पछिल्लो समय भारतमा एउटा भान्सासम्बन्धी कानून बन्दैछ। जसका कारण नेपालको चिया निकासीमा समस्या पर्ने भएपछि सबै सरोकारवाला निकायहरूको ध्यान इलामको चियातर्फ सोझिएको छ। चियाको विकासक्रमसँगै ठूलो मात्रामा भारतमा निकासी हुने प्रमुख वस्तुमध्ये चिया पर्दै आएको छ। भारत आफैमा चिया उत्पादन गर्ने ठूलो मुलुक भएपनि इलामको चिया गुणस्तरीय हुने भन्दै भारततर्फ निकासी हुँदै आएको छ।
वि.स. १९२० मा तात्कालीन राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाका ज्वाईं बडाहाकीम गजराज सिंह थापाले चियाको विरुवा उत्तरको छिमेकी देश चीनबाट ल्याएर रोपेपछि नेपालमा चियाको व्यावसायिक खेतीको सुरुवात भएको थियो।
करीब वार्षिक ३ करोड ६० लाख किलो हरीयो पत्ती उत्पादन हुँदै आएको छ। चिया खेतीको माध्यमबाट प्रत्यक्ष रुपमा ८० हजार र अप्रत्यक्ष रूपमा १ लाखको हाराहारीमा श्रमीकहरूले रोजगारीसमेत पाएका छन्। घरेलु तथा साना, मझौला र ठूला गरी १५० भन्दा बढी उद्योगहरू आवद्ध रहेको यस व्यवसाय अलैँचीपछि प्रमुख नगदेवाली हो। यस व्यवसायबाट वार्षिक रुपमा चार अर्बभन्दा बढी धनराशी देशमा भित्रिने गरेको छ।
साथै यस व्यवसायले नेपाल र भारतबीच रहेको ठूलो व्यापार घाटालाई समेत न्यूनीकरण गर्न थप टेवा पुर्याउँदै आएको छ। इलामको पर्यटन प्रर्वद्धनमा पनि चियाको हरियालीले महत्वपूर्ण भूमिका निभाउँदै आएको सर्वविधितै छ।
नेपाली चियाको प्रमुख बजार भारत भएको हुँदा ९५ प्रतिशत चिया भारतीय बजारमा शतप्रतिशत छुट भइ निर्यात हुँदै आइरहेको अवस्थामा अहिले बिना कुनै पूर्वजानकारी भारतीय चिया निकायले वाणिज्य सन्धीविपरीत नेपाली चियाको निर्यातलाई दुरुत्साहित गर्ने उद्देश्यले विश्व बजारमा प्रख्यात इलामको चियालाई गुणस्तरहीन चियाको संज्ञा दिइ विभिन्न वहाना बनाउँदै करको दायरामा ल्याउनेसम्मको प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरी उक्त प्रस्तावलाई पारीत गर्नेसम्मको कार्य अगाडि बढाएको छ।
इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाको रूपमा रहेको छ। कुल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने यस जिल्लामा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भइ अर्थोडक्स, ग्रिन र स्पेशल चियाको उत्पादन हुने गरेको छ।
यस चिया खेतीमा झण्डै २६ हजार कृषकहरूको संलग्नता रहेको र ८० हजारभन्दा बढीलाई ग्रामीण रोजगारी प्रदान गरेको छ।
यस जिल्लामा घरेलु, साना, मझौला तथा ठूला गरी १५० भन्द बढी उद्योगहरू आवद्ध रहेको र यसको वार्षिक उत्पादन ६० लाख किलोभन्दा बढी रहेको छ। जसमा विश्व बजारलाई चाहिने सबै खाले अर्थोडक्स, ग्रिन टि तथा स्पेशल टि यी उद्योगहरूले उत्पादन गरी भारतलगायत अन्य देशहरूमा बिक्री गरिरहेको छ। इलाममा उत्पादन भएको चियाको मुख्य बजार भारत भएको र केबल केही कारखानाको नगन्य उत्पादन मात्र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ। मुख्यतया उत्पादन हुने चियामा बजारलगायत अन्य नितिगत समस्याहरू रहेका छन्।
समस्या समाधानका ९ उपाय
१) नेपाली चियाको प्रमुख बजार भारत भएको र भारतीय चिया निकायले विभिन्न बहाना बनाइ विभिन्न समयमा नेपालको चिया आयातलाई निरुत्साहित गर्न विभिन्न समस्याहरू उत्पन्न गर्दै आइरहेको व्यहोरा सर्वविदित नै छ। हालैमा भारतको राज्यसभा र लोकसभामा नेपाली चियालाई करको दायरामा ल्याउन पहल भैरहेको र विश्व प्रख्यात इलाम चियालाई गुणस्तरहीन तुल्याउँदै आयातमा अवरोध गर्न भारतको चिया निकाय सक्रिय रुपले पेश भैरहेको छ।
५ प्रतिशत कर छुट भइ नेपालबाट भारत निर्यात हुँदै गइरहेको नेपाली चियालाई करको दायरामा ल्याउने र विभिन्न मापदण्डहरू पालना गराइ आयात गर्न लगाउनेसम्मको व्यवस्था भारतीय संसदमा एजेण्डा पेश भइ पारित गर्न तयार रहेको छ।
उक्त एजेण्डा भारत सरकारको संसदबाट पारित भएमा चिया खेती जसले १३ प्रतिशत नेपालको व्यापार घाटालाई कम गर्दै आएको छ, वैदेशिक मुद्रा आर्जन गर्दै आएको प्रमुख कृषीजन्य वस्तु चिया क्षेत्रमा संलग्न १५० भन्दा बढी उद्योग संकटमा गइ राष्ट्रको ठूलो लगानी धरासायी हुनेछ।
चिया खेतीमा आश्रित २६ हजार कृषकहरू आयविहीन हुने, ८० हजारभन्दा बढी चिया मजदूर बेरोजगार भइ भयावह स्थितिको श्रृजना हुने व्यहोरासमेत ध्यानाकर्षण गराउँदै जटिल यस समस्याको समाधान सरकार र सरकार बीचको वार्ताले मात्रै समाधान हुने गर्दछ। त्यसले मात्र समस्या समाधान सम्भव हुने भएकोले जति सक्दो चाडो कुटनैतिक प्रकृयाबाट सम्बोधन समाधान गर्न जरुरी रहेको छ।
२) विश्वमा ठूलो परिमाणमा चिया उत्पादन गर्ने विशाल देश भारत जसको सबैभन्दा मिलनसार छिमेकी राष्ट्रसँगको भनाइसमेत रहेको नेपालबाट उत्पादित चिया आफ्नो उत्पादनको तुलनामा केवल शून्य दशमलव ७ प्रतिशतमात्र आयात हुने गरेको छ। भारतको भन्सार विभागले अनुपालन र भारत सरकारको सेट प्रोटोकलअनुसार गरी उचित कागजातहरूसहित चिया आयात गर्दछ।
नेपालको चियालाई खराब गुणस्तर भन्ने तीनै भारतीय व्यवसायीले नेपाली हरियो चियापत्ती चोरी निकासीमार्फत प्रशोधन गरी आसाम र दार्जिलिङकै नामबाट बिक्री गरेको सर्वविदितै छ। सबै प्रकृया पुर्याइ निर्यात गरेको नेपालबाट उत्पादित चिया गुणस्तरहीन भन्ने कुरा गलत हो।
