बागमती- विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो।
मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ। मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ। नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्ने बताइएको छ।
उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए। भण्डारण गृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए। उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ।
दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ। साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो।
यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ। पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ। त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ। विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो। हाल पाइपलाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ।
पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आइओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न भएको थियो। अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ। बजारको मागअनुसार पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। उक्त पाइपलाइनबाट आयात गरिएको डिजेल वीरगञ्ज, जनकपुर अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ।
नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ साल भदौ ७ गते पेटोलियम पाइपलाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो। आगामी सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ। रासस