शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

म्याग्दीमा आयातित तरकारीको माग घट्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
images
images
म्याग्दीमा आयातित तरकारीको माग घट्दै

बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मङ्गला गाउँपालिकाको हिदीमा तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फर्म सञ्चालित छन्।

images
images

म्याग्दी- धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अर्गानिक खेती प्रणाली सुरु गरेका छन्।

images
images
images

विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अर्गानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो। विगत तीन वर्षयता यहाँ अर्गानिक खेती विस्तार  भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताले बताएका छन्। तीन वर्षअघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन्।

'अहिले सदरमुकाम बेनीका प्रायः सबैघरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ', बेनी बजारका व्यवसायी राधिका केसीले भनिन्, 'ग्राहक स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट अर्गानिक तरकारी बजारमा आउन थालेपछि आयातित तरकारीको माग घटेको छ।' 

images

त्यसैगरी कृषकले पनि बजारमा अर्गानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन्। करिब ३० वर्षदेखि कृषि पेसामा लागेका बेनी नगरपालिका–२ खबराका ५९ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ।

images

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघिसम्म कहिल्यै पनि अर्गानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् 'म विगत ३० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु', उनले भने, 'तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन।'

युवा नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयको भनाइ छ। ‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाको सङ्ख्या बढ्दै जान थालेको छ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका दुई दर्जन बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन्। विगतमा तरकारी बिक्रीबाट वार्षिक  पाँच लाख आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०७९ को साउनसम्म तरकारी बिक्री गरेर २८ लाखभन्दा बढी आम्दानी भएको बताए। 

त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताए। कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए। अर्गानिक तरकारी खरिद गर्न बेनी बजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन्। कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन्। प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उनी बताउँछन्। 

म्याग्दीका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ। बानियाँ भन्छन्, 'कोरोना कहर सुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, यसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो।'

विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ।  म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषि फर्म सञ्चालन गरेका छन्। जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मङ्गला गाउँपालिकाको हिदीमा तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फर्म सञ्चालित छन्। यी कृषि फर्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन्।

जिल्लामा पछिल्लो समय अर्गानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ। विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अर्गानिक खेतीतर्फ लागेका छन्। कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन्।

सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरणलगायत मल र बीउको पनि सहजरुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाको आकर्षण बढ्दै जान थालेको हो। विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषिउपजको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकोमा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ६ २०७९०४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend