शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल र  टेलिकम दोस्रो बजारमा सदाबहार ‘हटकेक’, उच्च लाभांश क्षमताका कम्पनीको सेयर सस्तोमा किन्ने अवसर, कुन किन्दा के फाइदा?

आइतबार, भदौ ५ २०७९
नबिल र  टेलिकम दोस्रो बजारमा सदाबहार ‘हटकेक’, उच्च लाभांश क्षमताका कम्पनीको सेयर सस्तोमा किन्ने अवसर, कुन किन्दा के फाइदा?

काठमाडौं- दोस्रो बजारमा आकर्षक नेपाल टेलिकम र नबिल बैंक सधैँभरी चर्चामा रहने गर्छन्। दुवै कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। दुवैको वितरणयोग्य नाफा पनि आकर्षक हुनुको साथै अन्य सूचकमा पनि आकर्षक सुधार गरेका छन्। 

नेपाल टेलिकम 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको (नेपाल टेलिकम) वार्षिक आम्दानी ४४ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ४४ अर्ब ३४ करोड ३७ लाख ७८२ रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्बले बढी हो। २०७७/७८ मा कम्पनीले ४२ अर्ब २३ करोड आम्दानी गरेको थियो। 

ntc.PNG

त्यस्तै कम्पनीको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो वर्ष ७ अर्ब १२ करोड नाफा गरेको थियो। जुन गएको वर्ष बढेर ८ अर्ब ३८ करोड पुगेको छ। कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर १८ अर्ब पुगेको छ भने सञ्चिति पनि बढेर ७७ अर्ब पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ रहेको छ। पीई रेसियो १८.८८ गुणा रहेको छ। कम्पनीको वितरणयोग्य नाफानै ८ अर्ब ३८ करोड रहेकोले ४७ प्रतिशतसम्म लाभांश क्षमता रहेको छ। 

कम्पनीले कोर सेवा बिक्रीबाट गर्ने आम्दानीमा सुधार गर्दा नाफामा वृद्धि देखिएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवाबाट उठाएको शुल्कमा २ अर्ब वृद्धि गरेको छ। प्राविधिक बाहेकको सेवाबाट हुने आम्दानी स्थिर तथा खर्च कटौती गर्न असफल भएपनि कम्पनीको नाफामा भएको वृद्धिको मुख्य कारण ग्राहक सेवा शुल्कमा भएको सुधार हो। 

कम्पनीको दोस्रो बजारमा ९३८ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले गतवर्ष ४० प्रतिशत लाभांश दिएको थियो। गतवर्ष बढेर १७९९ रुपैयाँ पुगेको भएपनि घटेर ८२८ रुपैयाँमा झरेपछि पुनः बढ्न थालेको छ। 

नबिल बैंक 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो।

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। 

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

nabil.PNG

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराब कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। नबिल बैंककको दोस्रो बजारमा ८०२ रुपैयाँमा कारोबार भएको छ। १७४० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ७२६ रुपैयाँमा आएको थियो। अहिले भने पुनः सेयर मूल्य बढ्न थालेको छ। 


प्रकाशित : आइतबार, भदौ ५ २०७९००:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend