काठमाडौं- सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेसँगै चुनावी तयारी तीब्र भएकाे छ। चुनावमा औपचारिक र अनौपचारिक ठूलो धनराशी खर्च हुने गरेको छ। स्थानीय तहको चुनावमा भन्दा पनि प्रतिनिधि सभाको चुनावमा अर्थतन्त्र बढी नै चलायमान हुने गरेको छ।
स्थानीय तहको चुनावमा खासै प्रभाव नपरेको सेयर बजारमा अब मंसिरमा हुने चुनावमा के प्रभाव पर्न सक्छ भनेर विगतको चुनावसँग जोडेर केही विश्लेषण गरिएको छ। विश्लेषकहरु चुनावले सेयर बजारमा केही प्रभाव पारेपनि खासगरी अर्थतन्त्रको सूचकमा सेयर बजारको गन्तव्य थाहा हुने बताउँछन्।
सेयर बजारलाई स्थायित्व दिन, दोस्रो बजार कारोबारमा हुने उतारचढावलाई न्यूनीकरण गर्न तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न पनि चुनावले सिर्जना गर्ने माहोल प्रभावकारी हुने देखिँदै आएको छ। गत साता सेयर बजार २०३७ अंकमा झरेर रोकिएको छ। एक वर्ष अगाडि ३१९९ अंक पुगेको बजार अहिले घटेर २०३७ मा आएको छ। अब फेरि ३१९९ बाट अगाडि बढ्छ वा अझै तल आउँछ भन्ने अनुमान गर्न भने गाह्रो छ।
नेपालको सेयर बजारमा २०५० साल माघदेखि दोस्रो बजार कारोबार सुरू भएको हो। त्यसयता बजारमा धेरै पटक उल्लेख्य उतारचढाव हुँदै आएको छ। बजारको यस्तो उतारचढावमा चुनावी वर्ष भने विशेष बन्ने गरेको देखिन्छ। खासगरी बजारको उकालो यात्रामा सहयोगी देखिने चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ।
अब २०७९ साल चुनावी वर्षको रूपमा जारी छ। जसका कारण पनि लगानीकर्ताहरू हाल पर्ख र हेरको अवस्थामा रहेका छन्। चुनाव घोषणा भएमा लगानीकर्ता उत्साहित हुने आशासमेत देखिन्छ।
२०५० माघमा १०० रहेको नेप्से सूचकांक अहिले २०७८ माघ दोस्रो साताको अन्तिम दिन बिहीबार २७७९.९८ बिन्दुमा आइपुगेको छ। खासगरी विगतदेखि नै चुनावी वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ। स्थानीय तहको गत बैशाखमा भएको चुनावमा पनि सेयर बजार बढ्ने र घट्ने भइरहेको थियो।
२०५० सालदेखि ०७४ सालसम्मको बजार सूचकांक
अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्। तर गत स्थानीय चुनावमा भने सेयर बजार बढ्न सकेन।
२०५१ सालको चुनावपछि बजार केही अंक घटेको थियो। तर २०५६ को चुनावको अगाडि र पछाडि दुवै समयमा बजार बढेको तथ्यांकले देखाउँछ।
‘चुनावले सेयर बजारमा सधैँजसो उत्साह ल्याउने गरेकोले यसवर्ष पनि चुनावले नयाँ उचाइमा पुर्याउने अनुमान गरिएको छ,’ विश्लेषक छोटेलाल रौनियारले भने।
चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको रौनियारको बुझाइ छ। स्थानीय तहको चुनावमा बैंकमा पैसाको दबाब हुँदा नबढेपनि प्रतिनिधि सभाको चुनावमा सेयर बजार बढ्ने सूचकहरुले देखिएको रौनियार बताउँछन्। ‘अहिले वित्तीय कम्पनीहरुको विवरण आइसकेको र लाभांश पनि आउने भएकोले पनि बजार बढ्ने छ,’ रौनियारले भने।
२०५६ को जेठमा चुनावी मिति घोषणाअघि र पछि बजार बढेको देखिन्छ। २०५५ को अन्तिमतिर १९० अंकबाट बजार २०६ अंकको बिन्दुसम्म पुगेको थियो। २०५६ मा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि सेयर बजार लगातार बढेर २०५७ मा ५१९.३३ को बिन्दुमा पुगेको थियो।
पछि माओवादी द्वन्द्वले ठूलो रूप लिएपछि भने सेयर बजार ओरालो लागेको तथ्यांकले देखाउँछ। २०५८ मा १९८.४४ को बिन्दुमा झरेको नेप्से २०६४ को संविधानसभाको चुनावताका भने उच्च अंकले बढेको थियो। २०६४ को चुनावभन्दा अगाडि ३५५.६० को बिन्दुमा रहेको नेप्से चुनाव सकिएपछि ६८३.९५ बिन्दुमा पुगेको थियो। माओवादी द्वन्द्वको समाधानसँगै धेरै अनौपचारिक पैसा सेयर बजारमा आएको अनुमान उक्त समयमा गरिएको थियो। जसका कारण घरजग्गा र सेयर बजार दुवैतर्फ २०६४ सालदेखि केही वर्ष उभार आएको थियो।
२०७० मा दोस्रो संविधानसभाको चुनाव अघि र पछि पनि बजार बढेको देखिन्छ। २०७० को चुनाव घोषणा अगाडि ३८९.७४ बिन्दुमा रहेको नेप्से चुनाव घोषणपछि बढ्दै ५१८.३ बिन्दुमा नेप्से पुगेको थियो। सेयर बजारमा २०७२ असार मसान्तमा ९६१.२३ बिन्दुमा रहेको सूचकांक २०७३ साउन १२ गते ततसमयको उच्च बिन्दु अर्थात १८८१.४५ पुगेको थियो।
तर २०७४ को चुनावताका भने नेप्से परिसूचक बढ्न सकेन। तत्कालीन समय नेकपा माओवादी र नेकपा एमाले गठबन्धनसहित चुनावमा होमिएका थिए। उक्त समयमा झन्डै दुई तिहाइ मतसमेत उक्त गठबन्धनले ल्याएको थियो। उक्त समयमा सेयर बजारलाई चुनावले छुन सकेन। जसका कारण चुनावअगाडि १५२०.२ बिन्दुमा रहेको नेप्से २०७४ फागुनमा पुग्दा १२८६ बिन्दुमा पुगेको थियो।
सेयर विश्लेषक विष्णु बस्याल भने चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको बताउँछन्। चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको उनी बताउँछन्।
‘चुनावकै कारण बजार बढ्ने भन्ने होइन, जुन ट्रेन्डमा बजार गइरहेको हुन्छ त्यही ट्रेन्ड चुनावले गर्दा अघि बढ्ने गरेको हो। सबै चुनावमा बजार बढेका पनि छैनन,’ उनले भने। बस्यालले चुनाव नै सेयर बजार बढ्नुको कारण नरहेको बताए पनि अहिलेको अवस्था बजारको परिस्थिति उच्च बिन्दुमा जाने नै देखिन्छ। जसले गर्दा आउँदो चुनावको माहोल बजारको वृद्धिमा सहयोगी हुने देखिन्छ।