३) यस क्षेत्रमा लगभग ९५९ किसानहरू चियामा निर्भर रहेकोले नेपालको उत्पादनमा चिया खेतीलाई समेत समावेश गरी मुख्य उत्पादन हुने समयमा मलखादको आयातमा सहजीकरण गरी चिया किसानहरूलाई चिया क्षेत्रमा अभिप्रेरित गर्न चिया किसानलाई धान, गहुँ उत्पादक कृषकसरह सहुलियतको मलखाद तथा सहुलियत कर्जा उपलब्ध हुने वातावरण बनाइ इलाम जिल्ला तथा नेपाललाई अझ सुन्दर, कृषी पर्यटकीय देश बनाउनका लागि पनि नेपाल सरकारको भूमिका आएको छ।
५) चियासम्बन्धी छुटै नीति तय गरि चिया क्षेत्रमा संलग्न चिया किसानहरू र चिया उद्योगीहरूलाई यस क्षेत्रमा टिकाइराख्न स्थानीय प्रदेश र केन्द्र सरकारको तर्फबाट बजेट व्यवस्था गर्न आवश्यक रहेको छ।
६) विद्युतमा आत्मनिर्भर हुँदै गइरहेको नेपाल पछिल्लो समयमा विद्युत निर्यात गर्दै आएको छ। चिया व्यवसायमा विद्युत अनुदान, सहज, निरन्तता र अवरोधविहीन आपूर्ति गर्न सके विद्युतीय उपकरणहरूको प्रयोग गरी विभिन्न निर्यातित इन्धन खपत कम गर्न, वातावरण प्रदूषण कम गर्न तथा बढ्दै गइरहेको जनशक्तिको कमिलाई पूर्ति गर्न मद्दत हुने रहेको छ।
७) विद्यमान अवस्थामा स्वास्थ्यसम्बन्धी कुरामा धेरै मानिसहरू जागृत हुँदै आएको र धेरै जसो मुलुकहरूमा बिषादीको प्रयोग कडा रुपले निषेध भइरहेको सबैमाझ जानकारी भएकै कुरा हो। नेपालबाट उत्पादित चियाको दीगो भविष्य बिषादीरहित उत्पादन गर्नमा नै छ, तसर्थ नेपाल सरकारबाट चिया कृषकको लागि विशेष नीति नियम बनाइ जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै दिगो रुपमा विषादीमुक्त चिया उत्पादन गर्न कृषकहरूको हौसला बढाउने विभिन्न अनुदानहरूको व्यवस्था नेपाल सरकारको विशेष बजेटमार्फत सम्बोधन गर्नुपर्ने बेला आएको छ।
८) नेपाली चियाको प्रमुख बजार भारत रहेकोले समय समयमा विभिन्न समस्याहरू उत्पन्न हुँदै गइरहेको छ। नेपाली चियाको भविष्यप्रति प्रश्न उठ्दै आइरहेको छ। दीगो रुपमा नेपाली चिया बजारको लागि भारत बाहेक ठूलो परिमाणमा खपत हुने तेस्रो मुलुक जस्तै टर्की, इरान, रसिया, चीन, पाकिस्तान आदि देशहरू विकल्पमा रहेको हुँदा नेपाल सरकारबाट जीटूजी व्यापार सम्भावनाको अध्ययन गरी निर्यात गर्न सके समय समयमा उत्पन्न हुने चियासम्बन्धी समस्याहरू दीर्घकालीन रुपमा समाधान गर्न आवश्यक रहेको छ।
९) वैदेशिक मुद्रा आर्जनको माध्यमबाट बढ्दो व्यापार घाटालाई अझ कम गर्न भारतलगायत तेस्रो मुलुकमा निर्यात हुँदै आएको नेपाली चियालाई प्रोत्साहन गर्न नेपाल सरकारले दिँदै आएको निर्यातमा आधारित ५ प्रतिशत अनुदानलाई वृद्धि गरी १२ प्रतिशत पुर्याइएको निर्यात प्रज्ञापनको आधारमा वैदेशिक मुद्रा प्राप्त हुने बैंकबाट व्यवसायीलाई उक्त रकम सहज रुपमा उपलब्ध हुने वातावरण मिलाउनसमेत आवश्यक रहेको छ।