शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगानीकर्ता विश्वस्त नहुँदा नेप्सेमा लगातार पहिरो, थामिएको भनिएको बजारमा अबको बाटो कता?

मंगलबार, साउन २४ २०७९
लगानीकर्ता विश्वस्त नहुँदा नेप्सेमा लगातार पहिरो, थामिएको भनिएको बजारमा अबको बाटो कता?

काठमाडौं- सेयर बजारमा सुधारको आश गरिरहेका लगानीकर्ताहरू फेरि निराश भएका छन्। नियामकीय साथ पाउँदै गएको भनिएको बजारमा मंगलबार व्यापक गिरावट आएको छ।

मंगलबार ४५.४२ अंकले घटेर बजार २०६०.७३ बिन्दुमा पुगेको छ। जसमा २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। 

गएको साता २७.२५ अंकको गिरावटसँगै लगानीकर्ताले विश्वास गुमाएको भनिएको सेयर बजारमा आइतबार सुधार देखिए पनि सोमबार र मंगलबार पुन: घटेको हो। यो साता आइतबार १०.२७ अंकले बढेको बजार सोमबार १७.६७ अंकले घटेर २१०६.१६ बिन्दुमा झरेको थियो। 

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

नियामक उदार नहुँदा नै समस्या भइरहेको विश्लेषकहरू बताउँछन्। बजारमा नयाँ लगानीकर्ताहरू प्रवेश गर्न मुस्किल भइरहेको साथै ऋण लिएर लगानी गर्ने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। '४/१२ को नीति फेरिए पनि ऋण लिन अझै सहज छैन। मौद्रिक नीतिमार्फत केही खुकुलो भए पनि सहज अवस्था भएको छैन' विश्लेषक छोटेलाल रौनियारले भन्छन्, 'अहिलेको अवस्था पनि ऋण लिएरै लगानी गर्नेजस्तो छैन। आफूसँग पैसा हुनेले मात्र बजार हेरिरहेका छन्।'

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार नभेट्दा पुन: घटिरहेको छ। अहिलेको अवस्थामा चुनाव घोषणा भइसक्दा पनि बजार चलायमान हुने स्थिति नहुँदा अझै पर्ख र हेरकै अवस्था रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend