शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेप्सेमा ३ देखि लगातार पहिरो, अबको बाटो कता?

बुधबार, साउन २५ २०७९
नेप्सेमा ३ देखि लगातार पहिरो, अबको बाटो कता?

तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

काठमाडौं- सेयर बजारमा सुधारको आश गरिरहेका लगानीकर्ताहरू फेरि निराश भएका छन्। नियामकीय साथ पाउँदै गएको भनिएको बजारमा बुधबार पनि गिरावट आएको छ। बुधबार ५.९१ अंकले घटेर बजार २०५६.८८ बिन्दुमा पुगेको छ। यस अघि मंगलबार बजार ४५.४२ अंकले घटेको थियो।

मंगलबारको तुलनामा बुधबार करोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि मंगलबार २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो। 

गएको साता २७.२५ अंकको गिरावटसँगै लगानीकर्ताले विश्वास गुमाएको भनिएको सेयर बजारमा आइतबार सुधार देखिए पनि सोमबार, मंगलबार र बुधबार  पुनः घटेको हो। यो साता आइतबार १०.२७ अंकले बढेको बजार सोमबार १७.६७ अंकले घटेर २१०६.१६ बिन्दुमा झरेको थियो। 

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

नियामक उदार नहुँदा नै समस्या भइरहेको विश्लेषकहरू बताउँछन्। बजारमा नयाँ लगानीकर्ताहरू प्रवेश गर्न मुस्किल भइरहेको साथै ऋण लिएर लगानी गर्ने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। ’४/१२ को नीति फेरिए पनि ऋण लिन अझै सहज छैन। मौद्रिक नीतिमार्फत केही खुकुलो भए पनि सहज अवस्था भएको छैन’ विश्लेषक छोटेलाल रौनियारले भन्छन्, ’अहिलेको अवस्था पनि ऋण लिएरै लगानी गर्नेजस्तो छैन। आफूसँग पैसा हुनेले मात्र बजार हेरिरहेका छन्।’

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार ’क्रयास’ नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार नभेट्दा पुनः घटिरहेको छ। अहिलेको अवस्थामा चुनाव घोषणा भइसक्दा पनि बजार चलायमान हुने स्थिति नहुँदा अझै पर्ख र हेरकै अवस्था रहेको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, साउन २५ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend