू तोकिदिएको छ। अहिलेका ब्रोकरहरू पनि निश्चित मापदण्ड पूरा गरेरै आएका छन्।
त्यो मापदण्ड पूरा गर्ने कसैले ब्रोकर लाइसेन्स माग्छ भने दिने हो। भविष्यमा प्रतिस्पर्धामा कुनै ब्रोकरले कारोबार गर्न सकेन टाट पल्टिने वा बन्द हुन्छ भने त्यो बजारको सिद्धान्तअुनसार टिक्न नसक्ने बन्द हुन्छन्। सबैलाई बचाएर राख्नुपर्छ भन्ने त छैन नि, यो त प्रतिस्पर्धात्मक बजारको कुरा हो र खुला अर्थतन्त्रको विषय पनि हो।
बैंकले ब्रोकर लाइसेन्स लिने भन्ने कुरा २०७२ सालमा उठाइएको हो। जब डिम्याटको कुरा आयो, त्यसबेला यो पनि काठमाडौं उपत्यकाभित्र मात्रै सीमित थियो। तर प्राथमिक बजारमा सेयर भर्नेहरू मेचीदेखि महाकालीसम्म छरिएका थिए। हाइड्रोपावरको सेयर त गाउँमै पुगेको छ। त्यसको सेयर पनि डिम्याट गर्नुपर्यो। डिम्याट गर्न र सेयर बिक्री गर्न फेरि पनि काठमाडौंमै धाउनु पर्ने अवस्था भयो।
बैंकका शाखाहरू गाउँगाउँ पुगेका छन् भने उसले त्यही गाउँको शाखाबाट डिम्याट गर्छ र त्यहीबाट सेयर कारोबार गर्ने वातावरण पनि बन्न सक्छ। सबैले अनलाइनबाट आफै किनबेच गर्न सक्छ भन्ने त छैन नि!
अहिले आएर नियामक जस्तो स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड लगायत वर्तमान ब्रोकरको मानसिकता अनलाइन भइसक्यो किन चाहियो थप ब्रोकर लाइसेन्स भन्ने पनि देखिन्छ। सेयर बजारमा त्यस्तो जनसंख्या पनि छ, जो आफूले कारोबार गर्दैन ब्रोकरमार्फत नै गर्न चाहन्छ वा ब्रोकरले नै गरिदिनु पर्ने वाध्यात्मक अवस्था पनि छ उसको सहज पहुँचको लागि पनि थप ब्रोकर लाइसेन्स को आवश्यकता छ।
बैंकले ब्रोकर लाइसेन्स पाए लगानीकर्तालाई आवश्यक धेरै सुविधाहरू एकै ठाउँ हुन्छ। यसले लगानीकर्तालाई झनै सजिलो बनाउने हुन्छ भने बजारमा कारोबार बढाउन तथा तरलता सिर्जना गर्न थप सहयोग पुग्छ। सँगसँगै रोजगारी पनि सिर्जना हुन्छ ।
बैंक उसैले ऋण दिने, लगानीकर्ताले त्यही खाताबाट ऋण अप्लाइ गर्छ भने बैंकले ऋण दिने नदिने तुरुन्तै निर्णय गर्न सक्छ। सेयर पनि त्यही छ, धितो पनि त्यही राख्ने हो। उसलाई कति ऋण दिने, उसँग कतिवटा कम्पनीको सेयर छ र धितोयोग्य सेयर कति छ र मार्जिनमा उसको क्षमता कति हो? भन्ने विषयको मूल्यांकन बैंकले गर्छ।
बैंकबाट मार्जिन ट्रेडिङ पनि सजिलो हुन्छ। मार्जिन ट्रेडिङ गर्न ब्रोकरहरूले किन सकिरहेका छैनन् र तयार छैनन् भन्दा उनीहरूसँग मार्जिन ट्रेडिङका लागि लगानीकर्तालाई ऋण दिने क्षमता नै छैन। २-४ करोडको पुँजि बोकेर अर्बौं कारोबार हुने बजारमा लगानीकर्ताको मागलाई धान्न पनि सकिँदैन। त्यसका लागि त बैंकमा नै जानुपर्छ। कि त ब्रोकरले बैंकलाई विश्वासमा लिएर रकम ल्याउन सक्नु पर्यो, होइन भने अन्ततः बैंक नै चाहिन्छ।
बजारको थप विस्तार र दायरा बढाउने हो भने बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्ने हुन्छ। यसले सेयर बजारलाई अझ ठूलो, विस्तारित र प्रविधियुक्त बनाउँछ। यहाँ नयाँ ब्रोकर ल्याउने कुराहरूमा धितोपत्र बोर्डका निलम्बित अध्यक्षको मानसिकता र स्वार्थ अर्कै छ। उनीहरू पैसा बटुल्ने माध्यम मात्रै खोजिरहेका छन्। यसबाटै बैंकलाई ब्रोकर लाइसेन्स दिनबाट रोकिएको हो।
उनीहरूको स्वार्थ भनेको बैंकभन्दाबाहिर गएर व्यक्तिगत रुपमा ब्रोकर लाइसेन्स दिने देखिन्छ। बैंकले त घुसको रुपमा रकम दिँदैनन्। तर, यसका लागि व्यक्ति त तयार हुन्छ। हो, यो स्वार्थबाट काम गर्न खोजिराखेको देखिन्छ। व्यक्तिसम्म पुग्न सकियो भने रकम लिन सकिन्छ। यो त संस्कार नै भइसक्यो।
बैंकलाई लाइसेन्स नदिने हो भने बजार अझै साँघुरो रहिरहन्छ । ब्रोकर त नयाँ आउलान् तर बजार जति फराकिलो हुनुपर्ने हो त्यो हुँदैन। किनभने जुन दायरामा अहिलेका ब्रोकरले काम गरेका छन्, त्यसैमा थपिने हो, यसले बजार बढाउँदैन।
उदाहरणका लागि अमेरिकामा बस्ने ईच्छुक लगानीकर्तालाई पनि म तेरो लागि सबै काम गर्न तयार छु र सबै सिस्टम तयार छ भनी ब्रोकरले भन्न सक्नुपर्यो। यो क्षमता भने बैंकसँग नै हुन्छ। ब्रोकरले पनि गर्न सक्ने ठाउँहरू हुन सक्छन्, तर उनीहरू व्यक्तिगत, पारिवारिक हिसाबले बढी चलेका छन् त्यसैले पनि उसमा वृद्धिको सम्भावना हेर्ने भन्दा पनि थोरै पुँजी लगाएर बढीभन्दा बढी नाफा कमाउन खोज्ने प्रवृति रहन्छ।
कालोधनको हौवा
समय समयमा कालोधनको बारेमा सबैभन्दा बदमास कुरा गर्नेमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र यिनका प्रतिनिधिहरू नै देखिन्छन्। केही वर्ष यता एउटा व्यक्तिले सेयर किन्दा कहिले पनि ब्रोकरसँग नगदमा डिल गरेको हुँदैन। उसले खल्तिभरी नगद बोकेर गएर ब्रोकरलाई बुझाउने र ब्रोकरहरूले नगद नै लिएर सेयर किनिदिने कुनै पनि अवस्था अहिले छैन।
जति सेयर किने पनि कि चेक दिने वा कि त बैंकको खाताबाट रकम ब्रोकरको खातामा सार्ने हो भने सेयरमा कस्तो लगानी कसरी आइरहेको छ भन्ने स्पष्ट हुन्छ। बैंकबाट नै लगानी (पैसा) आएको छ। बैंकमा आउने वा जम्मा हुने पैसाको गेट किपिङ जहिले पनि बैंकले गर्ने हो।
यदि सेयर बजारमा कालोधन आएको छ भने सबैभन्दा पहिला बैंकमा नै कालोधनको प्रवेश भएको हुनु पर्छ । बैंकमा कालोधन छ भने त्यो हेर्ने काम सम्बन्धित बैंक तथा राष्ट्र बैंकको हो। बोर्ड वा नेप्सेको हैन। नियामक निकायले निगरानी राख्न सक्छ तर अर्काको क्षेत्राधिकारको विषयमा बोलेर बजारलाई प्रभावित गर्ने र लगानीकर्तालाई अनावाश्यक त्रसित बनाउन पाइँदैन।
कालोधन कहाँबाट सेयर बजारमा छिर्यो त? बैंकिङ च्यानलमा भएको पैसा त हो सेयरमा आउने। बैंकिङ च्यानलमै कालोधन छ, भने त्यो बेग्लै कुरा भयो। त्यसमा अनुसन्धान गर्ने धितोपत्र बोर्ड पनि होइन र नेप्से पनि होइन। यदि कसैले त्यो कुरा उठाउ छ भने नेप्से तथा बोर्डले भन्न सक्नुपर्छ, हामी नगदमा कारोबार गर्दैनौं सबै पैसा बैंकिङ च्यानलबाट आउने हुनाले बैंकिङ च्यानलमा छिर्ने पैसाको नियमन निगरानी केन्द्रीय बैंकले गर्ने हो हामीले हैन।
लगानीकर्तालाई सुझाव
बजारमा लगानीकर्ता जतिधेरै आउँछन्, त्यो त धेरै राम्रो कुरा हो। खर्च भनेको गरेपछि सकिन्छ। तर लगानी भनेको बचत गर्न तथा भविष्यमा बढाउनका लागि हो। त्यो हुनु लगानीकर्ता आफै र बजारका लागि सकारात्मक कुरा पनि हो। अर्को राम्रो कुरा एउटा निश्चत वर्गले कमाइ रहेको नाफा आम जनमानस तथा गाँउ गाँउ पुग्नु पनि हो।
अहिले १० कित्ता सेयरको बाँडफाँड नीतिले केही व्यक्तिले पाउने सेयर धेरै मानिसको हातमा एकै पटक पुगेको छ। कम्पनीबाट एक जनाले पाउने नाफा १० जनामा पुगेको छ। सबै मानिस आईपीओ भर्ने उद्देश्यले मात्रै पनि आएका छैनन्। कति लगानीकर्ताहरू बैंकमा जम्मा गरेर राखेको पैसा दोस्रो बजार मार्फत सेयरमा लगानी गर्ने उद्देश्यले पनि आएका छन्।
कतिपय गर्दै/सिक्दै जाउँ भनेर पनि आएका छन्। यसले बजारलाई विस्तार गर्ने वातावरण बनाएको छ। जुनसुकै उद्देश्यबाट बजार छिरेपनि लगानीकर्ताले सामान्य अध्ययन चाहिँ गर्नै पर्ने हुन्छ। अध्ययन निरन्तर प्रकृया हो। दुनियाँमा जहाँ लगानी गरे पनि निर्णय लगानीकर्ताको आफ्नै हो। लगानी जसरी गरे पनि जोखिम लिने त लगानीकर्ता आफैले हो।
सामाजिक सञ्जाल जस्तो टिकटक/फेसबु्कमा अनेक प्रकारका सूचना आइरहेका हुन्छन् ती नै निर्णय गर्ने अन्तिम सूचना हुन सक्दैनन्, लगानीको उद्देश्य र जोखिम बहन गर्ने क्षमता अनुसार निर्णय आफैँले गर्ने हो। भाग्यवश आईपीओ परेका आधारमा मात्रै सेयर बजार बुझिँदैन। त्यो त एउटा सुरुवात मात्र हो । सेयर बजारको वास्तविक फिलिंग दोस्रो बजारमा प्रवेश गरे पछि मात्र पाउन सकिन्छ।
(सेयर बजार विश्लेषक भट्टराईसँगको कुराकानीमा आधारित विचार। विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा स्नातकोत्तर साथै सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन्। उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण जस्ता कितावहरू लेखेका छन्।)