शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चारगुणा घाटा बढेकाे माथिल्लो तामाकोशी हकप्रदको तयारीमा, दोस्रो बजारको यात्रा कता?

मंगलबार, साउन ३१ २०७९
चारगुणा घाटा बढेकाे माथिल्लो तामाकोशी हकप्रदको तयारीमा, दोस्रो बजारको यात्रा कता?

काठमाडौं- माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको नोक्सानी बढ्दो क्रममा रहेको छ। गत वर्ष कम्पनीको घाटा १ अर्ब ८७ करोड रहेको छ। अघिल्लो आर्थिक वर्ष ५३ करोड ४० लाख रुपैयाँ नोक्सानी रहेको थियो।

वित्तीय विवरण सार्वजनिक गर्दै प्रति सेयर नेटवर्थ ७४.३३ रुपैयाँ रहेको छ। हकप्रद जारी गर्ने तयारी गरेको कम्पनीको घाटा बढ्दै जाँदा दोस्रो बजारका लगानीकर्ता भने मारमा पर्ने देखिएको छ। लाभांश वितरण गर्न अझै लामो समय नसक्ने देखिएको कम्पनीको घाटा ४ गुणाले बढेको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्तापुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको थियो। कम्पनीको मंगलबार ४८१ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै घटेर ३७६ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट आयोजनाले ३० अर्ब चुक्तापुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

आयोजनाले १ः१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ। यसका लागि कम्पनीले साधरणसभाबाट स्वीकृत लिइसकेको छ। नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

हालको चुक्तापुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन्। यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ। कम्पनीको बजार पुँजीकरण ५१ अर्बमा झरेको छ। 

देशकै गौरवको आयोजनाले गत भदौ २५ गतेबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। ब्याज खर्च, ह्रास कट्टी खर्च र अन्य सञ्चालन खर्चलाई नाफा नोक्सान हिसाब खातामा लेखांकन गरिएको छ। 

पुस मसान्तसम्मको निर्माण अवधिको ब्याज र ऋणसमेत एकमुष्ट साँवा यकिन गरी १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरिएको छ। गत आर्थिक वर्षको चैत र असारमा यसको दुई किस्ता भुक्तानीसमेत भइसकेको छ।

आयोजना समयभन्दा निक्कै ढिलो निर्माण भएर लागत दोब्बर भएको छ। त्यस अनुरुप विद्युत बिक्रीबाट हुने आम्दानी भने बढ्न सकेको छैन। कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब १७ करोडको बिजुली बिक्री गरेको थियो। 


प्रकाशित : मंगलबार, साउन ३१ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend