शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

लगानीकर्ताले सेयर बजारको उतारचढाव स्वीकार गर्नुपर्छ (अन्तर्वार्ता)

images
images
images
लगानीकर्ताले सेयर बजारको उतारचढाव स्वीकार गर्नुपर्छ (अन्तर्वार्ता)

बजार त अरु पनि छन्। तर स्टक मार्केट सबैभन्दा फेयर छ। पारदर्शी पनि छ। अरु कमोडिटी मार्केट हेरौ न त्यहाँ मूल्यको निर्धारण कसरी हुन्छ? आलु, प्याज र तेलको मूल्य निश्चित शक्तिकेन्द्रले कसरी नियन्त्रण गर्छन्? यस्ता बजारको तुलनामा स्टक धेरै हदसम्म फेयर छ।

images
images

नेपालको सेयर बजारमा अहिले अभूतपूर्व सहभागिता भइरहेको छ। लाखौँ सेयर लगानीकर्ताहरू बजारमा सक्रिय छन्। सबै आय समूहका मान्छे बजारका हिस्सा बनेका छन्। तर बजारमा जब सूचक उकालो लाग्छ सब चुपचाप बस्छन्। केही मान्छेबाहेक बजारका बारेमा खासै चासो राख्दैनन्। तर जब बजार सूचक ओरालो लाग्छ तब यहाँ लगानीकर्ताहरूको नाम दिएर संगठन बनाएर आन्दोलन, धर्ना यहाँसम्म कि राजीनामा माग्ने काम हुन्छ। तथ्य, तथ्यांकका आधारमा चल्नुपर्ने बजारमा झन्डा फहराउने काम के स्वभाविक हो? प्रस्तुत छ- यी र यस्तै विषयमा रहेर बिजनेस न्युजका लागि  रवीन्द्र शाही र केदार दाहालले  काठमाडौं विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक डा. निरज पौड्यालसँग लिएको अन्तर्वार्ता :

images
images
images

नेपालको सेयर बजारमा पछिल्लो समय सहभागिता बढेको छ। सहभागिता मात्र होइन कारोबार पनि बढिरहेको छ। तपाईंले कसरी हेर्नुभएको छ?

images

नेपालमा स्टक मार्केट मात्र होइन कुनै पनि लगानीका लागि आवश्यक पर्ने सांख्यिक साक्षरता चाहिन्छ। जुन नेपालमा एकदम न्यून छ। एक त साक्षरता छैन अर्को कुरा स्टक मार्केटलाई राजनीतिकरण गरिएको छ। संसारमा कतै पनि नहुने लगानी गरेपछि नाफा ग्यारेन्टी हुनुपर्छ भनिन्छ। जति धेरै नाफा खोजिन्छ त्यति नै नोक्सानी हुनसक्छ भन्ने सामान्य बुझाइलाई नजरअन्दाज गरिएको हो वा थाहा नै नभएको भन्ने कुरा यहीँनेर छुट्टिदैन। तर यहाँ लगानी गरेपछि स्टक बजारबाट नाफा हुनैपर्छ भनेर आन्दोलन हुन्छ। मलाई त अचम्म लाग्छ स्टक मार्केटमा संसारमा कतै पनि आन्दोलन हुँदैन।

images

शिक्षित छैनन्। बुझेका छैनन् भन्ने हो भने पनि कसरी पत्याउने हो। जब कि जति पनि सेयर बजारमा लगानी गर्छन् ती एलिट हुन्। सामान्यतया पढेलेखेका मान्छेहरू नै बजारमा जाने हुन्। सेयरबजारमा लगानी गर्ने भनेका पढ्न जान्ने मान्छे हुन्। १० कक्षा पढ्नु भनेको नेपालमा एलिट हो।

images
images

सांख्यिक साक्षरता नभए पनि सेयर बजारमा पछिल्लो समय सहभागिता बढेको छ। संख्या र कारोबारअनुसार यसको संरचनागत सुधार भएको छ?

नेपालको अर्थतन्त्रलाई ड्राइभ गर्ने एउटा कम्पोनेन्टका रुपमा स्टक मार्केटलाई लिएको छु। यसलाई अझै उदार बनाउनुपर्छ। अझ सहज बनाउनुपर्छ। हाम्रोजस्तो देशमा पैसा नभएको होइन। हामीलाई थाहा भइसकेको छ कि च्यानलाइज गर्ने संयन्त्र मात्र छैन। मसँग सय रुपैयाँ छ भने लगानी गर्न म सक्दिनँ। १० लाख भएपछि मान्छेले लगानी गर्ने ठाउँ नै पाउँदैन। १० हजारबाट पनि बिजनेस सुरु गर्न सकिन्छ भनेर हामी सोच्नै सक्दनौं। गर्न त गरिरहेका छन्। तर व्यापक छैन। जसले सानो सानो लगानी गर्न खोज्दैन। उसका लागि त लगानी गर्ने सबैभन्दा राम्रो च्यानल भनेकै स्टक मार्केट हो। ४८ लाख मात्र किन २ करोड मान्छेको लगानी त्यहाँ हुन्छ बजार अझै उदार भयो भने। त्यसैले हामीले सकेसम्म स्टक मार्केटलाई ओपनअप गर्दै जानुपर्छ। पुँजी एकीकृत नगरी त्यो भन्दा ठूलो पुँजी निर्माण गर्न सकिँदैन। पुँजी निर्माणका लागि पनि पुँजी चाहिन्छ।

तर नेपालमा वितरण गर्नुपर्छ भन्ने बुझाइ छ। यसको रिफ्लेक्सन बजेटमा देखिएको छ। वितरण गरेर पुँजी निर्माण हुनै सक्दैन। पुँजीलाई एकीकृत गरी पुँजी निर्माणकै लागि परिचालनका लागि मुख्य माध्यम भनेको स्टक मार्केट हो।

बजार त अरु पनि छन्। तर स्टक मार्केट सबैभन्दा फेयर छ। पारदर्शी पनि छ। अरु कमोडिटी मार्केट हेरौँ न त्यहाँ मूल्यको निर्धारण कसरी हुन्छ? आलु, प्याज र तेलको मूल्य निश्चित शक्तिकेन्द्रले कसरी नियन्त्रण गर्छन्? यस्ता बजारको तुलनामा स्टक धेरै हदसम्म फेयर छ।

नीति निर्माता र व्यवसायीको मिलेमतोमा धेरै कुरा प्रभावित हुन्छन् बजारमा। व्यापारी र नीति निर्माता मिलेर अर्थतन्त्र ड्राइभ गर्नु नै सबैभन्दा खतरानाक कुरा हो। फासिजम भनेकै त्यही हो। तर यस्तो अभ्यासको प्रभाव स्टकमा न्यून हुन्छ।

स्टकमा मिलेमतो कठिन  छ। खसीको मासु, कुखुराकै मासुमा हेरौं। श्रमिकको ज्याला कसले निर्धारण गर्छ? निश्चित शक्तिले नियन्त्रण गर्छन्। त्यस्ता बजार प्रजातान्त्रिक छैनन्। सबैभन्दा प्रजातान्निक भनेकै स्टक हो। एउटै बजारमा ४०/५० लाख मान्छेले भाग लिएका छन्। त्यहाँ कसैले कसैलाई फोर्स गरेको छैन। किन्न बेच्न एउटा व्यक्ति स्वतन्त्र हुन्छ। गलत सूचना उपयोग गरेपछि फस्ने सम्भावना हुन्छ सही सूचना उपयोग गरेपछि फाइदा हुन्छ। नलडी सिकिन्न। बजारमा नाफा अपेक्षा गर्ने हो। अपेक्षा मिलेमा  नाफा हुने हो नमिले घाटा हुन्छ। त्यसबाट सिक्ने हो। रुने होइन। घाटा लाग्नासाथ रुने कराउने गर्ने होइन। संसारमा बैंकमा राखेको निक्षेप त बैंक डुबेपछि फिर्ता गर्नैपर्छ भन्ने अनिवार्य छैन। पहिलो प्राथमिकतामा राख्ला तर दिनैपर्छ भन्ने छैन। २००८ को वित्तीय संकटमा अमेरिकामा कयौंको डुब्यो।

स्टक मार्केट पहिलाको भन्दा राम्रो भएको छ। पहिला सानो क्षेत्रमात्र थियो। अहिले केही विस्तार भएको छ। यद्यपी अझै बैकिङ क्षेत्रकै अधिपत्य छ। बजारमा अर्थतन्त्रका ती अंगहरु जोडिंदै जान्छन् त्यति नै अर्थतन्त्रको रिफ्लेक्सन पनि दिन्छ बजारले। अहिलेको बजारमा अर्थतन्त्रको ५० प्रतिशतभन्दा बढी हिस्सा भएको सेवा क्षेत्रको बाहुल्यता रहेको छ यसले पहिलेको तुलनामा रिफ्लेक्सन कभरेज बढाएको छ।

बजारलाई उदारीकरण गरिनुपर्छ भन्नुभयो। यो भनेको के हो ? 

बजारमा अझै धेरै कम्पनीहरु सूचीकृत हुनुपर्छ। सरकारले त्यसका लागि वातावरण सिर्जना गराउनुपर्छ। साना लागनीकर्ताले पनि किन्न सक्ने अवस्था हुनुपर्छ। मुख्य कुरा सजिलो हुनुपर्छ। जुम्लाको मान्छेले पनि किन्न सक्नुपर्छ। काठमाडौं बाहिर पनि हुनुपर्छ। सरकारी नियन्त्रण कम हुनुपर्छ। क्रेता र बिक्रेतामात्र बजारको निर्णायक हुनुपर्छ। तर यहाँ सरकारले नियन्त्रण गर्न खोज्छ। कहिले कर बढाइदिन्छ। कहिले के गरिदिन्छ। यसले गर्दा बजारलाई अवरोध गरिरहेको हुन्छ। यस्ता कुरामा सरकार सचेत हुन जरुरी छ।

सबैभन्दा फेयर बजार भनेकै स्टक हो भन्नुभयो। नेपालमा पनि फेयर अभ्यास भइरहेको देख्नुहुन्छ?

तुलनात्मक रुपमा नेपालमा पनि फेयर छ। आलुको कुरा गर्दा कसरी मूल्य निर्धारण हुन्छ। एकदमै थोरै मान्छेले त्यसको नियन्त्रण गर्छन्। तर स्टक मार्केटमा त्यस्तो हुन्न। कुनै पनि सेयरको मूल्य अहिले कति छ त्यो मलाई थाहा हुन्छ। र मलाई यो पनि थाहा हुन्छ कि मैले कति रुपैयाँमा यो किन्न पाउँछु भनेर। तर अरु कुनै पनि वस्तुको मूल्य त्यति पारदर्शी छैन। पहुँचयोग्य र प्रजातान्त्रिक पनि छ। जति धेरैको हातमा भयो त्यति प्रजातान्त्रिक भयो। 

स्टकमा कहिलेकाही थोरै मान्छे खेल्न खोज्छन्। संसारमा जहाँ पनि हुन्छ। म्यानेजरहरुलाई आफ्ना सेयरधनीलाई नाफा धेरै दिने प्रेसर हुन्छ। सेयरको मूल्य बढाइदिएर सेयरधनीलाई लाभ दिने उनीहरुको पनि दायित्व हुन्छ।  सेयरको मूल्य जति बढाइदियो त्यति धनी खुसी। तर बजारमा कसैले बढाउन चाहेर केही समय बढ्नसक्ला तर त्यो दीगो हुँदैन। दीगो बनाउनका लागि कम्पनी नै बलियो हुनुपर्छ। यस्ता प्रयासबाट बच्नका लागि लगानीकर्ता आफै सचेत हुनुपर्छ। किन भने यो बजार भनेको जतिसुकै नियन्त्रित किन नहोस। जतिसुकै कस्न किन नखोजियोस्। तर बजारमा डेटाले काम गर्छ। डेटाबाट चल्ने बजारमा प्रेडिक्सन गर्न सकिन्छ।

नेपालमा डेटाको आधारमा लगानी गर्ने प्रवृत्ति आम भइसकेको होला र?

हाम्रोमा त्यो प्रवृत्ति भन्दा पनि प्रविधि र जनशक्ति नै छैन। हाम्रोमा स्टकमा कसरी लगानी गर्छन्। क्वालिटिभ सूचनाका आधारमा मात्र लगानी गर्छन्। कसले के दिँदैछ, कसले कति लाभांस दिन्छ भन्ने आधारमा लगानी हुन्छ। तर विकसित बजारमा सेयरको प्रेडिक्ट गर्ने मोडल हुन्छन्। क्वालिटिभ सूचना नहाली प्रेडिक्ट गर्न सकिन्छ। त्यस्तो प्राविधिक जनशक्ति नेपालमा छैन। यस्तो ज्ञान युटुबमा हेरेर थाहा हुँदैन। अर्को कुरा  सांख्यिक साक्षरता पनि न्यून छ। अनुपात, प्रतिशत भनेको पनि थाहा छैन। यो भनेको आधारभुत कुरा हो। कतिलाई तीन सय प्रतिशत हुन्छ भन्ने पनि थाहा हुँदैन। सांख्यिक साक्षरता नै छैन भने तथ्यांकीय कुरा हो सेयर बजारको गणित भनेको।

यसको मतलब तथ्यांकीय विश्लेषण नजानी सेयरमा लगानी गर्न हुँदैन भन्ने होइन। बजारमा लड्दै भिड्दै सिक्ने हो। आफूलाई सुरक्षित गर्नका लागि लड्न आउनेलाई लड्न दिने हो। सिक्ने र अघि बढ्ने त्यसैगरी हो। स्टक मार्केटमात्र होइन कुनै पनि लगानी त्यस्तै हो। मम पसलमा लगानी गर्दा फाइदा को कुनै ग्यारेन्टी हुन्छ? पक्दै हुँदैन।

तर नेपालमा म पीडित हुँ भन्ने अधिकांशलाई लाग्छ। यहाँ पीडित नभएको कोही छैन।  यति भएपछि माग गर्न पाउने भयो। त्यसका आधारमा राजनीतिक शक्तिसँग माग गर्छ। पीडितका रुपमा हेर्नु भएन। लगानी गर्दा जिरो पनि हुनसक्छ भनेर लगानी गर्नुपर्छ।

niraj.jpg

बजारमै लगानी गर्नेहरुले राष्ट्र बैंकले ब्याज बढाएर डुबायो, सरकारको यस्तो नीतिले डुबायो भनेर आन्दोलन गर्ने धर्ना दिने चलन छ। यस्तो पनि स्वभाविक हो?

सरकारले पनि खेल सुरु भएपछि नियम परिवर्तन गर्न हुँदैन। जुन नेपालमा हुँदै आएको छ। कुरा सेयर बजारकोमात्र होइन। अरु बजार तथा लगानीमा पनियस्तै हुने गरेको छ। विभिन्न ब्यापरीसँग स्वार्थ मिलेपछि राजनीतिक शक्तीले यस्तो गलत काम गर्छ। लागनीकर्ताले लगानी गर्दा अहिलेको नियम हेरेर गर्छ। जस्तो बैंकबाट सात प्रतिशत ब्याजदरमा ऋण लिएर लागनी गर्छ। तर १० प्रतिशत भएपछि लगानीकर्तालाई मर्का पर्छ नि। यो त पेनाल्टीको हान्दै गर्दा गोलपोस्ट सारेजस्तो भयो। यस्तो काम सरकारले गर्न हुँदैन। सरकारले सकेमस्म नीति अनुमानयोग्य बनाउनुपर्छ। 

सरकारले आधारभुत रुपमै गलत नीति बनाउँदाको रियाक्सन कहिलेकाहीँ आउनसक्छ। तर यो देशको नागरिक भएपछि हामी जन्मिनासाथ एउटा कन्ट्र्याक्ट गरेका हुन्छौं। यो राज्यको नियम मान्छौं भनेर। मलाई यो संविधान चित्त बुझेको छैन तर संविधान मान्छु। चित्त नबुझ्नु एउटा कुरा हो तर लाठो उठाउनु अर्को कुरा हो। लगानी गर्दा जोखिम लिएका हुन्छौं। सरकारले नीति परिवर्तन गर्नसक्छ भनेर अनुमान गर्नुपर्छ। नियम परिवर्तन हुनसक्छ। ब्याजदर परिवर्तन हुनसक्छ भनेर अनुमान गर्नुपर्छ। यो पनि लगानी र प्रतिफलकै अर्को पाटो हो। अस्भाविक नियम परिवर्तन भएन ब्याजदर बढेन भने नाफा बढ्छ। सोचेभन्दा धेरै भयो भने नाफा घट्छ। वा नोक्सानी हुन्छ।  

तर सकारले नियम धेरै परिवर्तन गर्न हुँदैन। 

लगानीकर्तालाई पनि साह्रै निरुत्साहित बनाउन हुँदैन। जग्गामा पैसा हाल्नुभन्दा त स्टकमार्केटमै हाल्नु  राम्रो हो अर्थतन्त्रका लागि। किन भने यो  फर्मल सेक्टर हो। त्यहाँ कर चुहावटको सम्भावना न्यून हुन्छ। जग्गामा के हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। फर्मल सेक्टरमा हुने लगानीलाई निरुत्साहित गरेमा त्यो कहाँ जान्छ भन्ने त थाहा छ। 

पारदर्शी बजारलाई निरुत्साहित गर्न हुँदैन। सेयर बजारमा बबल सिर्जना पनि एकदमै न्युन हुन्छ। डुब्न लागेको कम्पनीको मूल्य निरन्तर त कहिलै बढ्दैन यहाँ। कहिलेकाहीँ हुनसक्छ। कम्पनीले राम्रो गरेपनि गलत सूचनाका कारणले भाउ घट्नसक्छ। तर दीर्घकालिन रुपमा कम्पनी पत्रु तर भाउ उच्च भन्ने हुनैसक्दैन। कम्पनीले राम्रो गरिरहेको छ तर भाउ कम भन्ने कुरा हुनैसक्दैन। छोटो समयलाई मात्र हुनसक्छ।

सेयर बजार सेन्टिमेन्टमा चल्छ कि डेटाका आधारमा? 

सेन्टिमेन्टमा पनि चल्छ तर त्यो लामो समय रहँदैन। पछि रियलाइजेसन हुन्छ। सेन्टिमेन्ट भनेको कस्तो भने कसैले कनै कम्पनीका बारेमा हल्ला चलाइदिनसक्छ। त्यसैका आधारमा केही दिन मूल्य बढ्ला। तर सत्य सूचना आएपछि वा त्यो सूचना गलत हो भन्ने थाहा पाएपछि फेरि घट्छ।

तर  केही दिन तल माथि  हुने भनेको सामान्य कुरा हो। समग्र ट्रेन्ड भनेको अर्को कुरा हो। दैनिक कुरा भनेको सेन्टिमेन्टका आधारमा हुनसक्छ। जस्तो पानी पर्‍यो भने आइसक्रिम कम्पनी छ भने त्यसको सेयर मूल्य घट्नसक्छ। तर समग्रमा त्यस्तो हुँदैन। कम्पनी राम्रो छ भने बढ्छ छैन भने घट्छ। कसैले पनि सबैजजासँग सँधै झुटो बोल्नसक्दैन। आलुमै पनि गर्न सक्दैन। सत्य लुकाएर राख्नै सकिंदैन। 

बजार यति उति सयमा हुनुपर्ने मोटायो सुन्नियो भन्छन्। कोही मान्छेले सुन्निएको मोटाएको कसरी थाहा पाउँछन्। यसको कुनै फर्मुला हुन्छ? 

भन्दिन त के गाह्रो कुरा भयो। तर कसरी गर्‍यो भयो भन्ने कुरा मुख्य हो। त्यसको आधार के हो। तर एउटा कुरा चाहि पक्कै भन्न सकिन्छ। संसारमा कतै पनि बढिरहने भन्ने कुरा हुँदैन। र घटिरहने भन्ने कुरा पनि हुँदैन। कुनै पनि चिज बढीरहन र घटिरहनपनि सक्दैन। यदि यसो हुन्छ भने त्यो अस्वभाविक हो। केही समय घट्छ केही समय बढ्छ। जस्तो अहिले नेपालको बजारमा भइसकेको छ।

बढ्ने अवधि लामो समय हुन्छ। घट्ने कम हुन्छ। जस्तो ३ वर्ष बढ्यो भने ६ महिना घट्ने हुन्छ। बटममा पुगेपछि फेरि बढ्ने अवधि लामो हुन्छ। त्यसले गर्दा समग्रमा बजारको सूचक बढ्छ। दीर्घकालिन लगानीकर्तालाई बजारमा खासै घाटा हुँदैन। धेरै कराउने भनेको आजको आजै कमाउन खोज्नेले हो। आज किनेको भोलि नाफा गर्ने भनेको त भोलि घट्यो भने जोखिम हुने भयो। बैंकबाट ऋण लिएर भोलि नाफा गर्नेलाई जोखिम पनि उच्च हुन्छ। विकसित बजारमा अझ हाइ फ्रिक्वेन्सी ट्रेडिङ हुन्छ मिलिसेकेन्डमा तलमाथि हुन्छ। अल्गोरिदमबाट बजार चल्छ। मान्छेले कम सिस्टमले धेरै निर्णय गर्ने कुरा हुन्छ त्यहाँ। 

निरन्तर बढ्यो भने बबल हुन्छ। बजारको समग्र सूचकमात्र होइन  कम्पनी विशेषको वृद्धि पनि हेर्नुपर्छ। कुनै कम्पनी औषतमा १० प्रतिशतले मूल्य बढेको थियो। तर अहिले आएर २०, ३० प्रतिशत हुन थाल्यो भने पनि त्यो अस्वभाविक हुन्छ। त्यो कुरा एक हप्ताको तथ्यांकबाट होइन वर्षौंको रेकर्ड हेर्नुपर्छ।

अहिलेको नेपाली बजार स्वभाविक रुपमा छ। सन्तुलित नै छ। लगानी गर्नेहरुले यसलाई लगानीकै पार्टका रुपमा लिनुपर्छ। मान्छेले नाफा खान खोज्नु स्वभाविक हो। तर उनीहरुको चाहनाबाट बजार चल्दैन। 

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने एउटा तत्व स्टक मार्केट हो भन्नुभयो तपाईले। हाम्रो सरकारले नीतिगत रुपमा त्यसरी स्वीकार गरेको पाउनुहुन्छ?

यसका लागि सरकारको वित्तीय नीति हेर्नुपर्छ। नेपालमा करको दर औषतमा २५ प्रतिशत छ। नेपालीले औषतमा वर्षमा आयबाट कूल कर २५ प्रतिशत तिर्छन्।

यस्तो दर भारतमा १०, बंगलादेशमा ९ र चीनमा १७ प्रतिशत छ।  २५ प्रतिशत कसैको पनि छैन। २५ प्रतिशत उच्च विकसित देशको हुन्छ। भनेपछि हाम्रो आम्दानीको ठूलो चक्र सरकारले प्रयोग गर्छ। कसरी गर्छ भन्ने हामीलाई थाहा छ।

आयको ठूलो हिस्सा सरकारले लिएपछि बाँकी रहेको पैसाबाट जति नै लगानीको वातावरण बनाए भनेपनि विस्तार हुनसक्दैन।

यस्तो अवस्थामा पनि नेपालको सेयर बजारमा सहभागिता जुन किसिमले बढेको छ त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। करको अनुपात घटाएर जनतालाई लगानीका लागि सहज बनाइदिने हो भने सेयरबजारमात्र होइन अरु क्षेत्र पनि मौलाउनसक्छन्।

सेयर बजारको विस्तार त आफ्नै गतिमा भइरहेको छ। यस्तो लगानीबाट सर्वसाधारणहरुले कसरी लाभ लिन सक्छन्? 

लगानी गर्दा हामीले २/३ वटा कुार बुझ्नुपर्छ। खसी नै किन्दा पनि हामीले नबुझी किन्दैनौं भने सेयर बजारमा लगानी गर्दा त आधारभुत कुरामा बिचार पुर्‍याउनैपर्छ।

कति आम्दनी छ। कति लगानी गर्ने हो। कति जोखिम हुनसक्छ। नाफाको ग्यारेन्टी छैन डुब्ने खतरा पनि उत्तिकै हुन्छ। कति जोखिम बहन गर्ने हो। यी र यस्तै केही कुरा पहिले नै स्वीकार गरेरमात्र लगानी गर्नुपर्छ।

यति अनुमान नगर्ने हो र आज लगानी गर्ने भोलि नाफा लिने भन्ने सोच छ भने गर्ने होइन। किन भने यो सेफ हेभेन होइन।

कसैलाई जोखिम नै लिनु छैन भने बैंकको बचत खातामा जम्मा गर्ने हो। हैन जोखिम पनि  लिनु छ धनी पनि बन्नु छ भने जोखिम पनि स्वीकार गर्ने हो। त्यस्तो मान्छेले मात्र स्टकमा लगानी गर्ने हो। यो कुरा स्वीकार नगर्नेले स्टकमा लगानी गर्ने होइन। नबुझी लगानी गर्न हुँदैन।

बुझेर लगानी गर्ने र लगानी विविधिकरण गर्नसक्ने हो भने राम्रो आम्दानी पनि हुनसक्छ। तर नोक्सानी पनि हुनसक्छ।

nirajpaude.jpg

सबै लगानी जोखिमयुक्त हुन्छ। तर सामन्य लागनीकर्ता आफैले प्रतिफलको तुलना कसरी गर्नसक्छन्?

कुनै  बैंकले बचत खातामा १० प्रतिशत दिएको मानौं। मूल्य वृद्धि ५ प्रतिशत छ। त्यसो हुँदा १० प्रतिशत ब्याजबाट ५ प्रतिशत घटाउँ। आयो ५ प्रतिशत  यो  वास्तविक प्रतिफल भयो।बैंकको व्याजदर सार्वजनिक नै हुन्छ  त्यसबाट मूल्यबृद्धिले घटाउने हो।

हामीले जसलाई प्रतिफल मानेका छौं त्यसले ७० लाई भाग गर्दा जति आउँछ त्यति वर्षमा बचत रकमको दोब्बर हुन्छ। जस्तो १० प्रतिशत ब्याज पाउँदाको अवस्थामा मूल्यबृद्धि घटाउँदा हुने वास्तविक लाभ ५ प्रतिशतले ७० लाई भाग गर्दा १४ वर्षमा दोब्बर हुन्छ।

मूल्यवृद्धि हिसाब नगर्दा १० प्रतिशत दियो भने ७ वर्षमा दोब्बर हुन्छ। १ लाख लगानी गर्दा सात वर्षमा  २ लाख हुन्छ। करोड लगानी गरेपछि २ करोड हुन्छ। सात वर्षमा २ करोड हुनु भनेको ठूलो हो। सुरक्षित पनि छ। जग्गाजस्तो त होइन। त्यसैले अरुले नाफा गरे भन्दैमा बजारमा हाम फाल्न हुँदैन। बचत खातामा राखेर पनि प्रतिफल लिन सकिन्छ। ७ प्रतिशत भएपनि १० वर्षमा दोब्बर हुन्छ। २ करोड बचतमा राख्न सकियो भने चार प्रतिशतमात्र ब्याज आयो भने वार्षिक ८ लाख ब्याज हुन्छ। २ करोड सेयरमा हाल्नुपर्छ भन्ने पनि त छैन। चार प्रतिशत ब्याज हुने खातामै राख्दा पनि ८ लाख हो। महिनाको ३५ हजार त आयो। महिनामा ३५ हजार कमाउनका लागि सेयरबजारमा लगानी गर्न पर्दैन यो पनि अवसर हो। तर हामीकहाँ सेयरमा भनेपछि सबै सेयरमा गलैँचा भनेपछि सबै गलैँचामा हाम फाल्ने प्रवृत्ति छ। अवसर अन्त पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्‍यो। 

सेयर बजारमा गइरहेको ऋणलाई अनुत्पादक मान्ने चलन नेपालमा छ। सेयर किन्नका लागि जाने ऋण बढ्दा अत्याश्यक क्षेत्रमा जाने ऋण खुम्चियो भनेर लगाम लगाउन पनि खोजिन्छ। यस्तो स्वभाविक हो?

अत्यावश्यक हो भनेर छुट्याउने को हो? नुन भनेको आवश्यक गाडी लक्जरी भन्ने छ। तर गाडीको मर्मत गर्ने मजदुरका लागि त गाडी आवश्यकता भयो न। गाडीको आयात भएन भने उसको आम्दानी घट्छ। के अत्याश्यक के होइन भनेर टाउकामा बसकेा २/३ जनाले बसेर निर्णय गर्ने हो र? कसैलाई सेयर बजारमा लागनी आवश्यक होला। कसैलाई रियलस्टेटमा होला। कसैको निर्णय गर्ने अधिकार खोस्न भएन। कसैलाई घाटामा पर्न पनि दिनुपर्छ। कसैलाई नाफा लिन दिनुपर्छ। कसैलाई घाटा लागेपछि सरकारले केही गरिदिन्छु भन्न भएन बरु। सरकारले बचाउने ठेक्का लिनु हुँदैन। त्यसो हुँदा उल्टो अनावश्यक पैसा जान्छ।

सेयर बजारमा पनि राजनीतिकरण भएको जस्तो लाग्छ तपाईलाई? 

हाम्रो अर्थतन्त्रका कोर चिजलाई पनि राजनीतिकरण गरिएको छ। प्रणालीले स्वत गर्नुपर्ने ठाउँमा पनि राजनीतिक घुसाइएको छ। हुँदै नभएको कुरा सेयर बजारलाई सरकार वा मन्त्रीको सफलता वा असफलतासँग जोडेर प्रचार गर्ने गरिएको छ। खास कुरा त के हो भने सेयर बजार क्रयास हुँदा पनि कतिलाई फाइदा हुन्छ। सबैलाई घाटा हुँदैन। सस्तोमा किनेर महँगोमा बेच्नेलाई बढ्दा फाइदा हुन्छ। घट्दा फाइदा हुने पनि हुन्छन्। घट्दा किन्नेहरुलाई फाइदा हुन्छ। जति घट्यो उ त खुसी हुन्छ। कसको खुसी हेर्ने हो सरकारले। मिलाउन कोशिस गरेपनि सरकारले सक्दैन। स्टकमा धेरै पैसा खनिएपछि मूल्य घटिहाल्छ। आफै सन्तुलनमा आउछ। कोठामा बसेर निर्णय गर्ने कि बजारलाई दिने भन्ने हो। बजार भनेको त कुनै अथोरिटी होइन नि। 

लेफ्ट सरकार आयो भने औरालो लाग्छ भन्ने हल्ला गरिन्छ। यो त बनाइएको राजनीतिक न्यारेटिभ मात्र हो। किन भने नेपालमा कुनै पनि लेफ्ट र राइट भन्ने नै छैन। फरक नै छैन। काँग्रेस  कम्युनिष्ट आएपछि हाम्रो साधारण खर्च कसैले घटाउछ त? कि करको दरमा हेरफेर गर्छ? नेपालमा त त्यस्तो छैन। सबैले एउटै कुरामा अघि बढ्छन्। भनेपछि यहाँ राजनीति र सिद्धान्तले के काम गर्छ? यो हल्लामात्र हो। राजनीतिकरण गर्न खोजिकएको छ। खोजेपनि सबैभन्दा गाह्रो क्षेत्र भनेकै स्टक मार्केट हो। किन भने यहाँ पादर्शीता छ।

images

प्रकाशित : आइतबार, असोज १७ २०७८०५:०२

प्रतिक्रिया दिनुहोस