शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ५ २०७९
images
images
कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप लिचीलगायत फलफूलका बिरुवा उत्पादन भइरहेको छ।

images
images

भोजपुर- आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ। 

images
images
images

कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरुलाई नमूनाका रुपमा देखाउन गाउँपालिकाले करिब ६० लाख लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो। करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ। पूर्वको एक नमूना कृषि फार्म बनाउने गाउँपालिकाले जनाएको छ। यसलाई कृषि अनुसन्धान स्थलका रुपमा स्थापित गर्ने लक्ष्यसाथ माछापालन, कागती खेती, बाख्रापालन फलफूल तथा तरकारीखेती गरिएको छ। 
  
यो गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। फार्ममा अहिले प्रत्यक्षरुपमा तीन जनाले रोजगारी पाएका छन्। कृषिमा चासो राख्ने कृषकले फार्ममा गएर पशुपालन, फलफूल तथा तरकारीखेती प्रविधिका विषयमा प्रत्यक्षरुपमा ज्ञान लिन सक्नेछन्। 

images

खेतीमा नयाँ प्रविधि भित्र्याएर यहाँको भूमिलाई कृषि पर्यटनका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताए। परम्परागत खेती प्रणाली निर्वाहमुखी मात्र भएकाले स्थानीय कृषकलाई व्यावसायिक खेतीमा जोडेर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने सोच रहेको अध्यक्ष राईको भनाइ छ।

images
images
images

'हाम्रो मुख्य बाँच्ने आधार कृषि हो', अध्यक्ष राईले भने, 'गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य छ। यो सामुदायिक कृषि फार्म यही उद्देश्यले सञ्चालनमा ल्याएका छौँ । यसको सम्पूर्ण आर्थिक व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ।'

घारे सामुदायिक कृषि फार्मको नामबाट सञ्चालनमा आएको यसलाई एक कृषि अनुसन्धान गर्ने ठाउँका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ। त्योसँगै गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतका रुपमा स्थापित गर्ने उनले बताए। फार्मलाई उत्पादन र रोजगारसँग जोडेर लैजाने उनको भनाइ छ। 

अध्यक्ष राईले भने, 'यसलाई कृषिको अनुसन्धान केन्द्रका रुपमा स्थापित गराउने लक्ष्य छ। कृषकलाई व्यावहारिक ज्ञान दिन पनि सहज छ। यो फार्मलाई गाउँपालिकाको आर्थिक स्रोतसँग जोड्दै स्थानीयलाई रोजगारी प्रदान गर्छौं।'

आगामी दिनमा स्थानीय ऐनको निर्माण गरेर निजी लगानी कर्ता भित्रयाएर थप विस्तार गरेर लैजाने गाउँपालिकाले जनाएको छ। लगानीका आधारमा फार्मबाट आएको आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रुपमा राख्ने जनाइएको छ। 'यो फार्म सञ्चालनका लागि गाउँपालिकाको आफ्नै नीति बनाउछौँ', अध्यक्ष राईले भने, 'त्यही नीतिका आधारमा यसको विकास तथा विस्तारमा जोड दिएर गाउँपालिकाको आर्थिक स्रोतका रुपमा विकास गर्ने योजना छ।'

फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप लिचीलगायत फलफूलका बिरुवा उत्पादन भइरहेको छ। आधुनिक प्रविधिको खोरमा बाख्रापालन, माछापालन भइरहेको छ। त्यस्तै टमाटर, प्याज, बन्दाकोभीलगायत विभिन्न खालका तरकारीको खेती थालिएको छ। कृषकलाई प्रत्यक्षरुपमा खेतीका विभिन्न प्रविधिका विषयमा जानकारी दिएर सिकाउँदा काम गर्न सहज हुने गाउँपालिकाका कृषि शाखा प्रमुख भूमिश्वर यादवले जानकारी दिए। शाखा प्रमुख यादवले भने, 'अहिले हामीले नै यसको प्रत्यक्ष निगरानी गरिरहेका छौँ। खेती गर्न इच्छुक किसानलाई प्रत्यक्षरुपमा ज्ञान दिन्छौँ। आवश्यक मापदण्डसँगै प्रविधिको प्रयोग गरेर खेती गरेमा कृषिबाट राम्रो लाभ लिन सकिन्छ।'

आफूले खेती गर्दा नजानेको कुरा फार्मबाट सिक्ने अवसर पाएको स्थानीय कृषक शिवकुमार राईले बताए। 'गाउँपालिकाले नै फार्म सञ्चालन गरेर नमुनायोग्य काम गरेको छ', कृषक राईले भने, 'हामीलाई फार्मबाट धेरै सिक्ने अवसर मिलेको छ। खेतीको नयाँ प्रविधिका विषयमा जान्न मन लागेमा यहाँ आएर हेर्छौं।'

गाउँपालिकाले सञ्चालन गरेको फार्ममा रोजगारी पाउँदा खुसी लागेको स्थानीय समीक्षा मगरले बताए। विदेशमा श्रम गर्न जानुभन्दा आफ्नै ठाउँमा कृषि कर्ममा रमाउन पाउँदा खुसी लागेको मगरको भनाइ छ। काम गर्दै सीप सिक्ने अवसर पाएको उनले बताए। मगरले भने, 'आफ्नै ठाउँमा रोजगारी पाउँदा निकै खुसी लागेको छ। हामी तीन जनाले यहाँ रोजगारी पाएका छौँ। यसको विस्तार हुँदै जाँदा अझै अन्य स्थानीयले पनि रोजगारी पाउने अवस्था छ।' 
 
गाउँपालिकाले यहाँ चियाखेतीकोसमेत विस्तार गरिरहेको छ। करिब एक हजार पाँच रोपनी क्षेत्रमा लगानी गरेर काम भइरहेको गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन्। दक्षिणी क्षेत्रबाट तराईका जिल्लासँग दुरी छोटो भएकाले यो क्षेत्र भविष्यमा धनकुटाको भेडेटार जस्तै बन्ने सम्भावना रहेको उपाध्यक्ष राईको भनाइ छ। चिया खेती विस्तारको काम पनि धमाधम भइरहेको छ।

'हामीले कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएका छौँ', उपाध्यक्ष राईले भनिन्, 'यहाँ धेरै चियाका लागि उपयुक्त जमिन छन्। ती ठाउँमा गाउँपालिकाको लगानीमा खेती विस्तार भइरहेको छ। यो क्षेत्र तराईका जिल्लाबाट नजिकै पर्ने भएकाले मानिसलाई प्राकृतिक मनोरञ्जन लिने ठाउँ बनाउने उद्देश्य छ।' रासस


प्रकाशित : आइतबार, भदौ ५ २०७९०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend