बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
images
images
कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान छ। उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो।

images
images

महेन्द्रनगर- पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ।

images
images

बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए।

images
images

निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए। अहिले शुक्लाफाँटामा दुईसय एक कृष्णसार रहेका छन्।

images
images

'सङ्ख्या ह्वात्तै बढ्नुले शुक्लाफाँटा कृष्णसारका लागि राम्रो बासस्थान हो भन्ने प्रष्ट हुन्छ', प्रमुख संरक्षण अधिकृत मेहताले भने, 'यहाँ तोकिएको क्षेत्रफल कृष्णसारका लागि अपुग भयो, सङ्ख्या बढ्दा स्थानान्तरण गर्ने कि संरक्षण क्षेत्र बढाउने अन्योल छ, यसबारे विभागले निर्णय गर्छ।'

कृष्णसारको व्यवस्थापनका लागि विभागले ‘रिलिज प्लान’बारे स्वीकृति गर्नुपर्ने मेहता बताउँछन्। अहिले ५८ दशमलव आठ हेक्टरमा कृष्णसारको बासस्थानका लागि तारबार गरिएको छ। यसअघि सुरुआतमा कृष्णसारका लागि १७ हेक्टर क्षेत्र छुट्टयाइएको थियो। 'कृष्णसारको सङ्ख्या बर्सेनि बढ्दै जाँदा ठाउँ अपुग हुन थालेको छ, यसबारे विभागसँग परामर्श भइरहेको छ', प्रमुख संरक्षण अधिकृत मेहताले भने।

विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारका लागि यहाँको बासस्थान उपयुक्त देखिएको निकुञ्जले जनाएको छ। कृष्णसारको बासस्थानसँगै पर्यटकको सहज आवागमनका निम्ति हिरापुर फाँटासम्म सडक ग्राभेल गरिएको छ। त्यहाँ कृष्णसार हेर्न मचानसमेत निर्माण गरिएका छन्। उक्त क्षेत्रमा कर्मचारी निवास निर्माणका साथै सोलारसमेत जडान गरिएको छ।

देशभर कृष्णसारको सङ्ख्या कम भएकाले तीनलाई जोगाउनका लागि यहाँ स्थानान्तरण गरिएको मेहता बताउँछन्। 'अन्यत्र कृष्णसार रोगव्याधि वा अन्य कुनै कारणले सङ्कटमा परे पनि यहाँ सुरक्षित रहने अभिप्रायले  स्थानान्तरण गरिएको हो', उनले भने। राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो। करिब चार वर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचीकृत कृष्णसार नेपालमा सबैभन्दा बढी बर्दियाको खैरापुरमा छन्। कृष्णसार यसअघि नेपालगञ्ज, ललितपुरको सदर चिडियाखान र बर्दियाको खैरापुरसँगै काठमाडौँको मृगस्थलीमा मात्रै रहेका थिए। घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने भाले कृष्णसार कालो र पोथी खैरो रङको हुन्छ। यसले मृग प्रजाति झैँ छ/छ महिनामा बच्चा जन्माउने गर्छ। वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो नै हुन्छ।

विश्वमै सबैभन्दा धेरै बाह्रसिङ्गाको झुण्ड पाइने शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडा तथा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेका छन्। तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान छ। उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो। रासस


प्रकाशित : आइतबार, साउन २९ २०७९०८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend